२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

फ्लाई दुबई घटना जाँच गर्न छानबिन समिति

नेपाल उड्डयन प्राधिकरणले सोमबार राति फ्लाई दुबईको जहाजमा देखिएको समस्याको सत्यतथ्य जाँच गर्न आन्तरिक छानबिन समिति गठन गरेको छ।

प्राधिकरणका उप–महानिर्देशक जगन्नाथ निरौलाले घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको बताउँदै भने ‘प्राधिकरणले केही समयभित्र सत्यतथ्य पत्ता लगाउँछ, फ्लाई दुबईलाई चरा ठोक्किएको प्रमाण मागेका छौं, फ्लाई दुबईले आफ्नो जहाजमा आएको कमजोरी लुकाउन नेपाली आकाशलाई असुरक्षित भन्न मिल्दैन।’

उप–महानिर्देशक निरौलाले जहाजको इन्जिनमा भएको आगलागीको घटनामा चरा ठोक्किएको भ्रमपूर्ण सूचना फैलाएको दाबी गर्दै फ्लाई दुबईका नेपाल प्रमुख र स्टेशन म्यानेजरको पास तत्कालका लागि रोक्का गरेको समेत बताए। तत्कालको लागि प्राधिकरणले उनीहरूको पास रोक्का गरेको बताउँदै उनले भने ‘वास्तविकता बाहिर आएपछि यसबारे थप निर्णय हुन्छ।’

फ्लाई दुबईले जहाजमा चरा ठोक्किएको भ्रमणूर्ण सूचना फैलाएको दाबी गर्दै उनले भने ‘फ्लाई दुबईको जहाजमा खराबी आएको हो, उड्नु अघि राम्रोसँग चेकजाँच नगरेको हुनसक्छ। आफ्नो गल्तिलाई ढाकछोप गर्न भ्रामक समाचार सम्प्रेषण गरेको छ। यो घटनाले नेपालको आकाश सुरक्षित छैन् भन्ने सन्देश विश्वमाझ पुगेको छ। गलत समचारले नेपालमा हवाई उडानको अवस्था र आकाशमा शंका उत्पन्न भएको छ। यसको सत्यतथ्य छानबिनको लागि प्राधिकरणले फ्लाई दुबईको सुुरक्षा अधिकारीलाई पनि वास्तविकता के हो भनेर अनुसन्धान गर्न भनेर पत्रचार गरिसकेका छौं।’

प्राधिकरणले आन्तरिक छानबिन समिति गठन गरेसँगै घटनाको सत्यतथ्य जाँच गर्न फ्लाई दुबईको सुुरक्षा अधिकारीलाई पत्राचार गरिसकेको छ। आन्तरिक छानबिन समिति र फ्लाई दुबई कम्पनीबाट आएको रिपोर्टले घटनाको वास्तविक कारण थाहा हुने उप–महानिर्देशक निरौलाले बताए। त्रिभुवन विमानस्थलबाट साँझ ९ः२० बजे दुबईका लागि उडेको कलसाइन एफडिबी ५७६ विमान उडेको केही बेरमै समस्याग्रस्त बनेको थियो। विमास्थलबाट उडे लगतै इन्जिनमा समस्या आएपछि आकाशमै आगोको झिल्का देखिएको थियो।  

यसैक्रममा फ्लाई दुबईका प्रवक्ताले फ्लाई दुबईको उडान एफजेड ५७६ काठमाडौं विमानस्थलबाट दुबई इन्टरनेशनलका लागि काठमाडौंबाट उड्ने क्रममा चरा ठोक्किए उल्लेख दुबई मिडिया अफिस ट्विटर अकाउन्टबाट नेपाली समय रातिको ११ बजे गरेको थियो। त्यसको करिब ४ घण्टापछि पुनः सोही ट्विटरबाट फ्लाई दुबईका प्रवक्ताले स्थानीय समय अनुसार रातिको १२ः११ मा दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण भएको भनि जानकारी दिएका थिए।

विमानस्थलमा जहाजलाई फोर्स ल्याण्ड गराउने सम्पूर्ण तयारी भए पनि सुरक्षित रहेको जनाएपछि उडान अनुमति दिइएको थियो। चरा ठोक्किएको हो भने पाइलटले चरा ठोक्कियो भनेर सूचना दिनुपर्नेथ्यो त्यो भएको छैन् उप–महानिर्देशक निरौलाले भने ‘पाइलटले जहाजमा चरा ठोक्किएको भनेर सूचना दिएकै छैनन्। जहाज उड्ने वित्तिकै पाँचसय, हजार फिटमाथि उडिसक्छ त्यस्तो अवस्थामा रातिको समयमा चरा ठोक्किनु असम्भव जस्तै हो। राती चरा उड्दैन्, ९ बजेसम्म बास बसिसक्छ।’

प्राविधिक समस्या देखिएको उक्त जहाजमा १ सय २० विदेशी र ४९ नेपाली गरी कुल १ सय ६९ यात्रु रहेका थिए। ‘जहाजमा समस्या आएको सूचना आएपछि एयरपोर्टको रनवे सबै क्लियर गरेको अवस्थामा जहाज रिटर्न ब्याक भएन्। अनि चरा ठोक्किएको हो भने चरा भेटिनु पथ्र्यो र चरा कहीं पनि भेटिएन्, यसबारे छानबिन हुन्छ।’ उप–महानिर्देशक निरौलाले भने ‘उनीहरूले आफ्नो कमजोरी लुकाउन नेपाली आकाश असुरक्षित भए भन्ने भ्रम फैलाए।’

प्रकाशित: १३ वैशाख २०८० ०२:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App