३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

१९ अर्बको बिजुली आयात,१० अर्बको निर्यात

बिजुली आयात बढ्दा प्राधिकरणको नाफा एक अर्ब घट्यो

नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्ष २०७९/८० मा करिब साढे १९ अर्ब रूपैयाँको विद्युत् आयात गरेको छ भने साढे १० अर्ब रूपैयाँको निर्यात गरेको छ। प्राधिकरणले बिक्री गरेभन्दा करिब साढे ९ अर्ब रूपैयाँको बिजुली बढी आयात भएको छ।

प्राधिकरणले गत आवमा भारतबाट १९ अर्ब ४४ करोड रूपैयाँ बराबरको बिजुली भारतबाट आयात गरेको छ। अघिल्लो आवको तुलनामा गत आवमा प्राधिकरणले झण्डै ४ अर्ब रूपैयाँ बढीको बिजुली आयात गरेको हो। प्राधिकरणले आव २०७८/७९ मा १५ अर्ब ४५ करोड रूपैयाँ बराबरको एक अर्ब ५४ करोड ३० लाख युनिट भारतबाट आयात गरेको थियो।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आव २०७९/८० मा प्राधिकरणको नाफा एक अर्ब ४ करोड रूपैयाँले घटेको छ।

प्राधिकरणले गत आर्थिक वर्षमा १० अर्ब ४५ करोड रूपैयाँ बराबरको बिजुली भारत निर्यात गरेको छ। प्राधिकरणले आव २०७८/७९ मा ४९ करोड ३० लाख युनिट बिजुली निर्यात गरेर तीन अर्ब ८८ करोड रूपैयाँ आम्दानी गरेको थियो। प्राधिकरणले आव २०७७/७८ मा भने ४ करोड ४० लाख युनिट बिजुली भारत निर्यात गरेको थियो।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आव २०७९/८० मा प्राधिकरणको नाफा एक अर्ब ४ करोड रूपैयाँले घटेको छ। प्राधिकरणले गत आर्थिक वर्षमा भारतबाट ठूलो मात्रामा बिजुली आयात गरेसँगै नाफा घटेको हो।

प्राधिकरणले अघिल्लो आवमा १३ अर्ब ३७ करोड रूपैयाँ खुद नाफा गरेको थियो। गत आर्थिक वर्षमा भने प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड रूपैयाँमा सीमित भएको छ। यो तथ्यांक पनि अपरिष्कृत वित्तीय विवरणबाट लिइएको हो।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत आर्थिक वर्षमा सुक्खायामको समय बढेर खोला तथा नदीनालामा पानीको बहाव घट्दा प्राधिकरण र निजीक्षेत्रका जलविद्युत् केन्द्रहरूबाट हुने उत्पादनमा ह्रास आउँदा र आन्तरिक माग धान्न विद्युत् आयात बढ्दा नाफा प्रभावित भएको बताए।

‘गत आर्थिक वर्षमा सुक्खायाममा पानीको बहाव घटेर विद्युत् कम उत्पादन भएकाले पनि प्राधिकरणको नाफा केही घटेको हो,’ उनले भने, ‘गत आर्थिक वर्षमा बढी मात्रामा विद्युत् आयात गर्नुपर्दा नाफा घटेको हो।’

यद्यपि प्राधिकरणले आव २०७७/७८ मा ६ अर्ब १० करोड रूपैयाँ नाफा गरेको थियो। प्राधिकरणले विद्युत् बिक्री र अन्यबाट गर्ने आम्दानी दुई वर्ष अघि करिब ८१ अर्ब रूपैयाँ रहेकोमा अहिले बढेर करिब एक खर्ब १८ अर्ब रूपैयाँ पुगेको छ। प्राधिकरणको सञ्चित नाफा ११ अर्बबाट बढेर ३६ अर्ब ६७ करोड रूपैयाँ पुगेको छ।

विद्युत् चुहावट घट्यो

प्राधिकरणका अनुसार आव २०७७/७८ मा प्रणालीको विद्युत् चुहावट १७.१८ प्रतिशत रहेको थियो। सो विद्युत् चुहावट आव २०७८/७९ मा आइपुग्दा भने १५.३८ प्रतिशतमा झरेको छ। आर्थिक वर्ष २०७९/८० मा विद्युत् चुहावट १३.४६ प्रतिशतमा झरेको छ।

प्राधिकरणले सेयर जारी गर्ने

प्राधिकरणको तेस्रो वित्तीय पुनर्संरचना तयार गरी प्राधिकरण ऐन २०४१ बमोजिम प्राधिकरणको सेयर सर्वसाधारणमा जारी गर्ने भएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्राधिकरणको सेयर सर्वसाधारणको लागि जारी गर्ने प्रक्रिया अघि बढाइएको छ। संस्थाको क्रेडिट रेटिङ इक्राबाट डबल ए प्लस प्राप्त गरेको छ।

प्राधिकरणले आफ्नो वास्तविक सम्पत्ति मूल्याङ्कन कार्य पनि सम्पन्न गरिसकेको छ। प्राधिकरणका अनुसार गत आर्थिक वर्षसम्म प्रतिव्यक्ति ऊर्जा खपत ३८० युनिट पुगेको छ। आव २०७७/७८ मा भने प्रतिव्यक्ति ऊर्जा खपत २३५ युनिट रहेको थियो।

नेपालका जलविद्युत् तथा सौर्य आयोजनाबाट उत्पादित बिजुलीको जडित क्षमता २८ सय २२ मेगावाट पुगेको छ। अघिल्लो आवमा ७५१ मेगावाट र गत आवमा ६३२.३७ मेगावाट बिजुली राष्ट्रिय प्रसारणलाइनमा थपिएका हुन्।

कुलमान बोल्दाबोल्दै बिजुली गएपछि...

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले आर्थिक वर्ष २०७९/८० को भौतिक प्रगति सार्वजनिक कार्यक्रममा बोल्दाबोल्दै बिजुली गएको छ। पछिल्लो समय झ्याप्प–झ्याप्प बिजुली जाने समस्याबाट सर्वसाधारण नागरिक आजित हुँदै आइरहेका थिए।

 

नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्कमा आयोजित पत्रकार सम्मेलनमा नै झ्याप्पझ्याप्प बिजुली गएपछि कार्यकारी निर्देशक घिसिङको अनुहार मलिन देखिएको थियो। प्राधिकरणको पाँचौ तलामा रहेको सभाकक्ष सञ्चारकर्मीले भरिभराउ थियो।

कार्यक्रमकै दौरान बिजुली गएपछि कुलमान केही छिन अलमलमा परेका थिए। पत्रकार सम्मेलनकै क्रममा दुईपटक बिजुली गएको थियो। कार्यकारी निर्देशक घिसिङले प्रसारण लाइनमा आएको गडबडीको कारणले बिजुली अवरुद्ध भएको बताए। ‘बर्सातको कारणले बिजुली ट्रिपिङ हुने समस्या देखिएको छ,’ उनले भने, ‘प्राधिकरणले प्रसारण लाइन र वितरण लाइनमा देखिएको समस्या समाधान गर्नेतर्फ अग्रसर भइरहेको छ।’

प्रकाशित: २६ श्रावण २०८० ०२:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App