१ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

बाँझो जमिनमा सामूहिक आलुखेती

मुस्ताङको लोमान्थाङ गाउँपालिका–३ थिङगरका कृषकले बाँझो जमिनमा सामूहिक रूपमा व्यावसायिक आलुखेती गरेका छन्।

लोमान्थाङ गाउँपालिकाको आर्थिक सहयोगमा ठेकार कृषक समूहले एक सय ३० रोपनी जग्गामा सामूहिक आलुखेती गरेर आम्दानी लिन थालेका हुन्। समूहका अध्यक्ष कर्म साम्टुक गुरुङले धेरै वर्षअघिदेखि बाँझो रहेको जमिनमा खनजोत गरेर सामूहिक रूपमा व्यावसायिक आलुखेती गरेको बताए।

‘तेह्र जनाको समूहमा बाँझो जग्गा खनजोत गरेर स्थानीय जातको आलुखेती गरेका छौं’, उनले भने, ‘कामको खोजीमा विदेश नगई यही आलुखेतीलाई निरन्तरता दिने योजनामा छौं’, गत जेठको पहिलो हप्ता लगाएको आलु खनेर भित्र्याउने चटारो छ।

बीस रोपनी जमिनबाट पाँच लाख ६२ हजार पाँच सय रुपैयाँ मूल्य बराबरको ११ हजार दुई सय ५० किलोग्राम आलु निकालिसकेको समूहले जनाएको छ। लोमान्थाङ, जोमसोम, कागबेनी, मुक्तिनाथ, बेनी, बागलुङ, पोखरा र काठमाडौंको बजारमा आलु खपत हुने गरेको छ। प्रतिकिलो ५० रुपैयाँका दरले बारीबाटै आलु बिक्री भएको छ।

चिसो हावापानीमा रासायनिक मल र विषादीको प्रयोगबिना उत्पादन भएको आलुले राम्रो बजार पाएकाले आगामी वर्ष खेती विस्तार गर्ने योजना रहेको समूहका सदस्य राजु गुरुङले बताए।

‘रासायनिक मल र विषादीको प्रयोगबिना चिसो हावापानीमा प्राङ्गारिक प्रविधिबाट आलुखेती गरेका छौं’, उनले भने, ‘स्वादिष्ट, स्वस्थ र गुणस्तरीय भएकाले आलुले राम्रो बजार पाएको छ।’

थिङगरमा आलुखेतीका लागि लोमान्थाङ गाउँपालिकाले गत आर्थिक वर्ष २०७९/८० मा २० लाख रुपैयाँ अनुदान उपलब्ध गराएको थियो। समूहले थप २० लाख रुपैयाँ लगानी गरेका छन्। अध्यक्ष गुरुङले गाउँपालिकाको अनुदानमा बीउ, मल खरिद र खनजोत गरिएको बताए।

कृषि ज्ञान केन्द्रले सिंचाइका लागि नहर बनाउन गत आवमा दुई लाख रुपैयाँ सहयोग गरेको थियो। बाँझो जमिनको सदुपयोग, आयात घटाएर आलुमा आत्मनिर्भर बनाउने, रोजगारी सिर्जना र कृषकको आयआर्जन वृद्धिका लागि सामूहिक आलुखेतीसम्बन्धी कार्यक्रम सञ्चालन गरेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङले बताए।

प्रकाशित: ५ आश्विन २०८० ०५:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App