१६ चैत्र २०८० शुक्रबार
अर्थ

पोखराको पर्यटनमा तुँवालोको मार, एकसातामा एकसय बढी उडान प्रभावित

तुँवालाले करोडौं घाटा लगायोः पर्यटन व्यावसायी

तुँवालोले ढाकेको पोखरा। तस्बिरः उमेश पुन/नागरिक

लेकसाइडस्थित होटल ल्याण्डमार्कले मात्र यो एकसातामा कम्तिमा दुइसय ५० जना पाहुनाको बुकिङ गुमायो। अग्रिम रुपमा होटलका कोठा बुकिङ गरेका भारतीय र आन्तरिक पाहुना बेलैमा भित्र्याउन नसक्दा ठुलो नोक्सान खेप्नुपरेको होटलको भनाई छ। ती पाहुना गुमाउँदा कम्तिमा ३० लाख रुपैयाँ नोक्सान खेप्नुपरेको होटल संचालक बताउँछन्।  

नेपाली नयाँवर्ष मनाउन आउने तयारीमा रहेका पाहुना बेलैमा पोखरा आउन नसक्दा होटलका कोठा रित्तै रहे। नयाँवर्ष पछि पनि दिनहुँजसो होटलको कोठाको बुकिङ रद्द हुने क्रम चलिरहेको छ। अझै कतिदिनसम्म यस्तै नोक्सान खेप्नुपर्ने भन्ने निश्चित नभएको व्यवसायी बताउँछन्।  

यो बेला आन्तरिक पाहुनाको घुम्ने समय हो। विद्यालय विदा भएकोले परिवारै घुम्न निस्कने गरेका थिए। त्यसबाहेक विदेशी पाहुनाको पनि नेपाल घुम्ने मुख्य सिजन हो। तर, पोखराको मौसमले यो सिजनमा पर्यटन क्षेत्रलाई निकै नै प्रभावित पारेको व्यावसायीले बताएका छन्।  

केहीदिनदेखिको बाँक्लो तुँवालोले यहाँको हवाई उडान दिनहुँजसो प्रभावित भएको छ। कतिपय दिन त सबै उडान रद्द भएका छन्। अघिल्लो विहीबारदेखि पोखराको हवाई उडान प्रभावित हुन थालेको हो। एकसाता पुग्नै लाग्दा पनि मौसममा उत्तिसारो सुधार छैन। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको खुल्ने र बन्द हुने समयको टुंगो नै छैन। ढिलागरि विमानस्थल खुल्दा तोकिएका उडान पनि प्रभावित हुने गरेका छन्। बेलैमा उडान हुन नसक्दा यात्रु प्रभावित भएको व्यावसायीले बताएका छन्। यात्रु प्रभावित हुँदा त्यसको मार पर्यटन क्षेत्रमा पर्ने उनीहरुको भनाई छ  

‘धेरै आन्तरिक र भारतीय पाहुना यो पटक चाहेर पनि पोखरा आउन पाएनन। नेपाली नयाँवर्ष मनाउन पोखरा आउने तयारीमा रहेका पाहुनाले अन्तिम समयमा यात्रा रद्द गर्नुप¥यो,’ ल्याण्डमार्कका संचालक ओमप्रकाश पाण्डे भन्छन, ‘जहाजको टिकट काटेर उडने तयारीसाथ विमानस्थल पुगेका यात्रु घन्टौ कुर्दा सम्म पनि उडान नभएपछि घर फर्किन बाध्य भए, यो क्रम अहिले पनि चलिरहेको छ।’ पोखरा आउने तयारीमा रहेका भारतीय पाहुना अर्काे पटक आउने भन्दै यात्रा छोट्याएर स्वदेश फर्केको पाण्डेले बताए। ‘विमानस्थल नियमित रुपमा नचल्दा त्यसको मार पर्यटन क्षेत्रमा परेको उनले बताए।

लेकसाइडकै होटल एशियाले पनि यो सातामा मात्र कम्तिमा २० प्रतिशत आम्दानी गुमायो। अग्रिम बुकिङ गरेका पाहुना आउन नपाएको एशियाका संचालक धर्मराज पन्थी बताउँछन्। बुकिङ रद्द भएपछि होटलका कोठा नै रित्तै राख्नुपरको उनले सुनाए। ‘होटल बुकिङ गरेका कतिपय पाहुना उडान रद्द हुँदा पोखरा आउनै पाएनन। बुकिङ भएका कोठा पनि रद्द भए,’ एशियाका संचालक पन्थीले भने, ‘लामो समय विमानस्थलमा पर्खिने र अन्तिम समयमा मात्र उडान रद्द भएपछि यात्रुले यात्रा नै रोकेर घर फर्किन बाध्य भए।’ सिजनका बेला पाहुना आउने पर्खाइमा रहेका व्यावसायीले उडान प्रभावित हुँदा पाहुना गुमाएको उनले बताए।  

‘विदेशी पाहुना भने जसोतसो गाडी खोजेरै भएपनि ढिलागरि पोखरा आए। तर, आन्तरिक पाहुना बढी प्रभावित भए,’ पन्थीले भने, ‘होटल एशियाले मात्र एकसाता अवधिमा कम्तिमा २० प्रतिशत आम्दानी गुमायो। होटलका कोठा बुकिङ गरेका पाहुना पनि आउन सक्ने वा नसक्ने भन्ने निश्चित भएन।’ पोखराको मौसम खराब भईरहँदा त्यसको प्रभाव पर्यटन क्षेत्रमा परेको उनले बताए। ‘पाहुना भित्रिने बेला नै यो खालको प्रभाव पा¥यो,’ उनले भने, ‘व्यवसायीले यो बेला भित्रिने पाहुनाबाट केही राहतको अपेक्षा गरेका थिए। तर, व्यावसायीले ठुलो आम्दानी गुमाएका छन्।’

पोखराको मौसम पछिल्लो दुइसातादेखि बिग्रन थालेको थियो। झनै एकसातादेखि त यहाँका डाँडाकाँडा पनि नदेखिने गरि तुँवालोले ढाकेको छ। पोखरा आसपासका डाँडा देख्न मुस्किल हुने गरेको छ। बाक्लो तुँवालोले गर्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान दिनहुँजसो प्रभावित भएको विमानस्थल प्रमुख बिक्रम गौतम बताउँछन्। एकसाता अवधिमा एकदिन (गत सोमबार) मात्र तोकिएका सबै उडान भएका छन्। नत्र हरेक दिन अवरोध आइरहेको छ। ‘बुधबार पनि मध्यान्हपछि बल्ल विमानस्थल खुलेको हो,’ गौतम भन्छन, ‘दिनहुँजसो उडान प्रभावित भएका छन्। तोकिएको समयमा उडान हुनै पाएको छैन।’

बिहान ६ बजेदेखि बेलुकी साढे ८ बजेसम्म संचालित पोखरा अन्तर्राट्रिय विमानस्थलमा गत विहीबारदेखि उडान प्रभावित हुन थालेको थियो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण गर्न कम्तिमा ३८ सय मिटरको भिजिविलिटी चाहिन्छ। तर पोखराको भिजिविलिटी २ हजार मिटरमात्र हुने गरेको गौतमले बताए। ‘उडान गर्नका लागि भिजिविलिटी पर्याप्त भएन। त्यसले गर्दा उडान प्रभावित भएको हो,’ उनले भने। गौतमका अनुसार अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रविधिमा आधारित भएर गरिने उडान (आईएफआर) भएपनि ३८ सय मिटर भिजिविलिटी चाहिन्छ। यसअघि पोखराको पुरानो विमानस्थलबाट भिएफआर (आँखाले हेरेको भरमा गरिने उडान) मा आधारित रहेर उडान गर्दा पाँचहजार मिटर भिजिविलिटी चाहिन्थ्यो।  

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार एकसाताको अवधिमा मात्र एकसय भन्दा बढी उडान रद्द भएका छन्। ती उडानबाट कम्तिमा १४ हजार (दुइतर्फीं) यात्रुको यात्रा प्रभावित भएको विमानस्थलले बताएको छ। विमानस्थलका अनुसार अघिल्लो विहीबार २, शुक्रबार २६, शनिबार २६, आइतबार २०, मंगलबार २१ र बुधबार १० वटा जति उडान रद्द भएका छन्। एकतर्फी एकसय भन्दा बढी उडान प्रभावित हुँदा झन्डै सातहजार यात्रु प्रभावित हुने विमानस्थलको आँकडा छ। 

गौतमले उडान प्रभावित हुँदा त्यसको मार पर्यटन क्षेत्रमा ठुलो आकारमा परेको बताउँछन्। ‘एकदिन मात्र विमानस्थलबाट उडान प्रभावित हुँदा त्यसको मार हवाई कम्पनि, विमानस्थलदेखि पोखराको पर्यटन क्षेत्रमा पर्छ, करोडौं रुपैयाँको नोक्सान अहिले भईसकेको छ,’ गौतमले भने, ‘पर्यटकीय गन्तव्यको उडान भएकोले पनि नोक्सानको आकार ठुलो हुन्छ।’  

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी पनि तुँवालोका कारण ठुलो आकारमा पर्यटन क्षेत्रले नोक्सान खेप्नुपरेको बताउँछन्। सिजनको बेला परेको र पाहुना आउने अपेक्षा भइरहँदा यहीबेला विमानस्थलमा उडान अवरोध आउँदा त्यसको मार पर्यटन क्षेत्रले खेप्नुपरेको उनले बताए। ‘यो बेला ठुलो आकारमा आन्तरिक पाहुना पोखरा आउने तयारीमा थिए। हाम्रो अनुमानमा कम्तिमा पाँचहजार पर्यटक एकसातामा प्रभावित भए। हवाई उडान प्रभावित हुँदा  सबैतिर डामाडोल बनायो,’ सुवेदीले भने, ‘पर्यटन क्षेत्रले तुँवालोका कारण मात्र करोडौं रुपैयाँ नोक्सान खेप्नुपरेको छ।’  

स्थलमार्ग झन्झटिलो हुँदा नयाँवर्ष मनाउन धेरै आन्तरिक पाहुना हवाई माध्यमबाट पोखरा आउन चाहेको भएपनि उडान नहुँदा यात्रु अलपत्र परेको, घुम्न निस्कनै नपाई घर फर्किनुपरेको उनले बताए। ‘होटल बुकिङ गरेका पाहुना बेलैमा पोखरा आउन सकेनन, त्यसले गर्दा नयाँवर्षका दिन होटलका कोठा नै रित्तै रहे,’ सुवेदीले भने।  

प्रकाशित: ६ वैशाख २०८० ११:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App