२२ पुस २०८२ मंगलबार
image/svg+xml
अर्थ

कर्जा प्रवाहमा संकुचनले बजारमा पैसा अभाव

लामो समयदेखि काठमाडौंको न्युरोडमा लत्ताकपडाको व्यापार गर्दै आएका धनञ्जय महर्जनको पसलमा विगतका वर्ष दैनिक एकदेखि डेढ लाख रूपैयाँको व्यापार हुन्थ्यो। उनले व्यापार व्यवसायबाट राम्रै आम्दानी गर्दै आएका थिए। तर अहिले उनको पसलमा मुस्किलले ४०-५० हजार रुपैयाँको व्यापार पनि हुँदैन। ‘बजारमा पैसा छैन। ग्राहक पनि आउन छाडे,’ महर्जनले भने। व्यापारबारे जिज्ञासा राख्दा उनले भने, ‘पैसा कहाँ हरायो ? राष्ट्र बैंकलाई सोधिदिनुपर्यो। न ग्राहक आउँछन् न उधारो रकम नै उठ्छ।’ महर्जनको बुझाइमा बजारमा पैसा नभएकाले ग्राहक आएका छैनन्। बक्यौता रकम पनि उठेको छैन।

बजारमा पैसा छैन। पैसा कहाँ हरायो भन्ने महर्जनमात्र एक्ला होइनन्। अधिकांश उद्योगी, व्यापारीको चासो र चिन्ता यही छ। उद्योगी, व्यापारीमात्र नभएर मुलुकको अर्थतन्त्रको नेतृत्व गर्नेले पनि यसको जवाफ खोज्दै हिँडेका छन्।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले नागरिक लगानी कोषको एक कार्यक्रममा बजारबाट पैसा हराएकाले खोजी गरिरहेको बताएका थिए। ‘बजारबाट पैसा कहाँ हराएको छ, म खोज्दै छु’,शर्माले भने, ‘कतै सिरानीमुनि र ओछ्यानमुनि त बन्द भएको छैन। त्यसको खोजीमा म लागेको छु।’ शर्माले यसो भनेको र उनी मन्त्रीबाट हटेको महिनौं भयो। बजारमा अहिले पनि पैसा नभएको भन्दै उद्योगी, व्यापारी छटपटाइरहेका छन्।

तरलता अभाव र कर्जा प्रवाहमा संकुचनले बजारमा पैसा अभाव देखिएको सरोकारवालाले बताएका छन्। कर्जा प्रवाहमा आएको ठूलो गिरावटले बजारमा पैसा नभएको अर्थशास्त्री डा. विश्वास गौचन बताउँछन्। ‘वर्षौंदेखि कर्जा प्रवाह वार्षिक २० प्रतिशतका दरले वृद्धि हुँदै आएको थियो,’ उनले भने, ‘यो वर्ष नयाँ कर्जा विस्तार करिब चार प्रतिशतका दरले मात्र वृद्धि भएकाे छ। यही कारणले बजारमा पैसा नभएको हो।’ आयातमा निर्भर अर्थतन्त्र रहेको नेपालमा विदेशी मुद्रा विदेश नै जाने र स्वदेशमा नयाँ कर्जा प्रवाह नहुँदा समस्या देखिएको उनले बताए।  

बजारमा पैसाको कम प्रवाह हुँदा अर्थतन्त्रमा शिथिलता आएको छ। पुँजी निर्माण भएको छैन। उत्पादन तथा उपभोग बढेको छैन। सार्वजनिक सेवा विस्तार हुन सकेको छैन। यसले बजारमा पैसा अभाव भएको हो। लगानी गरेको ठाउँबाट फैसा फिर्ता आएको छैन। बजारमा पैसा नभएपछि वस्तु तथा सेवाको उपभोगमा पनि कमी आएको छ। उच्च मूल्यवृद्धिका कारण उपभोक्ताको क्रयशक्तिमा पनि ह्रास आएको छ। पहिला सस्तोमा कर्जा प्रवाह हुँदा धेरैले सेयर, घरजग्गामा लगानी गरे। त्यसबाट प्रतिफल पाएपछि खर्च गर्ने क्षमता बढ्दा उपभोगमा वृद्धि भयो। त्यसले आयात वृद्धि भयो। आयात बढ्दा विदेशी मुद्रा सञ्चितिमा ह्रास आयो। तर अहिले कर्जा प्रवाह नहुँदा घरजग्गा बिक्री रोकिएको छ, सेयर बजार पनि खस्किएको छ। बैंक, लघुवित्त, सहकारीबाट लिएको कर्जा घरजग्गा, सेयरमा फसेको छ। आम्दानी कम भएपछि उपभोग घटेको छ। उपभोगमा कमी आएपछि उत्पादन घटेको छ। व्यापारीले बजारबाट पैसा उठाउन नसकेपछि बैंकको ऋण, व्याज र किस्ता तिर्न सकेका छैनन्। यसरी अर्थतन्त्रको चक्र प्रभावित भएको छ।

गत आर्थिक वर्ष माघसम्म बैंक तथा वित्तीय संस्थाबाट ५ सय ३ अर्ब ९९ करोड रुपैयाँ कर्जा प्रवाह भएकोमा चालु आव २०७९-८० को माघसम्म १ सय ४८ अर्ब १२ करोड रूपैयाँ मात्र निजी क्षेत्रमा प्रवाह भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।  

बजारमा पैसा नहुनुमा कर्जा प्रवाहमा सुस्तता, घरजग्गा कारोबारमा लगानी भएको पैसा थन्किनु, गत वर्ष २ सय ५५ अर्ब रूपैयाँ शोधनान्तर घाटालगायत कारण रहेको नेपाल राष्ट्र बैंकका अधिकारी बताउँछन्। गत वर्ष २ सय ५५ अर्ब शोधनान्तर घाटा रहेकोमा १ सय ३३ अर्ब रूपैयाँ मात्र फर्केर आएको नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागका प्रमुख डा. प्रकाशकुमार श्रेष्ठले बताए। ‘आयात गर्दा पैसा बाहिर गयो, घरजग्गा कारोबारको पैसा डम्प भएर बसेको छ,’श्रेष्ठले भने, ‘कर्जा प्रवाहमा पनि कमी छ। आयातमा पनि धेरै पैसा बाहिर गएको थियो। यी विविध कारणले बजारमा पैसा कम भएको हो।’  

बैंकसँग लेन्डिङ गर्न सक्ने क्षमता भए पनि पर्ख र हेरको अवस्थामा बसेको उनले बताए। ‘ऋण लिने पनि पर्ख र हेरको रणनीतिमा छन्’,श्रेष्ठले भने, ‘बढी व्याज भएका कारण जोखिम बढेको हुनाले ऋण लिन पनि व्यवसायी तत्पर देखिँदैनन्।’ डिपोजिटमा सुधार आए पनि अझै अर्थतन्त्रमा समस्या बाँकी रहेको उनले बताए। सरकारले खर्च गर्न नसक्दा पनि बजारमा पैसा आउन सकेको छैन। सन् २०२१ को अक्टुबरमा ७ सय २७ अर्ब रुपैयाँ बजारमा सर्कुलेसन भएकोमा अहिले सवा ६ सय अर्ब रुपैयाँ मात्र रहेको श्रेष्ठले बताए।

‘विभिन्न कारणले बजारमा रकम सर्कुलेसन नहुँदा पैसा कहाँ गयो भन्ने जिज्ञासा हुन सक्छ,’उनले भने, ‘तरलताको मागअनुसार सप्लाई हुन सकेको छैन।’

बजारमा माग घटेपछि पैसा पनि कम आउनु स्वाभाविक भएको उनले बताए। वैदेशिक सहयोग र लगानी कम आएको छ। सरकारले खर्च गर्न सकेको छैन। सरकार घाटामा सञ्चालन भइरहेको छ। ‘सरकारले निर्माण व्यवसायीलाई ६० अर्ब रुपैयाँ भुक्तानी गर्न सकेको छैन भन्ने समाचार आएको छ,’ श्रेष्ठले भने, ‘पैसा ठप्प भएको होइन। आर्थिक गतिविधि नबढेकाले अभाव भएको हो।’ अब सुधार हुँदै जाने उनले बताए।

आयातमा आधारित अर्थतन्त्रलाई सुधार गर्दै आत्मनिर्भर बनाउने नीति सरकारले लिनुपर्ने सरोकारवालाको सुझाव छ। ‘सरकारले संरचनागत रूपमा सुधार गर्नुपर्ने बेला आएको छ,’अर्थशास्त्री गौचन भन्छन्, ‘आयातमा निर्भर अर्थतन्त्रलाई आत्मनिर्भरमा रूपान्तरण गर्नुपर्छ।’ आत्मनिर्भर अर्थतन्त्रमा रकम बिदेसिँदैन। अहिले ठुलो पैसा  

बजारबाट बाहिरिएकाले बजारमा अभाव महसुस भएको उनले बताए।

प्रकाशित: ८ चैत्र २०७९ ००:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App