१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पाटा सम्मेलन: दिगो पर्यटनबारे पोखरामा गम्भीर बहस हुँदै

पोखरामा मंगलबारदेखि सुरु हुने पाटा सम्मेलनबारे जानकारी दिँदै आयोजक। तस्बिरः सन्तोष पोखरेल/नागरिक

कोरोना भाइरस संक्रमणले थिलोथिलो परेको पर्यटन क्षेत्र अझै पूर्ववत् अवस्थामा फर्किन सकेको छैन। संक्रमण कमजोर भइसक्दा पनि नेपाली पर्यटन बजारले गति लिन नसक्दा समग्र पर्यटन क्षेत्र चिन्तित छ। यतिसम्म की पर्यटन क्षेत्रलाई उकास्ने खालका वृहत् कार्यक्रम समेत अहिलेसम्म हुन सकेका छैनन्।

लामो समयदेखि कमजोर बनेको त्यही पर्यटन क्षेत्रलाई उकास्न बल पुग्नेगरि नेपालमा पहिलो पटक ‘प्यासिफिक एसिया ट्राभल एसोसिएसन’ (पाटा) को वार्षिक सम्मेलन र एडभान्चर ट्राभल मार्ट हुँदैछ। पाटा विश्वका पर्यटन तथा ट्राभल संघ–संस्थाको छाता संंस्था हो। पाटाको मुख्य आयोजनामा नेपालमा हुने यो कार्यक्रम मंगलबारदेखि पोखरामा सुरु हुँदैछ। चार दिनसम्म पोखरामा हुने यो कार्यक्रमले नेपालको पर्यटन क्षेत्रलाई उकास्न सघाउने अपेक्षा व्यवसायीको छ।

सम्मेलनले कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्र उकास्नका लागि सघाउने पर्यटन व्यवसायीको अपेक्षा छ। त्यत्ति मात्र नभई समग्र पर्यटन व्यवसायलाई दिगो बनाउने उपायबारे पनि यो सम्मेलनमा बहस हुने आयोजकले बताएको छ। पाटाका सचिव सुमन पाण्डेका अनुसार नेपालले यो सम्मेलन आयोजना गर्न पाउनु पर्यटन क्षेत्रका निकै नै महत्त्वपूर्ण अवसर हो। ‘कोरोना संक्रमणले थलिएर सुस्ताएको पर्यटन क्षेत्र उठाउन यो सम्मेलनको ठूलो भूमिका हुनेछ। किनकि सम्मेलनमा आउने विभिन्न मुलुकका पर्यटन आबद्ध विज्ञ र व्यवसायीले नेपाल र पोखरालाई पर्यटकीय दृष्टिले बुझ्न पाउनेछन्,’ उनले भने।  

उनका अनुसार पाटाको सम्मेलन वर्षेनी विभिन्न मुलुकमा आयोजना हुन्छ। यो सम्मेलन गर्न विभिन्न मुलुकबीच प्रतिस्पर्धा नै हुन्छ। कोरोनाले गर्दा २०१९ पछि भौतिक उपस्थितिमा यो सम्मेलन हुन सकेको थिएन। यो पटक भने नेपालको सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न सघाउने गरी सम्मेलन आयोजना गर्न थालिएको उनले बताए।

 ‘नेपालले पहिलो पटक यो आकारको सम्मेलन गर्न पाएको छ। यो आफैमा गर्वको कुरा हो। कोरोना संक्रमणले थलिएको पर्यटन क्षेत्रलाई ब्युँताउने प्रयास स्वरूप यो कार्यक्रम आयोजना गर्न पाएका छौ,’ पोखरामा मंगलबारदेखि सुरु हुने सम्मेलनबारे जानकारी दिन आयोजित पत्रकार भेटघाटमा पाण्डेले भने, ‘पर्यटन पुनरुत्थानको कार्यक्रमको रुपमा हामीले यसलाई बुझेका छौ।’  

उनले पोखरामा हुने यो सम्मेलनमार्फत पोखरा सुरक्षित, आकर्षित र नगई नहुने गन्तव्यको रुपमा बजारीकरण गर्न सघाउने पनि बताए। अहिलेसम्म पोखरालाई साहसिक पर्यटकीय गन्तव्यको रुपमा मात्र चिनाएकोमा अबदेखि पोखरा गोष्ठी, सभा, सम्मेलनका लागि पनि उपयुक्त गन्तव्यको रुपमा पनि रहेको भनेर पहिचान दिलाउने सघाउने बताए।  

पाटा अन्तर्राष्ट्रियका उपाध्यक्ष बेन लिआओका अनुसार विभिन्न २२ वटा मुलुकका पर्यटन आबद्ध उच्च पदस्थ पदाधिकारी सम्मेलनमा सहभागी हुँदैछन। मालदिभ्सका पर्यटन मन्त्रीदेखि पर्यटन क्षेत्रका विज्ञहरु कार्यक्रममा सहभागी हुँदैछन्। ‘अबको पर्यटन कता जादैछ भन्ने बारेमा यहाँ गम्भीर बहस हुँदैछ। यो अहिलेका लागि विश्वव्यापी पर्यटनको बहसको विषय हो,’ उनले भने।

सम्मेलनमा सहभागी हुने राष्ट्रिय अन्तर्राष्ट्रिय ट्राभल उद्योगका ख्यातिप्राप्त वक्ताहरुले दिगो पर्यटन, संकट व्यवस्थापन, हवाई सुरक्षा, सामाजिक सञ्जाल, साहसिक र पर्वतीय पर्यटन लगायतका विषयमा छलफल चलाउने सचिव पाण्डेले बताए। ‘पर्यटनका कतिपय समस्या विश्वव्यापी रुपमा एकै प्रकृतिका छन्। ती विषयमा पनि ज्ञान बाँड्ने पाउने मौका यो सम्मेलनले दिनेछ। त्यत्ति मात्र नभई ठुला समस्या समाधानमा भूमिका खेल्न सक्ने अन्तर्राष्ट्रिय विज्ञहरु पनि सहभागी हुने भएकोले नेपालको पर्यटनका लागि यसले विशेष अर्थ राख्छ,’ पाण्डेले भने।  

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीका अनुसार विभिन्न मुलुकका १६० जना जति पाहुना यो सम्मेलन र मार्टमा सहभागी हुनेछन्। ती मध्ये करिब ४० जना अन्तर्राष्ट्रियकरण क्रेता र स्वदेशी २५ बिक्रेता रहेका छन्। क्रेता र बिक्रेताबीचको व्यावसायिक छलफल (बिटुबी) पनि सम्मेलनकै अवसरमा आयोजना हुने उनले बताए।

‘नेपालमा पनि पोखराले पहिलो पटक यो आकारको कार्यक्रम आयोजना गर्न पाएको छ। कोरोनाले कमजोर बनाएको पर्यटन क्षेत्रलाई उकास्नेगरि अन्तर्राष्ट्रिय कार्यक्रम पोखरामा ल्याएको हो,’ रेग्मीले भने। ‘एडभेन्चर मार्ट पहिला पनि हुने गरेको थियो। तर, वार्षिक सम्मेलन भने नेपालले पहिलो पटक आयोजना गर्ने अवसर पाएको छ,’ रेग्मीले भने, ‘ट्राभल मार्टमा क्रेता र बिक्रेता मात्र हुन्छन्। तर यो पटक सम्मेलन पनि भएकोले विज्ञहरु पनि सहभागी हुनेछन्। व्यावसायिक अनुभव साट्ने र ज्ञान बाढ्ने अवसरको रुपमा यसलाई लिएका छौ।’

रेग्मीले नेपालले अन्तर्राष्ट्रिय पर्यटन क्षेत्रमा गतिलो सन्देश पु¥याउनका लागि यो अवसर भएको बताए। ‘सम्मेलनमा विभिन्न देशका पर्यटन व्यावसायी र विज्ञ सहभागी हुने भएकोले एकअर्का मुलुकबीचको पर्यटन सम्भावना र अवसरबारे अनुभव साटासाट गर्न समेत पाइनेछ,’ उनले भने, ‘धेरै मुलुकका पर्यटन व्यवसायीलाई पोखराले एकै पटक पाउँदैछ, एकै थलोमा भेला गराउँदा पर्यटन सम्बन्धित पर्याप्त छलफल गर्ने अवसर जुट्नेछ।’ पाटा वार्षिक शिखर सम्मेलन २०२३ ले नेपाल र विशेष गरी पोखरालाई अन्तर्राष्ट्रियस्तरमा थप परिचित बनाउने अपेक्षा गरिएको उनले बताए। संसारलाई नेपालको पर्यटनबारे सकारात्मक सन्देश दिलाउन यो नै महत्त्वपूर्ण मौका भएको सिइओ रेग्मीले बताए।

सरकार र पर्यटन बोर्ड तथा पाटाको मुख्य आयोजनामा हुने यस कार्यक्रमको पोखरा पर्यटन परिषद् (पिटिसी)ले संयोजन गर्नेछ भने अन्तर्राष्ट्रिय संयोजन पाटा इन्टरनेशनलले गर्नेछ। यसअघि २०७२ को भूकम्पछि खस्किएको नेपाली पर्यटन बजारको रिकभर गर्न पनि पाटाले त्यो बेला विभिन्न योजना ल्याएको थियो। पिटिसीका अध्यक्ष पोमनारायण श्रेष्ठले पोखराको पर्यटन क्षेत्रको बजारीकरणका लागि यो नै अहिलेसम्मको सबैभन्दा ठुलो अवसर भएको बताए। ‘पोखरालाई विश्वले चिन्ने मौका यो सम्मेलनमार्फत हुँदैछ। हामीले कोरोनाबाट उठ्ने उपाय खोजिरहँदा यो सम्मेलन आयोजना गर्ने मौका पाएका छौं। अहिलेको अवस्थामा यत्तिको कार्यक्रम गर्न पाउनु निकै नै गतिलो मौका हो,’ श्रेष्ठले भने।

सम्मेलनमा सहभागी हुन आउने अन्तर्राष्ट्रिय टुर अपरेटर्सलाई पोखरामा पर्यटक पठाउन थप उत्साही बनाउने अपेक्षा व्यवसायीको रहेको अध्यक्ष श्रेष्ठले बताए। सम्मेलनमा सहभागी ती पाहुनालाई पोखरा क्षेत्रका साहसिक गतिविधिमा समेत संलग्न गराउँदा उनीहरुलाई नेपालको पर्यटन अन्तर्राष्ट्रिय बजारमा बेच्नका लागि थप सहयोग हुने उनले बताए। नेपालले पाटा इन्टरनेशनलको सदस्यता सन् १९७५ मा लिएको थियो।

प्रकाशित: १५ जेष्ठ २०८० १०:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App