५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

वातावरणमैत्री प्रविधिमा नेपालमै चाइनिज इटाको उत्पादन सुरु

नेपालमै अत्याधुनिक वातावरणमैत्री प्रविधिमा आधारित चाइनिज इटाको उत्पादन सुरु भएको छ। इटाभटाबाट वातावरण प्रदूषण बढेको भन्दै चर्काे आलोचना हुँंदै आएको तर नेपालमै पनि प्रविधि भित्रिएको झन्डै आधा शताब्दीपछि यस्तो अत्याधुनिक प्रविधिबाट चाइनिज इटा उत्पादन थाल्न सफल भएको हो।

पोखराको पोल्याङमा कम्पनीको आफ्नै एक सय रोपनीको क्षेत्रफलमा उद्योग राखी इटाको उत्पादन थालिएको हो। पोखरा इको रेड ब्रिक्स प्रालिले झन्डै ३० करोडको लगानीमा नेपालमा जर्मन होफम्यान प्रविधिबाट इटा उत्पादन थालेको हो।

पोखरा इको रेड ब्रिक्स प्रालिका अध्यक्ष इन्जिनियर कृष्णभक्त दुवालले कारखानाको वार्षिक डेढ करोड इटा उत्पादन गर्न सक्ने क्षमताको रहेको बताए। झन्डै ४५ वर्ष अगाडि भक्तपुरको भक्तपुर चाइनिज इटा तथा टायल कारखाना र ललितपुरको हरिसिद्धि चाइनिज इटा तथा टायल कारखानामा जस्तै इटा पोल्ने प्रविधिको निर्माण गरी इटा उत्पादन थालेको जानकारी अध्यक्ष इन्जिनियर दुवालले बताए। ‘सामान्य इटाभटाको इटा पोल्ने स्ट्रकचर तथा  इटा पोल्ने जनशक्ति पनि अहिलेसम्म विशेष गरेर भारतको विहारबाट आएका भारतीयहरूले गर्ने गरेका छन्। तर पोखराको पोल्याङमा नेपाली स्वयमले विशेष प्रकारको इटा पोल्ने प्रविधि होफम्यान क्लिन बनाइ नेपाली जनशक्तिबाट नै  इटाको उत्पादन थालेका हौ, उनले भने। यो ठाउँं पोखरा र दमौलीबाट करिव २० किलोमिटरको दुरीमा पर्दछ।

अत्याधुनिक प्रविधिको इटाभटा नेपालीले नै बनाइ उत्पादन थालेको इन्जिनियर दुवालको भनाई छ। ‘सामान्य इटाभटा फोर्स डग नै भारतीयबाट गराउनु परिरहेको बेला नेपालीहरूबाट नै हामीले पोखरामा जर्मन प्रविधिमा आधारित होफम्यान क्लिन प्रविधिबाट इटा पोल्न आधुनिक भटाको निर्माण सम्पन्न गरी उत्पादन समेत थालेका छौँ, इन्जिनियर दुवालले भने, ५० जना नेपालीहरूबाट झन्डै एक वर्षदेखि नै काम गराई अहिले उत्पादनको चरणमा पुगेका हौ।’ यो प्रविधिको विकास सर्वप्रथम जर्मन वैज्ञानिक फ्रेडरिच होफम्यानले सन् १८५८ मा गरेको जनाइएको छ।

प्रालिका प्रमुख कार्यकारी अधिकृत (सिइओ) भरत ओझाले उर्जा किफायती र वातावरणमैत्री हुने भएकाले इटा पोल्नका लागि नयाँ प्रविधिको इटाभटा सञ्चालन गर्ने योजना अनुसार आफूहरू सफल भएको जनाए। अहिले इटाभटाको धुलो धुवाको कारण वातावरण प्रदूषण भयो भनेर तीव्र आलोचना छ। यही आलोचनाबाट जोगाउन नयाँ प्रविधिको इटाभटा सञ्चालन गरेका हौँ, उनले थपे।

यो प्रविधिबाट इटा उत्पादन गर्दा धेरै जसो  काम मेसिनले नै गर्ने गर्दछ।  इटा पार्ने सम्पूर्ण काम मेसिनले गर्ने जनाइएको छ। निकट भविष्यमा ईटा सुकाउन ड्रायर बनाउने योजना भएको सिइओ ओझाले बताए।

यो प्रविधिबाट इटा उत्पादन गर्दा ड्रायर बनिसकेपछि बाह्रै महिना कारखाना सञ्चालन हुने बताए। इटाको बढ्दो मागलाई ध्यानमा राखी प्रालिले यस्तो उत्पादन थाल्न लागेको जनाएको छ।

नेपालमा पहिला देखि चल्दै आएका यस प्रविधिमा आधारित दुई वटा चाइनिज इटा उद्योग थिए। तर यी दुवै भक्तपुर इटा तथा टायल उद्योग र ललितपुरको हरिसिद्धि इटा तथा टायल उद्योग अहिले बन्द भइसकेका छन्। तर पनि भक्तपुरको इटा तथा टायल उद्योग भने निजी क्षेत्रले सञ्चालन गर्दै आएको छ।

प्रकाशित: १९ वैशाख २०८० ०८:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App