५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

बाढीले क्षतिग्रस्त विद्युत् आयोजनालाई पुनर्कर्जा दिइने

नेपाल राष्ट्र बैंकले बाढीका कारण क्षतिग्रस्त जलविद्युत् आयोजनालाई पुनर्कर्जा दिने भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान), नेपाल बैंकर एसोसिएसन र नेपाल राष्ट्र बैंकबीच मंगलवार बालुवाटारमा भएको त्रीपक्षीय छलफलमा राष्ट्र बैंकले बाढीले क्षतिग्रस्त जलविद्युत् आयोजनालाई पुनर्कर्जा दिने बताएको हो।

इप्पानका अध्यक्ष गणेश कार्कीले बाढीले क्षतिग्रस्त आयोजनालाई रिफाइनान्सको सुविधा दिन, ब्याज पुँजीकरण र कर्जा पुनरसंरचना गरिदिन राष्ट्र बैंकलाई अनुरोध गरेका थिए।

त्यस्तै बाढीले क्षति पुर्‍याएका आयोजनामध्ये केही आयोजनाको विद्युत् उत्पादन गर्नुपर्ने मिति (आरसिओडी) नाघ्दा बैंकले कर्जा भुक्तानी गर्न दबाब दिएकाले जलविद्युत् आयोजनाको ब्याज पुँजीकरण गरे पनि बैंकलाई लाभांश बाड्न रोक नलगाउने व्यवस्था गरिदिन पनि कार्कीले आग्रह गरे।

पछिल्लो समय राष्ट्र बैंकले जारी गरेको निर्देशनले जलविद्युत् आयोजनमा लगानी गरेर बत्ती नबलुञ्जेलसम्मको ब्याज आम्दानीलाई नाफामा देखाउन पाए पनि लाभांश बाँड्न नपाउने व्यवस्था गरेको छ। यसका साथै त्यस्तो कर्जा पुनः संरचना गर्दा कर्जा रकमको साढे १२ प्रतिशत रकम प्रोभिजनिङ गर्नुपर्ने व्यवस्थाका कारण पनि बैंकहरूको नाफा घट्ने गरेको छ।

यही व्यवस्थाका कारण बैंकहरू जलविद्युत् आयोजनामा लगानी गर्नसमेत हच्किरहेकाले पुरानै व्यवस्थाअनुसार ब्याज पुँजीकरण गरे पनि उक्त आम्दानीबाट लाभांश बाँड्न पाउने र थप रकम प्रोभिजनिङ गर्नु नपर्ने व्यवस्था गरिदिनुपर्ने इप्पानको माग थियो। इप्पानले उठाएका माग सम्बोधन गर्दै राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बाढीले क्षति पुर्‍याएका आयोजनालाई पुनःनिर्माण अवधिभर पुनर्कर्जा दिन राष्ट्र बैंक तयार रहेको बताए। ब्याज पुँजीकरण र कर्जाको पुनर्तालिकीकरण गर्न पनि सहजीकरण गर्ने उनले बताए।

बाढीले क्षति पुर्‍याएका आयोजनाको पुनःनिर्माणका लागि राष्ट्र बैंक र बैंकको मात्रै भर नपरी केही रकम प्रवर्द्धकले पनि राख्नै पर्नेमा मिश्रले जोड दिए।

‘राइट सेयर दिएर होस् वा अन्य विकल्पबाट, केही पैसा त प्रवर्द्धकले पनि हाल्नैपर्छ। बाँकी रकम राष्ट्र बैंक र बैंकले हाल्छन्’ मिश्रले भने।

प्रकाशित: १८ श्रावण २०८० ०२:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App