५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

बंगुरसँग रमाउँदै वडाध्यक्ष सिंजाली

स्याङ्जाको गल्याङ नगरपालिका-११ का वडाध्यक्ष दलबहादुर सिंजालीको बिहान र साँझको समय हिलो, धुलो र गोबरसँग खेलेर बित्ने गरेको छ। सिंजाली बिहानै बंगुरका लागि कुँडो पकाउँछन्। कुँडो पाक्दै गर्दा उनी बङ्गुरको गोबर सफा गर्न थाल्छन्। अनि पालैपालो बंगुरका माउ र बच्चालाई पाकेकोे कुँडो खुवाउँछन्।

सिंजालीले बंगुरको स्यहारसुसार गरेर सात आठ बजेभित्र नै सकाउँछन्। वडा कार्यालय जानुपर्ने भएकाले यो समयमा बंगुरको स्याहार गरेर सक्काउनु उनको बाध्यता हो। समय भएपछि सारा बंगुर स्याहार्ने जिम्मा श्रीमती गङ्गारानालाई दिएर उनी कार्यालयतिर हानिन्छन्। कार्यालयबाट साँझ अबेर फर्के पनि खोरमा रहेका बंगुर र पाठापाठीको अवस्था हरेर मात्र दलबहादुर अन्य काममा लाग्छन्।

स्याङ्जाको गल्याङ नगरपालिका-११ का वडाध्यक्ष दलबहादुर सिंजालीको बिहान र साँझको समय हिलो, धुलो र गोबरसँग खेलेर बित्ने गरेको छ।

सिंजालीले तीन वर्षदेखि आफ्नै गाउँ बज्रेमा रजनी कृषि तथा पशुपालन फार्म दर्ता गरेर व्यावसायिक रूपमा बंगुरपालन गर्दै आएका छन्। वार्षिक १४ लाख ४० हजार रुपैयाँ बराबरको मासु र बंगुरका पाठापाठी बिक्री गर्ने गरेको उनको भनाइ छ।

‘एक महिनामा १८ देखि २० बंगुरका पाठापाठी जन्मिन्छन्’, सिंजालीले भने, ‘बंगुरको पाठापाठी छ हजार रुपैयाँमा र वयस्क तथा उत्पादन दिन छोडेका बंगुर तौल हेरेर बिक्री गर्ने गरेको छु।’ उत्पादित मासु गल्याङ नगरपालिकाभित्र नै खपत हुने गरेको उनले बताए।

‘व्यावसाय गरेर आर्थिक रूपमा आत्मनिर्भर बनाउन यो काम गरेको हुँ’, सिंजालीले भने, ‘यो व्यवसायले परिवारलाई आवश्यक खर्च धानिएको छ, फालिएका अन्नपातको समेत सदुपयोग भएको छ।’

गल्याङको हावापानी बंगुरपालनका लागि उपयुक्त भएको उनको भनाइ छ।

‘व्यावसाय गरेर आर्थिक रूपमा आत्मनिर्भर बनाउन यो काम गरेको हुँ’, सिंजालीले भने, ‘यो व्यवसायले परिवारलाई आवश्यक खर्च धानिएको छ, फालिएका अन्नपातको समेत सदुपयोग भएको छ।’

सिंजालीकी जीवनसँगिनी गङ्गारानाले श्रीमानकाे जाँगर र पौरख देखेर आफूलाई गौरव महसुस हुने गरेको बताइन्। ‘उहाँ आइपरेका सबै काम झर्को नमानी गर्नुहुन्छ’, उनले भनिन्।

गल्याङ नगरपालिकाका पशुशाखा प्रमुख सुशील अर्यालले गल्याङमा बंगुरकाे मासु अत्यधिक खपत हुने गरेकाले बजारीकरणको समस्या नभएको बताए।

नगरपालिकाले कृषकलाई समयमा निःशुल्क प्राविधिक सेवा, उपचार, बीउबिजन, निःशुल्क पशु बीमा, फार्म सुधार कार्यक्रमअन्तर्गत अनुदान उपलब्ध गराएका कारण कृषक पशुपालनतर्फ आकर्षित हुँदै गएका उनको भनाइ छ।

प्रकाशित: १४ असार २०८० ०६:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App