२५ पुस २०८२ शुक्रबार
image/svg+xml
अर्थ

सोलारबाट उत्पादित १० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडियो

विद्युत् उत्पादनका लागि जडान गरिएका सोलार। तस्बिरः गणेश/नागरिक

सोलारबाट उत्पादित १० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा बिहीबारदेखि परीक्षणका लागि जोडिएको छ। पियोर ईनर्जी लिमिटेडले खजुरा गाउँपालिका वडा नम्बर ८ रनियापुरस्थित घिया गाउँमा सोलार विद्युत् परियोजनाबाट उत्पादन गरेको उक्त विद्युत् परीक्षणका लागि जोडिएको हो।

३३ केभी विद्युत् कोहलपुर सवस्टेशनमा जोडिएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र कोहलपुरले जनाएको छ। सोलार विद्युत् परियोजनाको निर्माण गत वर्षदेखि सुरु भएको थियो। करिब एक सय करोडमा सोलारबाट विद्युत् उत्पादन गरिएको निर्माण कम्पनीले जनाएको छ। उक्त कम्पनीले सोलारबाट थप १० मेगावाट विद्युत् उत्पादनको लक्ष्य लिएको छ। जसको काम अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ।

तत्काललाई १० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको पियोर ईनर्जी लिमिटेडका केन्द्रीय प्रमुख शुभम गुप्ताले जनाए। ‘अहिले तत्कालका लागि १० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ,’ उनले भने, ‘करिब हप्ता दिनपछि उक्त विद्युत् नियमित प्रसारण हुन्छ।’ त्यसको करिब दुई महिनापछि थप १० मेगावाट पनि राष्ट्रिय प्रसारण लाइनमा जोड्ने गरी तयारी भएको उनले जनाए।

उक्त ३३ केभी प्रसारण लाइन बैजनाथ–६, कोहलपुर–३, कोहलपुर– ४, बेलनपुरवा, कोहलपुर–६ रझेना, कोहलपुर–८, गोल्छा, कोहलपुर–१० मन्नापुर नहर हुँदै निर्माण भइ चटार हुँदै कोहलपुर सवस्टेसनसम्म परीक्षण गरिने ट्रान्समिटर सुपरभाइजर लिलाधर चापागाईले जनाए। उनका अनुसार बिहीबार बिहानैदेखि उक्त क्षेत्रमा विद्युत् छोडिएको छ। पोल, तार, स्टे तथा विद्युतीय संरचना नछोइ नचलाइदिनु हुन उनले सबैलाई अनुरोधसमेत गरेका छन्।

रनियापुरस्थित घिया गाउँमा सोलार विद्युत् परियोजनाबाट उत्पादन भएको विद्युत् परीक्षणका लागि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र कोहलपुरका प्रमुख सुरज रेग्मीले जनाए। ‘अहिले प्रारम्भिक परीक्षण प्रसारण सुरु भएको छ,’ उनले भने, ‘प्रारम्भिक परीक्षण प्रसारण सफल भएपछि यसलाई नियमित गर्छाैं।’ उक्त प्रसारण लाइन सफल भएपछि केही समयमा सोही कम्पनीबाट थप १० मेगावाट विद्युत् खरिद गर्ने उनले बताए।

गर्मी समय सुरु भएसँगै हुने विद्युत् समस्या केही समाधान हुने उनको भनाइ छ। ‘अब गर्मी बढ्यो। यतिबेला अलि बढी विद्युत् चाहिन्छ,’ उनले भने, ‘आजबाट प्रारम्भिकरुपमा सुरु भएको विद्युत्ले केही सहयोग पु¥याउने छ।’  

प्रकाशित: २३ चैत्र २०७९ ०३:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App