१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

नापतौल डोरमा ११५ व्यवसायीले लिए सेवा

भक्तपुर उद्योग वाणिज्य संघको पहलमा जिल्लामा सञ्चालन गरिएको नापतौल डोर कार्यक्रम अन्तर्गत दोस्रो दिन शुक्रवार ११५ जना सेवाग्राही लाभान्वित भएका छन् । गुणस्तर तथा नापतौल कार्यालय, बालाजुबाट खटिएको कर्मचारीहरूको टोलीले भक्तपुर नगरपालिकाको टौमढीस्थित बुल्चापाटीमा कार्यालय राखेर बिहीबारदेखि डोर कार्यक्रम सुरु गरेको थियो।

 जिल्लाका उद्योगी, व्यवसायी तथा व्यापारीहरूले प्रयोग गर्दै आएको नापतौलका सामग्रीहरूको नयाँ दर्ता तथा नवीकरणका लागि खटिएको टोलीले शुक्रवार भक्तपुर नगरपालिकास्थित कमल विनायक चोकमा कार्यालय राखेर सेवा दिएको हो । कमल विनायक चोकबाट पहिलो दिनभन्दा ९ जना बढीले सेवा लिएको भक्तपुर उद्योग वाणिज्य संघले जनाएको छ।

पहिलो दिन टौमढीस्थित बुल्चापाटीबाट १०६ जना व्यवसायी, व्यापारीहरूले नापतौलका सामग्रीको नयाँ दर्ता तथा नवीकरण गराई सेवा लिएका थिए । भक्तपुर नगरपालिकाको कमल विनायकमा डोर टोली बसे पनि जिल्लाका अन्य नगरपालिकाका व्यवसायी, व्यापारीहरू सेवा लिन आएका थिए । 

संघका अनुसार नापतौल डोर कार्यक्रमअन्तर्गत तेस्रो दिन २४ गते आइतबार सूर्यविनायकस्थित शुभकामना पार्टी प्यालेसमा, चौथो दिन २५ गते सोमबार नयाँ थिमीस्थित शंखधर पार्टी प्यालेसमा, पाँचौँ दिन २६ गते मंगलबार पुरानो थिमीस्थित मध्यपुर बैंक्वेटमा डोर कार्यालय रहने छ । यसैगरी, छैटौँ दिन २७ गते बुधवार काशैलटार चोकमा डोर कार्यालय राखेर नापतौलका सामग्रीहरूको नयाँ दर्ता तथा नवीकरण सेवा प्रदान गरिने संघले जनाएको छ। 

संघका अध्यक्ष शिवप्रसाद मानन्धरले जिल्लाका उद्योगी, व्यवसायीहरुको मागअनुसार नै गुणस्तर तथा नापतौल कार्यालय, बालाजुलाई अनुरोध गरी डोर कार्यक्रम सञ्चालन गरिएको बताए। ‘उद्योगी, व्यापारी तथा व्यवसायीहरूले प्रयोग गर्ने नापतौलका सामग्रीहरूको दर्ता र नवीकरण समयमै गर्नुपर्छ र ती सामग्रीहरू ठिक छ कि छैन भनेर नियमानुसार जाँच गराउनुपर्छ’, उनले भने, ‘समयमै दर्ता तथा नवीकरण नगरेमा जरिवाना तिर्नुपर्ने भएकोले सम्पूर्ण व्यवसायी, व्यापारीहरूलाई आफ्नै घरदैलोमा सेवा दिन भक्तपुर उद्योग वाणिज्य संघले डोर कार्यक्रम सञ्चालनको लागि पहल गरेको हो।’ 

आफ्नै घर आँगनमा आफूहरूले प्रयोग गर्दै आएको नाप्ने तथा तौलने सामग्रीहरूको दर्ता तथा नवीकरण गर्न पाउँदा स्थानीय खुसी भएको संघका सचिव एवं संघ अन्तर्गत प्रकाशन, प्रचारप्रसार तथा बजार अनुगमन समितिका संयोजक विश्वराम दुवालले बताए । गुणस्तर तथा नापतौल कार्यालय, बालाजुबाट जिल्लामै डोर टोली खटाउँदा उद्योगी, व्यवसायी तथा व्यापारीहरू समय खर्चेर दर्ता तथा नवीकरणका लागि बालाजु पुग्नुपर्ने झन्झटबाट मुक्त भएको उनको भनाइ छ ।भक्तपुर उद्योग वाणिज्य संघको पहलमा जिल्लाका उद्योगी, व्यवसायी तथा व्यापारीहरूको सहजतालाई मध्यनजर गरी विगतका वर्षहरूमा पनि डोर कार्यक्रम सञ्चालन गरेको र आगामी वर्षहरूमा पनि जिल्लाका विभिन्न स्थानमा डोर कार्यक्रम सञ्चालनलाई निरन्तरता दिन पहल गर्ने संघकी वरिष्ठ उपाध्यक्ष रोशनी मैयाँ धौबञ्जाले बताइन ।

व्यवसायी, व्यापारीहरूले प्रयोग गरेका नापतौलका सामग्रीहरूको नियमानुसार जाँच गरी नयाँ दर्ता तथा नवीकरण गरिदिएको गुणस्तर तथा नापतौल कार्यालय, बालाजुका निरीक्षक गोविन्द पहाडीले जानकारी दिए । नापतौलका सामग्री खरिद गरी नियमानुसार समयमै दर्ता नगराएका तथा समयमा नवीकरण नगराएका व्यवसायी तथा व्यापारीलाई जरिवाना लिएर दर्ता तथा नवीकरण गरिएको उनको भनाइ छ।

प्रकाशित: २२ भाद्र २०८० १३:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App