२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पोखरामा पर्यटन दिवसः बिहान विमानस्थलमा स्वागत, बेलुकी सडक महोत्सव (तस्बिरहरु)

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहान नाचगान गरेर पर्यटकलाई स्वागत गर्दै पर्यटन व्यावसायी

हरेक वर्ष सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाईन्छ। यो वर्ष ‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ बुधबार पर्यटन दिवस मनाइएको छ। विश्व पर्यटन दिवसको अवसर पारेर बुधबार पर्यटकीय सहर पोखरामा पर्यटनसँग सम्बन्धित विभिन्न कार्यक्रम गरिएको छ।

दिवस मनाउने क्रममा पोखरा पर्यटन परिषद् (पिटिसी)को अगुवाईमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडानमार्फत अवतरण गरेका आन्तरिक र बाह्य पर्यटकलाई स्वागत गरिएको छ। पहिलो उडानमार्फत आएका पाहुनामध्ये पनि पहिलोलाई दोर्जेज रिसोर्टमा एकजोडीका लागि बसोबास, दोश्रोलाई प्याराग्लाइडिङ र तेश्रोलाई डिनरको कुपन प्रदान गरिएको परिषद् अध्यक्ष पोमनारायण श्रेष्ठले बताए। 

श्रेष्ठका अनुसार १२ जना पाहुनालाई अन्नपूर्ण केवलकारको कुपन दिइएको छ । त्यस्तै पर्यटक बसबाट आएका पाहुनालाई पनि स्वागत गरिएको छ। पाहुनाको स्वागत गर्न पर्यटन व्यावसायी बिहानै विमानस्थल पुगेका थिए। पञ्चेबाजा बजाउँदै पाहुनालाई व्यावसायीले स्वागत गर्दा पाहुना पनि खुसी भएका थिए।

पर्यटक बसपार्कमा वृक्षरोपण गर्दै पर्यटन व्यावसायी

 त्यस्तै नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा)ले पनि विश्व पर्यटन दिवसकै अवसरमा पोखरा पर्यटक बसपार्कमा वृक्षारोपण र रक्तदान कार्यक्रम आयोजना गरेको छ।

 रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) पोखराको आयोजनामा बुधबार बेलुकी पोखराको लेकसाइडमा ‘मिनी स्ट्रिट फेस्टिबल’ आयोजना गर्ने तयारी भएको रेबान अध्यक्ष नरेश भट्टराईले बताए। उनका अनुसार बुधबार बेलुकी पाँचबजेदेखि राती अबेरसम्म लेकसाइडमा स्ट्रिट फेस्टिभल संचालन हुनेछ। 

फेस्टिभलका क्रममा सडकमै रेस्टुरेन्ट संचालन गरिनेछ भने पाहुनाले चाहेको परिकार सडकमै खान पाउनेछन्। रेबानले अंग्रेजी नयाँवर्षको अवसर पारेर पोखरामा हरेक वर्ष सडक महोत्सव पनि मनाउने गरेको छ।  

त्यसबाहेक पदयात्रा व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकी च्याप्टरको आयोजनामा फेवातालको सिरान क्षेत्रमा एकदिने पदयात्रा पनि संचालन गरिएको थियो। टान गण्डकी अध्यक्ष धर्मराज पन्थीले पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न एकदिने पदयात्रा संचालन गरिएको बताए।  

टानको नेतृत्वमा पोखराको फेवातालको शिरान क्षेत्रमा गरिएको पदयात्राका सहभागि।  

त्यसबोहक भारतीय टुर अपरेटर्सलाई पोखरा ल्याएर घुमाउने योजना पनि पर्यटन व्यावसायीले बनाएका छन्। टुर अपरेटर्स र संचारकर्मीलाई पोखरा र आसपासका क्षेत्र घुमाएर पर्यटन व्यावासायीसँग छलफल गराउने योजना रहेको पनि परिषद् अध्यक्ष श्रेष्ठले बताए। यो बेला पर्यटनको मुख्य सिजन चलिरहेपनि पर्यटन क्षेत्र पनि पाहुना नआउँदा निराश छन्। तर, आगामि दिनमा पोखरामा पाहुना आउने आशामा रहेर प्रवद्र्धनात्मक अभियानलाई निरन्तरता दिएको श्रेष्ठको भनाई छ।

प्रकाशित: १० आश्विन २०८० ०९:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App