२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अर्थ

पञ्चकोटमा २ अर्बको योजना

संगम घर्ति मगर

बाग्लुङ- यहाँको सर्वसिद्धिधाम पञ्चकोटलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न २ अर्बको योजना सुरु भएको छ। अहिले भौतिक संरचना निर्माणको काम तीव्र पारिएको छ। बागलुङ नगरपालिका–८, पञ्चकोटमा पूर्वाधार निर्माणका लागि अहिलेसम्म ७ करोड रुपैयाँ खर्च भइसकेको पञ्चकोट पूर्वाधार निर्माण उपभोक्ता समितिले जनाएको छ। स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा) को सत्संकल्पमा १०८ फिट अग्लो विश्वशान्ति कलश तथा ५,५५५ किलोको महाघन्ट निर्माण गर्ने उद्देश्यका साथ पूर्वाधार निर्माण भइरहेको निर्माण उपभोक्ता समितिका अध्यक्ष नगेन्द्रराज शर्माले बताए। भौतिक संरचना तयार गर्न करिब १ करोड बराबरको सय रोपनी जग्गा समितिले किनेको छ। ‘भौतिक संरचना निर्माण गर्ने आवश्यक ठाउँ नभएपछि १ करोड जतिको जग्गा किनेका छौं,' शर्माले भने।

कलाकृतियुक्त धार्मिक संरचना निर्माण गरी धौलागिरिलाई नै धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकसित गर्ने लक्ष्यका साथ भौतिक निर्माण कार्य तीव्र पारेको शर्माले बताए। ‘समग्र धौलागिरिलाई नै पर्यटकीय गन्तव्य बनाउने उद्देश्य लिएर धमाधम भौतिक संरचना निर्माण सुरु गरेका छौं,’ शर्माले भने, ‘पहिले अन्य संरचना तयार पारेपछि कलश र महाघन्ट निर्माण सुरु हुन्छ।’

अहिले बागलुङको बलस्वाँरामा अतिथि भवन निर्माण भइरहेको छ। १ करोड ३२ लाखको लागतमा निर्माण सुरु भएको ३ तले भवनका लागि पर्यटन कार्यालय पोखराबाट २० लाख, जिविस बागलुङबाट ५ लाख प्राप्त भएको र बाँकी पञ्चकोटको कोषबाट खर्च भइरहेको शर्माले बताए।

अन्य सरकारी निकायमा समेत योजनाका लागि पहल भइरहेको अध्यक्ष शर्माको भनाइ छ। बलस्वाँरादेखि सर्वसिद्धिधाम जोड्ने पैदलमार्ग निर्माण जारी छ। बागलुङ नगरपालिका कार्यालयबाट विनियोजित ३० लाख र बाँकी पञ्चकोटको कोषबाट खर्च गरी करिब ४ सय मिटर लामो रेलिङ सहितको पदमार्ग निर्माण भइरहेको छ। गरुडशिलामाथि गरुड नारायण मन्दिरको निर्माण जारी छ। २४ फिट अग्लो सो मन्दिर धौलागिरिमै अलौकिक र अनेक कलाकृतियुक्त हुने बताइएको छ। पुष्पमान श्रेष्ठको नगद अनुदानमा निर्माणाधीन मन्दिर निर्माणका लागि मद्रास भारतका कालिगढको टोलीलाई ठेक्कामा जिम्मा लगाइएको र निर्माण कार्य अन्तिम चरणमा पुगेको शर्माले बताए। विश्व शान्ति कलश निर्माणका लागि जग्गा खरिद, धारापानीदेखि स्वामीको जन्मस्थल हुँदै पञ्चकोट जोड्ने मोटरबाटो निर्माण गर्ने, विश्वशान्ति कलश निर्माणका लागि डोजर मार्फत फाउन्डेसन तयार (सम्याउने कार्य) गरिनुका साथै संरचना संरक्षण तथा जमिन सम्याउनका लागि मेसिनरी वालहरुको निर्माण जारी रहेको समितिले जनाएको छ। 

गरुडशिला परिसरमा सचिवालय, पाकशाला, गोदामघर, पाहुनाघर तथा शौचालय, गरुडशिला नजिक गणेश मन्दिर पनि निर्माण सुरु भएको समितिका महासचिव वसन्तकुमार श्रेष्ठले बताए। यस्तै गरुडशिलामा कलाकृतियुक्त दुई तले शिषमहल तथा सत्संग भवन निर्माण कार्यको दोस्रो ढलान सम्पन्न भएको उनले बताए। ‘हामीले भौतिक निर्माणको कामलाई तीव्रता दिएको छौं,’ महासचिव श्रेष्ठले भने, ‘१०८ फिट अग्लो कलश निर्माण फागुन ९ गते शुभारम्भ हुन्छ।’ खानेपानी व्यवस्थापनका लागि ६ किलोमिटरको दुरीमा बेनी ३, गौस्वाँराको मुहानबाट पानी ल्याउन खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङबाट योजना सञ्चालन भइरहेको र खानेपानी व्यवस्थापनका लागि जिविस बागलुङबाट ४ लाख रुपैयाँको बजेटमा फेरोसिमेन्ट ट्यांकी निर्माण गरिएको समितिले जनाएको छ। पञ्चकोटलाई धामको रुपमा विकास गर्न दुई अर्ब रुपैयाँ लाग्ने महासचिव श्रेष्ठले बताए। ‘दुई अर्ब निकै ठूलो रकम हो, हामी सरकारी विकासे कार्यालय तथा पर्यटन मन्त्रालयसँग पनि समन्वय गरेर योजना सम्पन्न गर्ने तयारीमा छौं,' उनले भने।

योजना सम्पन्न गर्न सहयोग जुटाउन स्वामी कमलनयनाचार्य अहिले विभिन्न ठाउँमा प्रचारमा हिँडेको उनले बताए। ‘सहयोग जुटाउन स्वामीज्यू देशका विभिन्न ठाउँमा प्रचारमा हुनुहुन्छ,’ श्रेष्ठले भने, ‘यो धौलागिरिकै लागि गौरवको योजना भएकाले सबैको सहयोग पाउने विश्वास छ।’ सात वर्षभित्र निर्माण सक्ने गरी कामलाई तीव्र पारेको उनले सुनाए। ‘हिन्दु धर्मावलम्बीहरुको गन्तव्य धामको रुपमा विकास गर्ने लक्ष्य छ,’ उद्योग वाणिज्य संघ बागलुङका निवर्तमान अध्यक्षसमेत रहेको श्रेष्ठले भने, ‘पञ्चकोटको विकास हुँदा यहाँको व्यापार व्यवसाय बढ्ने भएकाले उद्योगी, व्यवसायीले पनि सघाउनुहुन्छ भन्ने लागेको छ।’

बागलुङ नगरपालिकाका योजना तथा प्रशासकिय अधिृकत युक्तप्रसाद सुवेदीले पञ्चकोट योजनालाई सघाउन नगरपालिका पछि नपर्ने बताए। ‘हामीसँग ठूलो रकम त हुँदैन, नगरपालिकाले जति सक्छ त्यति सहयोग गर्छ,’ उनले भने, ‘यत्रो धौलागिरिकै गौरवको काम भइरहँदा नगरपालिका पछि रहने त कुरै आउँदैन।’

गत वर्ष ५० लाखको लागतमा सिँढी निर्माण गरेको र यो वर्ष पनि क्षमता अनुसार काम गर्ने उनले बताए। पञ्चकोटलाई धामको रुपमा विकास गर्न स्वामी कमलनयनाचार्यको अगुवाइमा २०७१ को फागुनमा महायज्ञको आयोजना गरिएको थियो। त्यसपछि उक्त स्थानमा हरेक वर्ष महायज्ञ गर्ने गरिएको छ।

प्रकाशित: २८ मंसिर २०७३ ०५:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App