१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

एमसिसी परियोजना अघि बढ्यो

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट परियोजना अघि बढेको छ। परियोजना अन्तर्गत निर्माण गरिने तीन ठूला खालका सबस्टेशन निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिएको छ। मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल) शुक्रबार सार्वजनिक सूचना जारी गरेर एमसिसी परियोजना अन्तर्गत निर्माण ४०० केभी क्षमताका तीन वटा सबस्टेशन निर्माणका लागि बोलपत्र आह्वान गरेको हो।

एमसिए नेपालले रातमाटे, न्यू दमौली र न्यून बुटवलमा निर्माण गर्न लागेको सबस्टेशनका लागि बोलपत्र आह्वान गरेको हो। एमसिए नेपालले डिजाइन, सप्लाई, डेलिभरी, इन्स्टलेसन, टेष्टिङ, कमिसनिङ मोडलमा निर्माण गर्ने गरी टेण्डर आह्वान गरेको हो।

टेण्डर प्रक्रियामा छनोट हुने कम्पनीले आफैंले डिजाइन तयार पारेर प्रसारण लाइन निर्माणको काम गर्नुपर्नेछ। ‘एमसिए नेपालले सन् २०२३ को जुन ३० सम्मको म्याद राखेर टेण्डर आह्वान गरेको छ।’ एमसिए नेपालले परियोजनाको सबस्टेशन निर्माण गर्न इच्छुक बोलपत्रदाताले बिड सेक्युरिटी बापत पहिलो लटको रातमाटे सबस्टेसनको लागि ४ लाख २५ हजार अमेरिकी डलर, दोस्रो लट न्यू दमौली सबस्टेशनका लागि बिड सेक्युरिटी बापत २ लाख ६० हजार अमेरिकी डलर र तेस्रो लट अर्थात् न्यून बुटवल सबस्टेशनका लागि बिड सेक्युरिटी बापत २ लाख ७० हजार अमेरिकी डलर राखेको छ।

एमसिए नेपालका एक कर्मचारीका अनुसार सबस्टेसनका लागि ११ करोड ४० लाख अमेरिकन डलर अर्थात् करिब १५ अर्ब रूपैयाँ बजेट लाग्ने अनुमान गरिएको छ।

एमसिए नेपालले गत मंसिरको दोस्रो साता नै तीन लटमा छुट्ट्याएर प्रसारण लाइनको अन्तराष्ट्रिय बोलपत्र आह्वान गरेको थियो। एमसिए नेपालले सन् २०२३ को मार्च २७ अर्थात् चैत १३ गतेसम्मको म्याद राखेर टेण्डर आह्वान गरेको थियो।

एमसिए नेपालले ११९ दिनको म्याद राखेर टेण्डर आह्वान गरेको हो। सो म्याद अनुसार सो टेण्डरमा सहभागी हुनेका लागि अझै केही दिनको म्याद रहेको छ। पहिलो लटमा ४०० केभी क्षमताको प्रसारण लाइन (लप्सेफेदी–रातमाटे–न्यु हेटौडामा ११७ किलोमिटर) निर्माण गर्न टेण्डर आह्वान गरिएको हो। त्यसैगरी दोस्रो लटमा पनि ४०० केभी क्षमताकै ९० किलोमिटर प्रसारण लाइन (रातमाटे–न्यु दमौलीसम्म) निर्माण गर्न आह्वान गरिएको हो।

तेस्रो लटमा पनि ४०० केभी क्षमताकै १०८ किलोमिटर प्रसारण लाइन (न्यु दमौली–न्यु बुटवल भारतीय सीमासम्म) निर्माण गर्न टेण्डर आह्वान गरेको थियो। बोलपत्रमा सहभागी हुन चाहने निर्माण कम्पनी वा फर्मले आगामी चैत १३ गतेसम्म म्याद राखेको छ। एमसिए नेपालका एक उच्च कर्मचारीका अनुसार आगामी अगष्ट महिनाभित्रै बोलपत्रमा सहभागी ठेकेदार कम्पनीको छनोट हुने दाबी गरे। ‘एमसिए नेपालले आह्वान गरेको टेण्डरमा सहभागी हुनेको संख्याले पनि कहिले खोल्ने भन्ने कुरा निर्धारण गर्छ,’ स्रोतले भन्यो, ‘प्राविधिक र आर्थिक प्रस्तावको मूल्याङ्कन गरेपछि मात्रै निर्माण कम्पनीको टुंगो लाग्नेछ।’

एमसिए नेपालले आगामी अगष्ट महिनाभित्रै प्रसारण लाइन र सबस्टेशन निर्माण गर्ने निर्माण कम्पनीको टुंगो लगाउने योजना बनाएको छ। एमसिए नेपालले प्रसारण लाइन निर्माणको काम डिजाइन, सप्लाइ, डेलिभरी, इन्स्टलेसन, टेष्टिङ, कमिसनिङ मोडलमा निर्माण गर्ने गरी टेण्डर आह्वान गरेको थियो। 

प्रकाशित: १२ चैत्र २०७९ ०२:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App