१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

समष्टिगत वित्तीय र भौतिक प्रगति निकै कमजोर

मदन भण्डारी राजमार्ग

सरकारले उच्च प्रथामिकतामा राखेर निर्माण सुरु गरेको मदन भण्डारी राजमार्ग निर्माणको समष्टिगत वित्तीय र भौतिक प्रगति निकै कमजोर देखिएको छ। सरकारले बहुवर्षे कार्यक्रम अन्तर्गत मदन भण्डारी राजमार्ग आयोजना निर्माण सुरु गरेको पाँच वर्ष भइसक्दा पनि समष्टिगत भौतिक प्रगति ४५ प्रतिशतमा सीमित हुन पुगेकाले आयोजना निर्माण कार्य उत्साहजनक देखिएको छैन।

गत आर्थिक वर्षमा आयोजनाले वार्षिक कार्यक्रम अन्तर्गत विनियोजित बजेटको वित्तीय र भौतिक प्रगति भने लोभलाग्दो थियो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा आयोजनाको लागि संशोधितसहित ५ अर्ब ८ करोड ५९ लाख रूपैयाँ बजेट विनियोजन गरिएको थियो। सो अवधिमा आयोजनाले कुल विनियोजित बजेटमध्ये ५ अर्ब १ करोड रूपैयाँ बजेट खर्च गरेको थियो।

आयोजनाले गत आवमा वार्षिक २४ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेको थियो। सो अवधिमा लक्ष्यभन्दा दुई किलोमिटर धेरै अर्थात् २६ किलोमिटर सडक कालोपत्रे गरेको छ। गत आवमा १० वटा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो तर सो अवधिमा १४ वटा पुल निर्माण सम्पन्न भएका छन्। यसक्रममा आयोजनाले गत आवमा विनियोजित बजेटको ९८.५९ प्रतिशत बजेट खर्च गरेको छ।

सरकारले उच्च प्रथामिकतामा राखेर निर्माण सुरु गरेको मदन भण्डारी राजमार्ग निर्माणको समष्टिगत वित्तीय र भौतिक प्रगति निकै कमजोर देखिएको छ।

आयोजनाले गत चालु आवमा भने भौतिक प्रगति शत प्रतिशत भएको जनाएको छ। आयोजनाका अनुसार थप खण्डमा सववेश र वेश निर्माणको काम भइरहेको छ। आयोजनाका अनुसार हाल ४२ वटा पुल निर्माणाधीन अवस्थामा रहेका छन्।

सरकारले यो आयोजनाको निर्माण २०७५/७६ मा सुरु गरेर आव २०८१/८२ मा सम्पन्न गर्ने लक्ष्य राखेको थियो। प्रारम्भिक लक्ष्य अनुसारको म्याद सकिन अब एक वर्ष मात्रै बाँकी छ तर यो आयोजनाको समष्टिगत वित्तीय र भौतिक प्रगति हेर्दा सो समयमा निर्माण सम्पन्न नहुने लगभग निश्चित छ। हालसम्म यो आयोजनाको समष्टिगत भौतिक प्रगति ४५ प्रतिशत र वित्तीय प्रगति ४४ प्रतिशत मात्रै भएको छ।

यो आयोजनाको अझै २८६ किलोमिटर सडक खण्डको ठेक्का व्यवस्थापन हुन सकेको छैन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा आयोजनाको समष्टिगत ३३ अर्ब अर्थात् ४४ प्रतिशत मात्रै वित्तीय खर्च भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता भिर्माजुन अधिकारीले सरकारले पर्याप्त मात्रामा बजेट उपलब्ध गराउन नसक्दा आयोजनाको ठेक्का व्यवस्थापन गर्न नसकिएको बताए। ‘यो खण्डमा २ सय ८६ किलोमिटर सडक खण्डको व्यवस्थापन गर्नै बाँकी छ,’ उनले भने ‘पर्याप्त बजेट र स्रोत नहुँदा पनि समस्या भइरहेको छ।’

मदन भण्डारी राजमार्ग अन्तर्गत १३ सय ९० किलोमिटर सडक निर्माण तथा स्तरोन्नति गर्नुपर्ने हुन्छ। मदनभण्डारी राजमार्ग अन्तर्गत ७४० किलोमिटर र १८५ वटा पुल निर्माण गर्नुपर्नेछ। सरकारले यो आयोजनाको लागि ७५ अर्ब रूपैयाँ बजेट लाग्ने अनुमान गरेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार ७४० किलोमिटर सडक खण्डमध्ये हालसम्म २७४ किलोमिटर सडक कालोपत्रे भइसकेको छ। १८५ वटा पुलमध्ये १०८ वटा पुल तयार भइसकेको छ। हाल ४२ पुल निर्माणाधीन चरणमा रहेका छन्। अहिले १८० किलोमिटर सडक निर्माणाधीन अवस्थामा छ भने २८६ किलोमिटर सडक खण्ड अझैसम्म ठेक्का व्यवस्थापन हुन बाँकी छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता भिर्माजुन अधिकारीले सरकारले पर्याप्त मात्रामा बजेट उपलब्ध गराउन नसक्दा आयोजनाको ठेक्का व्यवस्थापन गर्न नसकिएको बताए।

सरकारले २०७५ सालमा चुरे क्षेत्र (भित्री मधेस) मा बसोबास गर्ने बहुसंख्यक जनतालाई सहज यातायात सुविधा प्रदान गरी उनीहरूको जीवनस्तर सुधार्ने लक्ष्यसहित झापाको बाहुनडाँगीदेखि सुदूरपश्चिम डँडेलधुराको रूपालसम्म जोड्ने मदन भण्डारी राजमार्ग निर्माण गर्ने योजना अघि सारेको थियो।

आयोजनाको रेखांकनको विवाद भने अझै कायमै छ । सरकारले यो आयोजनालाई आगामी ०८१/८२ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ तर अहिलेकै गतिले काम हुने हो भने तोकिएको समयभित्रै निर्माण सम्पन्न नहुने लगभग निश्चित जस्तै छ। सरकारले यो आयोजना सम्पन्न गर्दा ७५ अर्ब बजेट लाग्ने अनुमान गरेको छ। हालसम्म यो आयोजनामा ३३ अर्ब रूपैयाँ खर्च भइसकेको छ।

२०७६ जेठ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार यो राजमार्गको रेखांकन बाहुनडाँगी–शान्तिनगर–धरान–चतरा–गाईघाट–कटारी–सिन्धुलीमाडी–हेटौडा–गैंडाकोट–रामपुर–राम्दी–रिडी–बलकोट–सन्धिखर्क–बिजुवार–सितलपाटी–सुर्खेत–बड्डीचौर–बडुर–जोगबुढा–रूपाल जोड्ने सडक निर्माण गर्ने योजना कार्यान्वयनमा ल्याएको छ। प्रस्तावित यो सडक खण्डको रेखांकनमा केही स्थानीयवासीले विरोध जनाउँदै आएका छन्। यो खण्ड मदन भण्डारी राजमार्ग योजना कार्यालय र डिभिजन सडक कार्यालय मातहत निर्माण भइरहेको छ।

अनुमानित १३९० किलोमिटरमध्ये ६५० किलोमिटर निर्माणको काम अन्य योजना कार्यालय तथा सडक डिभिजन कार्यालयले गरिरहेका छन्। करिब ७४० किलोमिटर सडक स्तरोन्नति तथा सो खण्डमा पर्ने पुलको निर्माणको काम मदन भण्डारी राजमार्ग निर्देशनालयबाट भइरहेको छ।

पूर्वमा धरानदेखि झापासम्म १३५ किलोमिटर सडक खण्डमध्ये अहिलेसम्म ६३ किलोमिटरको ठेक्का सम्झौता भइसकेको छ। यो खण्डमा करिब ३० किलोमिटरभन्दा धेरै सडक खण्डको अहिलेसम्म ठेक्का व्यवस्थापन हुन सकेको छैन।

धरान–हेटौडा खण्डमा २४९ किलोमिटर सडक पर्छ। सो खण्डको ठेक्का सम्झौता भएर निर्माणाधीन अवस्थामा छ। निर्देशनालयका अनुसार यो खण्डमा सबैभन्दा धेरै काम भएको छ। रिडी–सुर्खेत खण्डमा अहिलेसम्म ठेक्का सम्झौता हुन सकेको छैन। कर्णाली–रूपाल खण्डको पनि अहिलेसम्म ठेक्का सम्झौता भएको छैन।

पूर्वमा धरानदेखि झापासम्म १३५ किलोमिटर सडक खण्डमध्ये अहिलेसम्म ६३ किलोमिटरको ठेक्का सम्झौता भइसकेको छ।यो खण्डमा करिब ३० किलोमिटरभन्दा धेरै सडक खण्डको अहिलेसम्म ठेक्का व्यवस्थापन हुन सकेको छैन।

मदन भण्डारी राजमार्ग पूर्व–पश्चिम महेन्द्र राजमार्गको समानान्तर र उत्तरतर्फ पूर्व–पश्चिम भएर जाने यो राजमार्गलाई बाह्रै महिना प्रयोग गर्न सकिने गरी बनाउन लागिएको हो। यो राजमार्गले चुरेको वन क्षेत्र र आसपासका भूमिहरू कृषि, पशुपालन, उद्योग तथा वस्ती विकासलाई जोड्नेछ। महेन्द्र राजमार्ग र मध्यपहाडी राजमार्गको बीचबाट जाने अन्य उत्तर–दक्षिण राजमार्गहरूसँग पनि जोडिने हुँदा यो राजमार्गले हिमाल, पहाड र तराईलाई राष्ट्रिय यातायातको सञ्जालमा जोड्नेछ।  

प्रकाशित: १५ श्रावण २०८० ०२:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App