२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

विमान चार्टर गरेर नेपाल आउँदै भियतनामी पर्यटक

नेपालमा एकै पटक धेरै संख्यामा भियतनामी पर्यटक घुम्न आउने भएका छन्। तीन वटा विमान चार्टर गरेर भियतनामी पर्यटक नेपाल घुम्न आउन लागेका हुन्।

भियतनामी पर्यटकहरू हिमालयन एयरलाइन्सको एयरबस ए ३२० विमान चार्टर गरेर अक्टुबर २१, २५ र २९ मा सिधा हवाई उडानमार्फत नेपाल घुम्न आउने रूप्से होलिडे प्राइभेट कम्पनीका प्रबन्ध निर्देशक रमेश पराजुलीले बताए।

नेपालको इतिहासमै भियतनामका पर्यटक यति धेरै संख्यामा नेपाल घुम्न आउन लागेको यो पहिलो अवसर भएको रुप्से होलिडेले कम्पनीले जनाएको छ। यो कम्पनीले भियतनामी पर्यटकको भ्रमणको व्यवस्थापन गर्ने भएको छ।

चार्टर फ्लाइटबाट आउन लागेका उनीहरू करिब २ सयको संख्यामा आउने बताउँदै पराजुलीले भने, ‘अहिले नै यति संख्यामा आउने भन्ने निश्चित भएको छैन। यो संख्यामा केही थपघट हुन पनि सक्छ।’

प्रबन्धक निर्देशक रमेश पराजुलीले विभिन्न राष्ट्रबाट नेपाल घुम्न चाहने पर्यटकहरू अरू पनि भएको तर सिधा हवाई उडान नभएका कारण कम्पनीले भियतनामका पर्यटकलाई सिधा उडानको लागि सहकार्य गरेको बताए।

उनले भने, ‘नेपालमा घुम्न आउने पर्यटकहरू प्रशस्त संख्यामा छन्। घुम्न आउनका लागि नेपालसँग सिधा हवाई उडान नभएका कारण हामीले यो पहल गरेका हौं।’

कम्पनीले आफ्नो निजी पहलबाट भियतनामी पर्यटकलाई नेपाल भित्र्याउन लागेको हो। प्रबन्ध निर्देशक पराजुलीका अनुसार नेपाल घुम्न आउन लागेका भियतनामी पर्यटकहरूको दुई समूह छ। जसमा एक समूह चार रात पाँच दिनको प्याकेज रहेको र उनीहरूले काठमाडौं र पोखरा घुम्ने तालिका रहेको छ। यस्तै अर्को समूहको भने आठ रात नौ दिनको समय तालिका छ। यो समूहले काठमाडौं–पोखरा–चितवन–लुम्बिनी घुम्ने तालिका तय गरेको छ।

गत वर्ष पनि कम्पनीले भियतनामी पर्यटकलाई नेपाल ल्याउन कोसिस गरे पनि विविध कारणले ल्याउन नसकेको जनाए।

पराजुलीले भने, ‘गत वर्ष नै ल्याउने योजना थियो, भएन। यस वर्ष चाहिँ सम्भव भयो।’ दशैंको समयमा उल्लेख्य संख्यामा नेपालीहरू पनि भियतनाम घुम्न जाने भएपछि त्यहाँका ट्राभल कम्पनीहरूसँग सहकार्य गरेर भियतनामी पर्यटकलाई पनि नेपाल भित्र्याउन सफल भएको उनले बताए।

प्रबन्धक निर्देशक पराजुलीले आगामी अप्रिलमा पनि सात वटा चार्टर फ्लाइटमार्फत भियतनामी पर्यटकलाई मुलुक भित्र्याउन लागेको बताए। उनले तीन वटा फ्लाइट बुद्ध जयन्तीको अवसरमा हुने र अन्य चार त्यसको लगत्तै हुने बताए। कम्पनीका अनुसार सोही फ्लाइटमै नेपालबाट भियतनाम घुम्न जाने नेपालीहरू ३ सय २० को संख्यामा रहेका छन्।

प्रकाशित: २९ आश्विन २०८० ०१:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App