८ वैशाख २०८१ शनिबार
अर्थ

मे महिनाको पर्यटक आगमन २०१९ कै हाराहारीमा

पोखराको रत्नमन्दिर परिसरमा घुम्न पुगेका विदेशी पाहुना। तस्बिरः उमेश पुन/नागरिक

सरकारी तथ्यांक अनुसार नेपालमा सन् २०१९ मा ११ लाख ९७ हजार १ सय ९१ जना विदेशी पर्यटक भित्रिएका थिए। यो नै नेपाल भित्रिएका विदेशी पर्यटकको अहिलेसम्मकै सबैभन्दा ठुलो आकार हो। कोरोना भाइरस संक्रमणका कारण २०१९ पछिका वर्षमा भने आगमन निकै नै ओरालो लागेको थियो। संक्रमणका कारण झन्डै दुइवर्ष सुस्ताएको पर्यटन क्षेत्रले पछिल्लो समय गति लिन थालेको तथ्यांकले देखाउँछ।  

कोरोनाले थलिएको पर्यटन क्षेत्र उकासिने क्रममा २०२३ को मे महिनाको आगमनमा झन्डै सतप्रतिशत सुधार देखिएको पर्यटन बोर्डले बताएको छ। पर्यटन बोर्डका प्रवक्ता मणिराज लामिछानेका अनुसार २०२३ को मे महिनामा नेपालमा हवाई माध्यमबाट ७७ हजार ७ सय ३ जना विदेशी पर्यटक भित्रिएका छन्। जबकी यो संख्या अहिलेसम्म सबैभन्दा बढी विदेशी पाहुना भित्रिएको वर्ष २०१९ को तुलनामा थोरैले मात्र कम हो। २०१९ को मे महिनामा नेपालमा ७८ हजार ३ सय २९ जना पाहुना आएका थिए।

‘२०१९ को मे महिनाको तुलनामा यो मे (२०२३) मा भित्रिने विदेशी पाहुनाको संख्यामा निकै नै सुधार छ। २०१९ को तुलनामा यो मे महिनामा पर्यटक आगमनको आकारमा ९९.२० प्रतिशत सुधार भएको छ,’ बोर्डका निर्देशक समेत रहेका लामिछानेले भने, ‘कोरोना संक्रमणले निकै नै तल झरेको आगमन यो पटक करिब सतप्रतिशत सुधार भएको मान्न मिल्छ। हरेक महिनाको आगमनमा सुधारले निरन्तरता पाएको छ।’

कोरोना भाइरस संक्रमणका कारण २०२० को मे महिनामा नेपालमा जम्मा ३१ जना विदेशी पाहुना भित्रिएका थिए। २०२१ मा यो संख्या १५ सय ३१ र २०२२ को आगमन संख्या ५३ हजार ६ सय ८ रहेको थियो। ‘हरेक महिनाको आगमनमा सुधार देखिएको छ। पर्यटनमा आशावादी भएका व्यवसायीलाई यो आकारले उत्साही बनाएको छ,’ उनले भने।

बोर्डका अनुसार सन् २०२३ को हालसम्म (जनवरी–मे) चारलाख बढी विदेशी पाहुना हवाई माध्यमबाट नेपाल भित्रिएका छन्। जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार २ सय ५५, मार्चमा ९९ हजार ४ सय २६, अप्रिलमा ९८ हजार ७ सय ७३ र मे महिनामा ७७ हजार ७ सय ३ जना विदेशी पाहुना भित्रिएका छन्। सबैगरि ४ लाख ४ हजार २ सय ३१ जना विदेशी पाहुना अहिलेसम्म भित्रिएका छन्।

केहीदिन अघि आर्थिक वर्ष २०८०÷८१ को बजेट ल्याउँदै सरकारले सन् २०२३ मा नेपाल भित्रिने विदेशी पर्यटकको संख्या १० लाख पु¥याउने लक्ष्य सार्वजनिक गरेको थियो। पाहुना आगमनले गति लिइरहँदा लामिछाने सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्रिनेमा कुनै आशंका गर्नु नपर्ने बताए। ‘पाँचमहिना अवधिमा नेपाल भित्रिने विदेशीको संख्या चारलाख नाघेको छ। यो वर्ष १० लाख विदेशी पाहुना भित्रिने हाम्रो वर्षको सुरुवातकै बेलाको अनुमान हो,’ लामिछानेले भने, ‘सिजनको आगमनको समय अझै बाँकी रहेको र आगमन बढ्ने विभिन्न आधार बाँकी रहेकोले सरकारी लक्ष्य प्राप्त हुनेछ। बोर्डले पनि त्यही आकारको अनुमान गरेको हो।’

लामिछानेका अनुसार विदेशी पर्यटक आगमन बढ्ने अरु पनि आधार छन्। भाइरस संक्रमण कमजोर भएसँगै पछिल्लो समय अन्तर्राष्ट्रिय हवाई कम्पनिले नेपालमा उडान बढाएका छन। हवाई कम्पनिको अहिले नेपालसम्मको हवाई सञ्जाल बिस्तारले गति लिएको छ। हवाई सञ्जाल बिस्तार मात्र नभई ती उडानमार्फत आउने विदेशी  यात्रुको आकार पनि बढिरहेको छ। पछिल्लो समय हवाई कम्पनिको अकुपेन्सी बढिरहेकोले पनि पर्यटकको आगमन अझै बढ्ने अपेक्षा गर्न सकिने उनले बताए।

त्यसबाहेक चिनियाँ पर्यटकको आगमन बढ्न थालेको छ। कोरोना संक्रमण सुरु भएपछि चीनले आफ्ना नागरिकमाथि लगाएको भ्रमण प्रतिबन्ध खुलाएसँगै नेपाल भित्रिने चिनियाँ पाहुनाको आगमन बढिरहेको छ। पछिल्लो समय त चिनियाँ पर्यटक जहाज नै चार्टर गरेर नेपाल आउन थालेका छन। पछिल्लो समय नेपालमा बढी विदेशी पाहुना भित्रिने दश मूलूकभित्र चीन तेश्रो नम्बरमा परेको छ।  

यो मे महिनामा सबैभन्दा बढी विदेशी पाहुना भारतबाट आएका छन्। ३६ हजार ५ सय ७५ जना भारतीय पाहुना मे महिनामा भित्रिएका छन्। त्यस्तै अमेरिकी पाहुनाको संख्या ८ हजार ५ सय ४५ जना मे महिनामा आएका छन्। तेश्रो नम्बरमा रहेको चीनका पाहुनाको संख्या ४ हजार ६ सय ६७ रहेको छ। त्यस्तै बेलायतबाट भित्रिने पाहुनाको संख्या २९ सय २७ रहेको छ।  

‘चिनियाँ पाहुनाको आगमनमा सुधार हुँदैछ। त्यसैले पनि यो वर्ष सरकारी लक्ष्य अनुसारकै आगमन हुनेमा हाम्रो विश्वास हो,’ उनले भने, ‘सरकारी र निजी क्षेत्रबाट प्रवद्र्धनका कार्यक्रम भईरहेकोले पनि आगामि दिनमा भित्रिने पाहुनाको आकार अझै बढ्नेछ।’ उनका अनुसार चिनियाँसँगै यो सिजनमा भारतीय पाहुनाको आगमन निकै नै बढेको छ। त्यसबाहेक बंगलादेशका पाहुना पनि थपिने क्रममा रहेका छन्। ‘हरेक पक्षबाट यो बेला आगमनमा सुधार भईरहेको छ। त्यसैले यो वर्ष १० लाख लक्ष्य कटाउन खासै समस्या हुँदैन,’ लामिछानेले भने।  

प्रकाशित: १८ जेष्ठ २०८० ०८:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App