१५ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

लम्पी स्किन: पशु बिरामी हुँदा दूध उत्पादन घट्दै

पोखराको एक फारममा पालिएका गार्ईभैसीं। तस्बिरः नागरिक

पोखराका दीपक तिमिल्सेनाको फारममा दुई सय भैंसी र ६५ वटा गाई छन्। ती मध्ये १५० वटा भैँसी र ६० वटा गाईले दूध दिन्थे। तर, अहिले दूध दिने गाई आधा बढी घटिसकेका छन्। कारण–लम्पी स्किन रोगले बिरामी परेपछि तिमिल्सेनाले पालेका धेरै वटा गाईले दूध दिन छाडेका छन्। अहिले २३ वटा गाईले मात्र दूध दिन्छन्।

तिमिल्सेनाको फारममा दिनमा करिब २३ सय लिटर दूध उत्पादन हुने भएपनि लम्पी स्किनले पशु बिरामी पर्न थालेपछि दूध उत्पादन घटेर १८ सय लिटरमा झरेको छ। तिमिल्सेनाका अनुसार दूध दिनेमध्ये ३ वटा गाइको लम्पी स्किनकै कारण ज्यान गइसकेको छ। अहिले पनि १० वटा बिरामी छन्। एक पटकमा १८ लिटर दूध दिने गाईले अहिले ३ लिटर मात्र दूध दिने गरेको उनले बताए।

‘दूध उत्पादन त घट्यो नै पशु नै मर्ने त्रास भयो। बिरामी भएपछि निको हुन कम्तीमा एक महिना लाग्ने रहेछ। त्यसैले दूध उत्पादन पनि घट्ने रहेछ,’ तिमिल्सेनाले भने, ‘लम्पी स्किनले बिरामी परेपछि निको हुन समय लाग्ने रहेछ। त्यसले गर्दा दूध उत्पादनमा पनि असर पर्ने रहेछ।’

तिमिल्सेनाले झैँ व्यावसायिक रुपमा पशुपालन गरेका किसानलाई अहिले पशुमा लाग्ने लम्पी स्किन रोगको त्रास छ। धमाधम पशु बिरामी परेको र केहीको मृत्यु भएपछि पशु पालक किसान चिन्तामा छन्। 

तिमिल्सेनाले भने, ‘पशु बिरामी परेपछि दूध उत्पादन स्वात्तै घट्ने रहेछ। धेरैतिर अहिले पशु बिरामी छन्। बिरामी पशुलाई निको हुन पनि समय लाग्ने भएकोले समस्या छ।’

यो बेला पशुमा देखिएको लम्पी स्किन रोगले धमाधम गाई गोरुको ज्यान गईरहेको छ। भैंसी भन्दा पनि यो रोगले गाई गोरु बढी बिरामी परेका छन्। 

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कास्कीका प्रमुख शम्भु पाण्डेका अनुसार कास्कीमा मात्र अहिलेसम्म २८ हजार भन्दा बढी गाई भैसी लम्पी स्किनले बिरामी परेका छन्। ती मध्ये गाई मात्र ९ हजार बिरामी छन्। गोरु र बाच्छाबाच्छी समेत गर्दा १३ हजार ३ सय पशु बिरामी छन्। लम्पी स्किनले बिरामी हुने भैँसी जम्मा ३३१ रहेको उनले बताए। बिरामी भएका मध्ये ४२९ वटा गाई गोरुको मृत्यु भएको उनले बताए।

‘एक पटक संक्रमित भएपछि निको हुन लामो समय लाग्ने भएकोले पनि दूध उत्पादन घटेको छ,’ पाण्डेले भने,‘पशुलाई पुरानै अवस्थामा फर्किन निकै नै समय लाग्ने रहेछ।’ 

रोगसँग लड्न सक्ने क्षमता बढी हुँदा लम्पी स्किन रोगले बिरामी हुने भैंसीको संख्या भने कम रहेको उनले सुनाए। बिरामी परेपछि पशुलाई बढी स्याहारसुसार आवश्यक पर्ने उनले सुनाए।

पोखरा महानगरको पशु सेवा शाखाका प्राविधिक नवराज अधिकारी पनि लम्पी स्किनले दूध दिने गाई नै बढी प्रभावित भएको बताए। उनले पनि गाईको दूधको उत्पादन घटिरहेको बताए। 

‘लम्पी स्किने बढी जसो गाई मरेका छन्। बिरामी पनि गाई नै बढी छन्। बिरामी र मर्नेमध्ये गाईको संख्या बढी भएकोले दूध उत्पादन पनि प्रभावित भएको छ,’ उनले भने ‘यति नै उत्पादन घट्यो भन्ने यकिन तथ्याङ्क कतै छैन। किनकि किसानले व्यक्तिगत रुपमा पालेका पशु पनि मरेका छन्।’

व्यावसायिक मात्र नभई किसानले गोठमा पालेका गाई भैँसी पनि बिरामी परेका छन्। त्यसले पनि दूध उत्पादनमा असर पारेको उनले बताए।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार कास्कीमा मात्र दिनमा १ लाख ५० हजार लिटर दूध उत्पादन हुन्छ। यो स्थानीय उत्पादन हो। दिनमा गाईको मात्र ८१ हजार र भैसींको करिब ७० हजार लिटर दूध उत्पादन हुने केन्द्रका पाण्डेको भनाई छ।

अहिले गाई बिरामी परे पनि भैंसीको उत्पादनमा खासै असर नपरेकोले बजारमा दूध अभाव नभएको उनले बताए। उनका अनुसार कास्कीमा वर्षमा २५ हजार मेट्रिक टन भैंसी र २९ हजार ६ सय मेट्रिक टन दूध गाईको उत्पादन हुन्छ। सबैगरि कास्कीमा वर्षमा ५५ हजार मेट्रिक टन जति दूध उत्पादन हुने पाण्डेले बताए।

यो बेला पशुमा देखिएको लम्पी स्किन रोगले धमाधम गाई गोरुको ज्यान गइरहेको छ। पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय गण्डकीका सूचना अधिकारी डा. राजेश चौधरीका अनुसार यो रोग लागेपछि पशुलाई उच्च ज्वरो आउँछ। शरीरको टाउकोदेखि पुच्छरसम्म छालामा गिर्खा देखिन्छन्। गिर्खा फुटेर घाउ नै बन्छ। पशु बिरामी परेपछि दूध उत्पादन पनि २५ देखि ८० प्रतिशतसम्म घट्छ। बिरामी पशुको गर्भ तुहिने तथा बाँझोपना पनि देखिन सक्ने उनले बताए। लामखुट्टे, झिँगा, किर्नाको टोकाइबाट यो रोग पशुमा सर्छ। त्यस्तै संक्रमित पशुको लसपसबाट पनि यो रोग सर्ने गर्छ।

उनका अनुसार यो रोगको खास उपचार छैन। प्राविधिकको सल्लाहमा लक्षण अनुसारको उपचार मात्र गर्ने हो। ‘बिरामीलाई खोप लगाउन मिल्दैन। रोग संक्रमित क्षेत्रका स्वस्थ पशुलाई मात्र खोप लगाइदिने हो,’ उनले भने, ‘ज्वरो आए औषधि खुवाउने, गिर्खा फुटेर घाउ भउमा मलहम लगाउने र आराम गराउँदै रुचि अनुसारको दानापानी खुवाउनु नै उपचार हो।’ 

पशु चिकित्सकका अनुसार पशुमा देखिएको यो एक प्रकारको भाइरस हो। जुन सरुवा रोग हो। यो रोग भैंसी भन्दा पनि गाई गोरुमा बढी देखिन्छ।

प्रकाशित: ३ श्रावण २०८० ०८:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App