यो नोभेम्बर महिनामा मात्र नेपालमा १ लाख १६ हजार भन्दा बढी विदेशी पर्यटक हवाई माध्यमबाट भित्रिएका छन्। चिनियाँ र भारतीय पाहुनाको आगमन आशा गरे अनुरुप वृद्धि नभएपनि यूरोपियन सहित अन्य तेश्रो मुलुकका विदेशीको आगमनमा भने सुधार रहेको पर्यटन क्षेत्रको भनाई छ।
पर्यटन बोर्डका अनसार यो नोभेम्बरमा मात्र नेपालमा १ लाख १६ हजार ५ सय ५३ जना विदेशी पाहुना भित्रिएका छन्। सन् २०२४ को नोभेम्बरमा नेपालमा १ लाख १४ हजार ५ सय १ जना विदेशी पाहुना भित्रिएका थिए।
‘जेनजी आन्दोलनका बाबजुत पनि नेपालमा यूरोपियन मुलका पाहुनाको आगमनमा सुधार भएको छ,’ पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछाने भन्छन, ‘जेनजी आन्दोलनताका सुनसान रहेका पर्यटकीय क्षेत्रमा यो अवधिमा चहलपहल बढेको छ। पर्यटकीय सिजनको मुखैमा आन्दोलन हुँदा पर्यटन क्षेत्र हतासिएको भएपनि आन्दोलनको एकमहिना पछि सुधार आएको छ।’
नेपालमा नोभेम्बर महिनामा सबैभन्दा बढी २०१९ मा १ लाख ३० हजार ३ सय २ जना विदेशी पाहुना भित्रिएका थिए। त्यसपछि कोरोना भाइरस संक्रमणले गर्दा आगमन प्रभावित भएको थियो। ‘पर्यटक आगमनमा सुधार भएकै हो। कुनै न कुनै कारणले नेपालको पर्यटक आउजाउमा केही असर पर्ने गरेको छ। तर, नेपालको पर्यटन क्षेत्र छिटै गरि रिकभर पनि हुने गरेको छ। त्यसको उदाहरण नै जेनजी आन्दोलनपछिको आगमनमा देखिएको सुधार हो,’ लामिछानेले भने।
जेनजी आन्दोलनपछि भारतीयको आगमनमा भने अझै सोचेजस्तो सुधार हुन सकेको छैन। यो नोभेम्बर महिनामा नेपालमा जम्मा १८ हजार ९ सय ९५ जना भारतीय पाहुना आएका छन। बोर्डका अनुसार गत अगष्ट महिनामा नेपालमा हवाईमार्गबाट भित्रिने भारतीय पाहुनाको संख्या ३५ हजार ५ सय ५ थियो। तर, सेप्टेम्बरमा त्यो आगमन खस्केर १५ हजार ५ सय ५६ मा झरेको थियो। अक्टोवरमा जम्मा १७ हजार २ सय ९८ जना भारतीय पाहुना भित्रिएका छन।
‘जेनजी आन्दोलनपछि भारतीय आगमन भने प्रभावित भयो। त्यसले गर्दा पनि समग्र पर्यटनमा असर परेको देखिएको हो। आगमन संख्यामा पनि प्रभाव परेको छ,’ उनले भने।
बोर्डका अनुसार यो नोभेम्बरमा नेपाल भित्रिने विदेशी पाहुनाको आकारमा सार्क मुलुकका पाहुनाको हिस्सा २६.५ प्रतिशत रहेको छ। एशियाका अरु मुलुकका पाहुनाको यो आकार २४.५ र यूरोपको हिस्सा २४.९ प्रतिशत रहेको छ। त्यस्तै अमेरिकी पाहुनाका आगमनको हिस्सा ११.७ प्रतिशत रहेको पनि बोर्डको भनाई छ। ओशिनिया मुलुकका पाहुनाको हिस्सा ५.१ र मध्यपूर्वका पाहुनाको हिस्सा १.५ प्रतिशत रहेको पनि बोर्डको भनाई छ।
नोभेम्बरमा भित्रिने विदेशी पाहुनामध्ये दोश्रो नम्बरमा अमेरिकीको संख्या रहेको छ। नोभेम्बरमा ११ हजार २ सय ५४ जना अमेरिकी पाहुना नेपाल भित्रिएका छन। भारत र अमेरिका पछि तेश्रो नम्बरमा चिनियाँ पाहुना नेपाल भित्रिएका छन। नोभेम्बरमा ७ हजार ८ सय ७१ जना चिनियाँ पाहुना भित्रिएका छन। चौथो नम्बरमा रहेको बेलायती पाहुनाको संख्या ७ हजार १ सय ८९ रहेको पनि बोर्डको भनाई छ। त्यस्तै बंगलादेशी पाहुनाको संख्या ५ हजार ६ सय ५३ रहेको पनि बोर्डको भनाई छ।
नेपालमा सन् २०२५ को एघार महिना (जनवरी–नोभेम्बर) मा सबैगरि १० लाख ६० हजार २ सय ६९ जना विदेशी पाहुना भित्रिएका छन्। तीमध्ये सबैभन्दा बढी २ लाख ६२ हजार ३ सय ४५ जना भारतीय रहेको छ। यो अवधिमा नेपाल भित्रिने अमेरिकी पाहुनाको संख्या १ लाख ५ हजार २ सय ३९ रहेको छ। तेश्रो नम्बरमा रहेको चिनियाँको संख्या ८६ हजार ८ सय रहेको छ। चौथो नम्बरमा रहेको बेलायती पाहुनाको संख्या ५४ हजार ९ सय ४० र पाँचौ नम्बरमा रहेको बंगलादेशी पाहुनाको संख्या ५० हजार ९ सय ४० रहेको पनि बोर्डको भनाई छ।
प्रकाशित: १५ मंसिर २०८२ १७:४६ सोमबार





