२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

प्याराग्लाइडिङको भविष्य अन्योलमा

झन्डै अढाई दशक अघिदेखि पोखराको आकाशमा उडान थालेको प्याराग्लाइडिङ सम्बद्ध कम्पनी अहिले ६० वटा छन्। ती सबै कम्पनीले अहिले पोखरालाई आधार बनाएर सराङकोट क्षेत्रको आकाशमा उडान गर्छन्। केहीले पोखरा बाहिरका पर्यटकीय क्षेत्रमा पनि व्यावसायिक उडान थालेका छन्।  

पोखरामा आगामी जनवरी एकदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदैछ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आगामी जनवरी एकदेखि उडान थाल्ने गरी केही दिनअघि नै विमानस्थलको यान्त्रिक परीक्षण (क्यालिब्रेसन उडान) पनि गरिसकेको छ। क्यालिब्रेसन उडानको रिपोर्ट आएपछि व्यावसायिक उडानको परीक्षण हुनेछ। त्यसपछि उडान थाल्ने प्राधिकरणले बताएको छ।  अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पोखराको आकाशमा उडान हुँदै आएको प्याराग्लाइडिङको भविश्य के हुने भन्नेमा अझै अनिश्चित छ। पोखराकै आकाशमा प्याराग्लाइडिङ उडान रहिरहने वा विस्थापित हुने भन्ने यकिन भइसकेको छैन तर प्राधिकरणले केही गरी पोखराको आकाशमा प्याराग्लाइडिङ उडान रहिरहेको खण्डमा सबै ६० वटा कम्पनीले एकैपटक उडान गर्न नपाउने बताएको छ।

अन्तर्राष्ट्रिय विमानस्थलको नियमित सञ्चालन समयबाट केही अवधि छुट्याएर प्याराग्लाइडिङ उडानका लागि छुट्याउन सक्ने अवस्थामा सबै ६० वटा कम्पनीले अहिले जस्तो मनलाग्दी उडान गर्न नसक्ने प्राधिकरणले बताएको छ। प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सबै कम्पनीलाई अहिलेजस्तो उडान गर्न दिन सकिने अवस्था नरहने बताए। ‘प्याराग्लाइडिङ उडानका लागि सीमित समय उपलब्ध भइहालेको खण्डमा सबै कम्पनीले एकैपटक उडान गर्न सक्दैनन्, त्यसले भद्रगोल हुनेछ,’ अधिकारीले भने, ‘सबै कम्पनीको उडान गर्दा आकाशमा ठाउँ हुँदैन। त्यसैले केही कम्पनीले अन्यत्र जानुपर्ने हुन्छ।’

प्राधिकरणका अनुसार यसै पनि पोखराको आकाशमा भइरहेको प्याराग्लाइडिङ अहिलेकै अवस्थामा रहने वा नरहने भन्ने यकिन भएको छैन। पोखरेली व्यवसायीले प्याराग्लाइडिङलाई पोखराकै आकाशमा टिकाइरहनुपर्छ भन्ने माग गरेपछि प्राधिकरणले फ्लाइट प्रोस्युडर डिजाइन फेरेर भए पनि बचाउने प्रयास थालेको थियो। प्राधिकरणका अनुसार अहिलेसम्मको फ्लाइट प्रोस्युडर डिजाइनमा विमानस्थलमा पूर्वबाट अवतरण गर्ने जहाजले ‘एप्रोच’ गर्न नसकेमा वा पश्चिम हुँदै उडान हुँदाको अवस्थामा फेवातालमाथिको आकाशमा पुगेपछि जहाजले सराङकोटलाई बायाँ पार्दै दायाँ मोडिने गरी डिजाइन गरिएको थियो। त्यसले गर्दा सराङकोटको आकाशको प्याराग्लाइडिङ हट्नैपर्ने बाध्यकारी हुन्थ्यो।  पोखराको व्यापक गुनासोपछि जहाजले सराङकोटलाई दायाँ छाडेर बायाँतर्फ मोडेर फ्लाइट प्रोस्युडर डिजाइन बनाउन सकिनेबारे अध्ययन भइरहेको छ। यदि पछिल्लो फ्लाइट प्रोस्युडर डिजाइन पास भएमा ‘मिसएप्रोच’ भएको जहाज फेवातालमाथिबाट बायाँ (पुम्दिभुम्दी)तर्फ मोडिनेछ। त्यस्तो अवस्थामा सराङकोटको आकाशमा हुने प्याराग्लाइडिङ उडान सुरक्षित रहनसक्ने प्राधिकरणको भनाइ छ। महानिर्देशक अधिकारीले प्याराग्लाइडिङ पोखरामै रहिरहे पनि अहिलेको जस्तो बिहादेखि दिउँसो अबेरसम्म मनलाग्दी तरिकाले उडान सम्भव नहुने भएकाले सबै कम्पनी अट्न नसक्ने बताए। ‘केही निश्चित समय प्याराग्लाइडिङका लागि उपलब्ध हुनेछ। त्यो समयभित्र सबै कम्पनीले उडान गर्न सक्दैनन्, अहिले जस्तो भद्रगोल तरिकाले उडान सम्भव हुँदैन,’ उनले भने, ‘सबै कम्पनी सराङकोट क्षेत्रमा नअटेपछि अन्यत्र जानुपर्ने हुन्छ। अन्यत्र जानेबारे बेलैमा कम्पनीले सोच्नुपर्ने हुन्छ।’

प्राधिकरणले एउटा निश्चित क्षेत्रमा सीमित समयका लागि मात्र प्याराग्लाइडिङ उड्न पाउने सम्भावना रहेकाले त्यो अवधिमा सबैका लागि ठाउँ अपुग हुने उनले बताए। ‘कुनै पनि हालतमा ६० वटा कम्पनीले एकै ठाउँ उडान गर्न सक्दैनन्, केही कम्पनी बाहिर जानुपर्ने हुन्छ,’ उनले भने। उनका अनुसार अहिलेसम्म पनि पोखराको आकाशमा प्याराग्लाइडिङ रहने वा नरहने भन्ने यकिन भइसकेको छैन। रहेको खण्डमा पनि सबै कम्पनीले एकैपटक उडान गर्न पाउने छैनन्। ‘अध्ययनको विस्तृत विवरण आइसकेको त छैन तर सबै कम्पनीका लागि समय र ठाउँ भने नपुग्ने पक्का छ,’ महानिर्देशक अधिकारीले भने।

प्रकाशित: २३ मंसिर २०७९ ०२:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App