२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

आहा! फोहोरमा मोहर फलाउँदै वालिङ

फोहोर कसलाई मन पर्ला र? कति त फोहोर देख्नेबित्तिकै तीन कोस परैबाट नाक थुन्दै हिँड्छन् तर स्याङ्जा, वालिङका मेयर कृष्ण खाण फोहोरलाई पनि सुन्दर आँखाले हेर्छन्। त्यसैले होला, कतै फोहोरको डंगुर देखिए बटुल्दै भन्छन्, ‘आहा फोहोर!’ ‘कुहिने फोहोरमा म सप्रेको बाली देख्छु,’ उनले भने, ‘नकुहिने फोहोरमा नगद नारायण देख्छु।’ फोहोरमा मोहर देख्नु नै व्यवस्थापनको सबैभन्दा सफल सूत्र रहेको उनको बुझाइ छ।

उनको यही ज्ञानले यति बेला वालिङ नगरपालिका सुन्दर नगरमा परिणत हुँदै छ। यो नगरपालिकाले फोहोर व्यवस्थापनमा नमुना प्रस्तुत गरेको छ। फोहोरको व्यवस्थापनसँगै यसलाई आयआर्जनको माध्यम बनाउनु वालिङ मोडलको विशेषता हो। ‘घरबाट उत्पादन हुने फोहोरलाई कुहिने र नकुहिने गरी छुट्याउन लगाएका छौं’,’ खाँडले भने, ‘कुहिनेलाई घरमै कम्पोस्ट मल बनाउन सिकाउने र नकुहिनेलाई घरमै पुगेर बटुल्ने व्यवस्थाले नगर सफा भएको छ।’

डम्पिङ साइटमै पिकनिक स्पट

सरसफाइमा यो सहर कति सचेत छ भन्ने कुरा फोहोर व्यवस्थापन केन्द्र रहेको स्थानमै पिकनिक स्पट रहनुले पनि प्रस्ट पार्छ। फोहोर व्यवस्थापन यति सफा र सरल ढंगबाट हुन्छ कि उनीहरूले यसलाई सरसफाइ केन्द्रको नाम दिएका छन्।

नगरपालिकाले पूर्णामृत भवानी माध्यमिक विद्यालयको ३२ रोपनी जग्गा भाडामा लिएर सरसफाइ केन्द्र निर्माण गरेको हो। यहाँ सरसफाइका लागि आवश्यक भौतिक संरचना छ।

यसमा एकातिर कुहिने वस्तु र अर्कातर्फ प्लास्टिक, सिसा, फलामलगायतका नकुहिने वस्तु छुट्याएर राखिएको छ। केन्द्रवरिपरि विभिन्न जातका फूल तथा विरुवा रोपेर त्यस स्थललाई आकर्षक बनाइएको छ। सौन्दर्य यति धेरै छ कि फोहोरसमेत नराम्रो देखिन्न।‘सुरुमा यस क्षेत्रमा फोहोर राख्न पाइन्न भन्नेहरू अहिले पिकनिक मनाउन आउने गरेका छन्,’ वालिङका मेयर कृष्ण खाण भन्छन्, ‘आँधीखोलासँगै किनार पनि उत्तिकै संग्लिएको छ।’

वालिङले फोहोर व्यवस्थापनमा चासो देखाएको त निकै अगाडि नै हो, तर अघिल्लो स्थानीय निर्वाचनमा दिलीप खाण मेयरमा निर्वाचित भएर आएपछि यसले व्यवस्थित रूप लिन थालेको हो। तत्कालीन मेयर दिलीप खाणले फोहोर व्यवस्थापनसँगै नगरको सर्वाङ्गीण विकासमा पुर्‍याएको योगदानले अहिले सहर सफा र सभ्य बन्दै छ।

सरसफाइमा यो सहर कति सचेत छ भन्ने कुरा फोहोर व्यवस्थापन केन्द्र रहेको स्थानमै पिकनिक स्पट रहनुले पनि प्रस्ट पार्छ। फोहोर व्यवस्थापन यति सफा र सरल ढंगबाट हुन्छ कि उनीहरूले यसलाई सरसफाइ केन्द्रको नाम दिएका छन्।

दिलीपले आफ्नो कार्यकालमा फोहोर व्यवस्थापनमा उल्लेख्य भूमिका निर्वाह गरे। नगरवासीलाई सफाइसँगै फोहोरको महत्व बुझाए। लापर्बाही गरे फोहोर नगरको दाग हुने, महत्व बुझे फोहोर गहना बन्ने उनले बताए। उनले आफ्नो कार्यकालमा ‘पहिला फोहोरमैला चिनौं, त्यसपछि व्यवस्थापन गरौं’ भन्ने नारा दिएका थिए। सम्झाउँदा पनि फोहोर नउठाउनेलाई उनले गाली गरेनन्। बरु आफै आँगनमा पुगेर फोहोर उठाए। अन्ततः नगरवासीले फोहोरको महत्व बुझे। ‘नगरवासीको साथले नगर सफा राख्न सम्भव भएको हो,’ दिलीप भन्छन्, ‘फोहोरकै व्यवस्थापनबाट अहिले नगरको नाम चम्किरहेको छ।’

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले २०७४ सालमा सर्वोत्कृष्ट सफा नगरका रूपमा वालिङलाई पुरस्कृत गरेको थियो। नगरपालिकाको सफलताको कथा सुन्न पाँच सयभन्दा बढी पालिकाले स्थलगत अध्ययन गरिसकेको वालिङ नगरपालिकाले जनाएको छ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले २०७४ सालमा सर्वोत्कृष्ट सफा नगरका रूपमा वालिङलाई पुरस्कृत गरेको थियो।

अझ यसमा पनि २०७८ सालमा फोहोरमैला व्यवस्थापनका लागि वालिङ नगरपालिका, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) तथा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा ‘हरित पुनर्उत्थान प्रवर्धन परियोजना (पिजिआरपी) सुरु गरिएपछि फोहोरको बहुआयामिक महत्व जनताले बुझ्न थालेका हुन्।

परियोजनाले फोहोर संकलन, वर्गीकरण, पुनःप्रयोग तथा विसर्जन कार्य गर्नुका साथै प्राङ्गारिक मल र बायोग्यास उत्पादन तथा व्यावसायिक जैविक खेती सम्बन्धी सिप एवम् रोजगार दिलाउने कार्यमा सहयोग पुर्‍याएको छ।

यस्तै उद्यमशीलता, व्यवसाय प्रवर्धन तथा नवप्रवर्तन केन्द्रमार्फत नवउद्यमी तथा परियोजनाका लाभग्राहीलाई उद्यमशीलताका क्षेत्रमा दिगो रूपमा टिकाई राख्न परियोजनाले सहयोग पुर्‍याएको छ। ‘खेतीमा कम्पोस्ट मल प्रयोगले नगरको हरियाली र सरसफाइसँगै रैथाने जातका बिउबिजन पनि जोगिन थालेको छ,’ मेयर कृष्ण खाण भन्छन्, ‘हामीले चाँडै नगरलाई पूर्ण अर्गानिक सहर बनाउने लक्ष्य लिएका छौं।’

फोहोरमा छैन राजनीति

राजनीति मिसिँदा फोहोर झनै गिजोलिने गरेका थुप्रै उदाहरण छन् तर फरक पार्टीबाट जितेका अघिल्ला मेयर दिलीपले अगाडि बढाएका राम्रा कामलाई नयाँ मेयर कृष्ण खाणले निरन्तरता दिएपछि नगरको सफाइमा सुनमा सुगन्ध थपिएको छ। फोहोर व्यवस्थापनसम्बन्धी हरेक कार्यक्रममा निवर्तमान मेयर र हालका मेयरको उपस्थिति उत्तिकै उत्साहका साथ देखिन्छ। यसले सिंगो नगरलाई उत्साह दिने काम गरेको छ। ‘यो सहर सफा बन्नुमा यहाँको राजनीति फोहोर नहुनु मुख्य कारण हो,’ स्थानीय विक्रम पंगेनी भन्छन्, ‘आशा गरौं अन्य ठाउँमा पनि यस्तै होस्।’

यसरी हुन्छ व्यवस्थापन

फोहोर व्यवस्थापनका लागि पहिला कुहिने, नकुहिने र सिसाजन्य फोहोर छुट्याउन नगरपालिकाले आग्रह गरेको छ। जसमध्ये कुहिने फोहोरलाई धेरैले घरमै कम्पोस्ट मल बनाएर व्यवस्थापन गर्छन्। नगरपालिकाले उपलब्ध गराएको गड्यौला मल बनाउने तरिकाले उनीहरूको बाली थप सप्रेको छ। कतिपयको त आम्दानीको स्रोत समेत बनेको छ।

त्यस्तै नकुहिने फोहोरको व्यवस्थापन पनि प्रभावकारी ढंगबाट हुने गरेको छ। नगरपालिकाले सर्वसाधारणको घरबाट संकलन गरेर ल्याएको नकुहिने फोहोरलाई सरसफाइ केन्द्रमा ल्याइन्छ। नकुहिने वस्तुहरू उद्योगका कच्चा पदार्थका रूपमा निकासी गरिएको छ। त्यहाँ नकुहिने फोहोरलाई पनि विभिन्न चरणमा अलग अलग गराइन्छ। प्लास्टिकका विभिन्न लेयरलाई छानेर रिसाइकलका लागि त्यसलाई बिक्री गर्ने गर्छन्।

रिसाइकल नहुने प्लास्टिकलाई पेलेर त्यसबाट निस्कने इन्धन तथा अलकत्रा प्रयोगमा ल्याइएको छ। त्यस्तै सिसाजन्य फोहोर भने भारतीय व्यापारीले किनेर लैजाने गर्छन्। पालिकाले फोहोरमैलाको परिमाण र प्रकृतिअनुरूप प्रतिघर ५० देखि पाँच सय रूपैयाँसम्म मासिक शुल्क लिँदै आएको छ।

फोहोर व्यवस्थापनका लागि पहिला कुहिने, नकुहिने र सिसाजन्य फोहोर छुट्याउन नगरपालिकाले आग्रह गरेको छ। जसमध्ये कुहिने फोहोरलाई धेरैले घरमै कम्पोस्ट मल बनाएर व्यवस्थापन गर्छन्।

दिसाजन्य फोहोरलाई पनि विभिन्न विधि अपनाएर कम्पोस्ट मल तयार गर्ने गरेको छ। नगरपालिकाले सेफ्टी ट्यांकीलगायतबाट आउने फोहोरजन्य पानी व्यवस्थापनमा सहयोग पु¥याएको छ। नगरपालिका आफैले सेफ्टी ट्यांकी सरसफाइको काम गर्न थालेपछि स्थानीयलाई सहज भएको छ।

निजीलाई ११ हजारसम्म तिर्नुपर्नेमा नगरपालिकालाई ६ हजार ५ सय रूपैयाँ बुझाएपछि उसका सफाइ कर्मचारी आएर सेफ्टी ट्यांकी सफा गरिदिन्छन्। ५४ हजार जनसंख्या रहेको यो सहरमा दैनिक ५ टनजति फोहोर उत्पादन हुन्छ। जसबाट खर्च कटाएर वार्षिक ३० लाख आम्दानी हुने गरेको छ। त्यसैले होला, राजधानी काठमाडौं घुमेर फर्केलगत्तै मेयरहरू नगरलाई फोहोर नपुगेको सुनाउँछन्। ‘जति फोहोर उति आम्दानी,’ मेयर कृष्ण खाण भन्छन्, ‘अनि फोहोर जता देखे पनि आहा ! लागि हाल्छ।’

थप चुनौती

फोहोर व्यवस्थापनमा समाधानको बाटो देखाउँदै गरेको वालिङ कतिपय फोहोरको प्रकारबाट भने आफै तर्सिएको छ। कुहिने, नकुहिने, सिसाजन्य तथा दिसाजन्य फोहोरबारे जानकार पालिका विभिन्न देशबाट प्याकिङ भएर तथा अन्य प्रयोजनमा आएका वर्ग नछुट्टिने प्रकारका फोहोरबाट आजित देखियो। ‘बजार बढेसँगै चिन्नै नसक्ने फोहोर पनि भित्रिएका छन्,’ निवर्तमान मेयर दिलीप खाण भन्छन्, ‘यसले हामीलाई चिन्तित बनाएको छ।’

कुनै फोहोर प्लास्टिकजस्ता देखिन्छन् तर प्लास्टिक नहुने उनको बुझाइ छ। तिनीहरूको व्यवस्थापनमा समस्या रहेको दिलीपले सुनाए। त्यस्तै मोबाइल, ल्यापटप, कम्प्युटरलगायत प्रविधि बढेसँगै तिनीहरूबाट निस्केको फोहोर (इवेस्ट) व्यवस्थापनमा पनि समस्या आएको दिलीपले सुनाए।

फोहोर व्यवस्थापनमा समाधानको बाटो देखाउँदै गरेको वालिङ कतिपय फोहोरको प्रकारबाट भने आफै तर्सिएको छ। कुहिने, नकुहिने, सिसाजन्य तथा दिसाजन्य फोहोरबारे जानकार पालिका विभिन्न देशबाट प्याकिङ भएर तथा अन्य प्रयोजनमा आएका वर्ग नछुट्टिने प्रकारका फोहोरबाट आजित देखियो।

ती फोहोरका फाइदा एवम् हानीबारे जानकारी नहुँदा समस्या आएको उनको भनाइ छ।  त्यसैले उनले विदेशबाट सामान आयात गर्दा कतिपय फोहोर विदेशमै फर्काउनुपर्ने कानुनसमेत आवश्यक रहेको सुझाव दिन्छन्। ‘कुनै कम्पनीले फोहोर उत्पादन गरेपछि त्यसको व्यवस्थापनको नैतिक जिम्मेवारी पनि उसकै हुनुपर्छ,’ दिलीप खाण थप्छन्, ‘हाम्रोजस्तो गरिब देशका लागि उनीहरूको महँगो उत्पादनको फोहोर झनै डरलाग्दो भएर आएको छ।’

प्रकाशित: ३ श्रावण २०८० ०१:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App