साहित्यिक पत्रकार सङ्घको आयोजनामा कथाकार डा. अमर कार्कीको ‘क्षितिजपारि’ कथासंग्रहको लोकार्पण भएकाे छ।
कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्राडा दयाराम श्रेष्ठ, साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकाली, लेखककी आमा बुद्धकुमारी कार्की, वरिष्ठ आख्यानकारहरू - प्राज्ञ माया ठकुरी र भागीरथी श्रेष्ठ, साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, वरिष्ठ समालोचक प्राडा गोविन्दमान सिंह कार्की, भुँडी पुराणका केशव पराजुली, साहित्यकार सन्ध्या पहाडी लगायतले कथासंग्रहको लोकार्पण गरेका थिए।
उक्त अवसरमा प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्राडा दयाराम श्रेष्ठले कथाकार डा. अमर कार्कीको ‘क्षितिजपारि’ कथासंग्रहले नयाँ सन्देश दिएको र कथाहरूमा नयाँपन रहेको बताए।
यसैगरी कार्यक्रममा विशिष्ट अतिथि वरिष्ठ आख्यानकार माया ठकुरीले कथाकार कार्कीलाई बधाई ज्ञापन गर्दै उनको सिर्जनशील जीवनको कामना गरेकी थिइन्।
साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीले कार्यक्रमको उद्देश्य र महत्त्वकाे प्रकाश पार्दै साहित्यिक पत्रकार संघबारे जानकारी गराएका थिए। उनले कथाकार कार्कीको सिर्जनशील जीवनको पनि कामना गरे।
अध्यक्ष लेकालीले कथाकार कार्की अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज फ्लोरिडा च्याप्टरको वर्तमान अध्यक्ष भएको बताउँदै फ्लोरिडा च्याप्टरको संक्षिप्त परिचय पनि गराएका थिए।
कथाकार कार्कीले आफ्नो साहित्यिक यात्राको पृष्ठभूमि बताउँदै कथा सिर्जनाबारे बताए। उनले आफ्नो जीवनमा आमाको महत्त्वको चर्चा गर्दै ‘आमा’ र ‘नयाँ वर्ष’ कविता पनि वाचन गरेका थिए।
कार्यक्रमका प्रमुख वक्ता वरिष्ठ समालोचक प्राडा गोविन्दमान सिंह कार्कीले कथाकार डा. अमर कार्कीको कथासंग्रहका बाह्र कथाको समीक्षा गर्दै कथाहरूले दिएको सन्देशबारे बोलेका थिए।
साहित्यकार मन्जिला अनिलले सहजीकरण गरेको सो कार्यक्रममा कृति प्रकाशन संस्था भुँडीपुराण’ का केशव पराजुलीले पुस्तक प्रकाशनबारे बताएका थिए।
कथाकार कार्कीलाई सम्मान समेत गरिएको सो कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथिहरू र प्रमुख वक्ता सहित साहित्यकारहरू विक्रमभक्त जोशी, उषा केसी, राजन नेउपाने र गायिका रितु कँडेललाई मायाको चिनो अर्पिएको थियो।
कार्यक्रममा साहित्यकारहरू कलानिधि दाहाल, तारा बराल, पवन आलोक, विमल भौकाजी, दिव्य गिरी, रोशन थापा, ममता मृदुल, तुलसी बस्नेत, डी. आर. राई, दुर्गाकिरण तिवारी, बिटु केसी, राज रजक लगायत बाक्लो उपस्थिति रहेको थियो।
प्रकाशित: १० वैशाख २०८२ ०९:५३ बुधबार





