२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

उदयपुरको राजश्व संकलन लक्ष्यभन्दा कम

चालु आर्थिक बर्ष उदयपुरको राजश्व असुली निराशाजनक देखिएको छ। गएको पुस मसान्तसम्म संकलन भएको अर्धबार्षिक राजश्वको अवस्थाले अर्थतन्त्र अझै उठ्न नसकेको चित्र देखाएको छ।

गत आर्थिक बर्ष ०७८/७९ को अर्धबार्षिक राजश्व संकलनको तुलनामा प्रतिशतको हिसावले हेर्दा आधाभन्दा केही बढी मात्र प्रगति भएको करदाता सेवा कार्यालय गाईघाटले जनाएको छ। कार्यालयका अनुसार चालु आर्थिक वर्षको अर्धवार्षिक राजश्व संकलन लक्ष्यको ७०.६७ प्रतिशत मात्र भएको छ। जब कि गत आर्थिक बर्ष यही समयमा अर्धवार्षिक लक्ष्यको ९४.०८ प्रतिशत राजश्व संकलन भएको थियो।

करदाता सेवा कार्यालयका निमित्त प्रमुख टेकबहादुर कार्कीले चालुवर्षको पुस मसान्तसम्म २२ करोड ५६ लाख ९० हजार रुपैयाँ राजश्व संकलन भएको बताए। उनका अनुसार कार्यालयले यो अवधिमा ३१ करोड ९३ लाख ७० हजार रुपैयाँ उठाउने लक्ष्य लिएको थियो। प्रतिशतका हिसाबले सबभन्दा धेरै आकारको राजश्व मूल्य अभिवृद्धि कर (भ्याट) बाट उठेको छ। भ्याटबापतको राजश्व रकम १० करोड ९ लाख ८० हजार रुपैयाँ उठेको कार्कीले बताए।  

कार्यालयले भ्याटबापत १२ करोड ८३ लाख १९ हजार उठाउने अर्धबार्षिक लक्ष्य लिएको थियो। गतवर्षको अर्धबार्षिक उठ्तीको तुलनामा यो संकलन अर्थात लक्ष्यको ७८.६९ प्रतिशत मात्रै हो। गत वर्ष यही समय भ्याट संकलन ८७.३ प्रतिशत भएको थियो। त्यसैगरी आयकर १० हरोड ७२ लख ४३ हजार रुपैयाँ संकलन भएको छ। यसको प्रगति अर्धबार्षिक लक्ष्यको ६७.७५ प्रतिशत हो। गत बर्ष यही अवधिमा आयकर लक्ष्यको ९८.२८ प्रतिशत उठेको थियो।  

अन्तः शूल्क १ करोड ७ लाख २९ हजार रुपैयाँ अर्थात् संकलन भएको छ। यो अंक लक्ष्यको ४७.१८ प्रतिशत मात्र हो। त्यसैगरी बहाल कर ४४ लाख ४५ हजार संकलन भएर लक्ष्यको २६.८२ प्रतिशत प्रगति गरेको छ। गतवर्ष यो शीर्षकमा यही समयमा अन्तःशूल्क १ करोड ६९ लाख ३४ हजार रुपैयाँ संकलन भएको थियो।  

कार्कीले चालु बर्ष निर्धारित लक्ष्यभन्दा राजश्व असुलीमा फराकिलो अन्तर देखिएको बताए। अन्य शीर्षकको तुलनामा भ्याट संकलन भने सन्तोषजनक रहेको उनले बताए। कार्यालयले भ्याट, आयकर, व्याजकर, अन्तःशूल्क र बहालकर गरी ५ शीर्षकमा राजश्व संकलन गर्ने अधिकार पाएको छ। जसमध्ये सबभन्दा बढी राजश्व भ्याट लक्ष्य नजिक ७८.६९ प्रतिशत संकलन हुँदा अन्तःशूल्क सबभन्दा कम ४७.१८ प्रतिशतमा खुम्चिएको छ।  

गतवर्षको तुलनामा लक्ष्य अनुसार संकलन कम देखिए पनि अंकको तुलनामा भने गतवर्षभन्दा केही रकम बढी नै उठेको कार्कीको भनाई छ। उनका अनुसार गत बर्ष यही समयमा २२ करोड ३२ लाख ६९ हजार रुपैयाँ संकलन भएकोमा चालु वर्ष २२ करोड ५६ लाख ९० हजार रुपैयाँ संकलन भएको छ। जुन आकार अंकमा तुलना गर्दा गत बर्षको दाँजोमा २४ लाख २१ हजार रुपैयाँले बढी नै हो। यद्यपी राजश्व संकलन उत्साहजनक नदेखिनुले देशको अर्थबजार संकटबाट मुक्त भइनसकेको आँकलन गर्न सकिने कार्कीले बताए।

प्रकाशित: २४ माघ २०७९ ०७:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App