१५ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

शिलन्यास भएको १७ वर्षपछी गुल्मीबाट उड्यो व्यवसायिक जहाज

गुल्मीबाट शुक्रवार पहिलो पटक काठमाण्डौका लागी हवाईजहाजमा उडे रेसुङ्गा नगररपालिका ७, कमेरपानीका गणेश पाण्डे। उनको अनुहारमा छुट्टै खुशी झल्किन्थ्यो। आफ्नै जिल्लाको विमानस्थलबाट पहिलो व्यवसायिक उडानमै उड्न पाउँदा उनी दंग थिए। ‘म झापा जिल्ला अदालतमा कार्यरत छु, काठमाण्डौ जाने काम थियो,पाण्डेले भने,‘घरमा आएको थिएँ, पहिलो उडानमै मौका मिल्यो।’ समयको बचत हुने र थकानको महसुस नहुने भएकाले धेरै सजिलो भएको उनको भनाइ छ।

रेसुङ्गाकै अर्का यात्रु मोहन प्रसाद पाण्डेलाई अझै पनि सपना झैं लागेको छ। वर्षौं अँघीदेखी विमान उड्छ भनेको सुन्दै आएका उनले जिल्लाबाटै जहाजमा जाँदै छु भन्ने पत्याउन आफैलाई गाह्रो भएको सुनाए। ‘कुरा चलेको अहिले बाट हैन,उनले भने,‘बिसौं वर्ष अँघीको कुरा अहिले पुरा भयो भनेर सोंच्नै सकेको छैन।’

१८ जना यात्रु र चालक दलका चार जनाले आज पहिलोपटक रेसुङ्गा विमानस्थलबाट उडान भरेका छन्। विमानस्थलबाट आजदेखि व्यावसायिक उडान सुरु भएको रेसुङ्गा नगरपालिकाले जनाएको छ। नेपाल वायुसेवा निगमको नाईन एन–एबिटी कल साईन जहाजले आज बिहानदेखि व्यावसायिक उडान सुरु गरेको हो।

आज बिहान साढे ६ बजे काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको निगमको जहाज बिहान सवा सात बजे रेसुङ्गा विमानस्थलमा आईपुगेको थियो। नियमित उडान भरेर पहिलो पटक रेसुङ्गा विमानस्थल आइपुगेका १३ जना यात्रु र चालक दललाई रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले स्वागत गरेका थिए।

नगरपालिका प्रमुख खिलध्वज पन्थीले आजदेखि सुरु भएको नियमित उडानपछि जहाज चढ्ने वर्षौँदेखिको गुल्मेली जनताको सपना पूरा भएको बताए। ‘थालनी भएको १७ वर्षपछी गुल्मेली जनताको सपना पुरा भएको छ,मेयर पन्थीले भने,‘अब गुल्मी विकासको अर्को चरणमा प्रवेश गर्‍यो।’ उनले यात्रुहरुको चापलाई मध्यनजर गरेर हप्तामा दुई पटकसम्म उडान गर्न सकिने बताए।

रेसुङ्गा विमानस्थलमा यसअँघि तीन पटकसम्म परीक्षण उडान गरिएको थियो। ०७५ सालमा धुले परिक्षण गरिएको विमानस्थलमा धावनमार्ग तयार भएपछी ०७९ सालमा अर्को उडान परिक्षण गरिएको थियो। पछिल्लो समय नेपाल वायुसेवा निगमको जहाजले गत बैसाख १५ गते परिक्षण उडान गरेको थियो।

काठमाण्डौका लागी प्रति यात्रु ६ हजार पाँच सय रुपैयाँ एकतर्फी भाडादर तय गरिएको छ। रेसुङ्गमा नियमित उडान हुने भएपछि गुल्मी जिल्लासंगै अर्घाखाँची, पाल्पा, प्युठान लगायतका जिल्लालाई समेत प्रत्यक्ष फाइदा पुग्नेछ। लामो तथा कठिन यात्रा गर्न बाध्य यात्रु अब सजिलै काठमाण्डौ पुग्न सक्नेछन्।

प्रकाशित: २९ वैशाख २०८० ११:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App