१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

औद्योगिक जनशक्ति उत्पादन केन्द्र सञ्चालनको तयारी

औद्योगिक क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले विराटनगरमा औद्योगिक जनशक्ति उत्पादन केन्द्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ। उद्योग संगठन मोरङ र इन्स्योर परियोजनाको सहकार्यमा औद्योगिक जनशक्ति उत्पादन केन्द्र सञ्चालनमा ल्याउने तयारी गरिएको हो।

औद्योगिक जनशक्ति उत्पादन केन्द्र सञ्चालनमा ल्याउन दुबै संस्थाबीच सम्झौता भइसकेको उद्योग संगठन मोरङले जनाएको छ। दक्ष जनशक्तिको अभावमा भारत लगायतका देशबाट उद्योगहरूले दक्ष जनशक्ति ल्याउनुपर्ने बाध्यता रहेको र नेपाली युवाहरू रोजगारीको खोजीमा भौतारिनुपर्ने अवस्थाको अन्त्य गर्न ओद्योगिक दक्ष जनशक्ति उत्पादन केन्द्र सञ्चालनमा ल्याउन लागिएको उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले बताए।

औद्योगिक क्षेत्रमा आवश्यक दक्ष जनशक्ति र बजारमा उपलब्ध जनशक्तिका बीचको भिन्नताका कारण उद्योग व्यवसायले भोग्दै आएको समस्यालाई सम्बोधन गर्न उद्योग संगठन मोरङ र इन्स्योर परियोजना बीच आगामी ३ वर्षका लागि औद्योगिक जनशक्ति उत्पादन केन्द्र सञ्चालन सम्बन्धी सम्झौता भएको प्याकुरेलले जानकारी दिए।

दुवै संस्था बीच भएको सम्झौता अनुरूप उक्त केन्द्रले आगामी दिनमा उद्योगहरूलाई आवश्यक दक्ष जनशक्तिको तथ्यांक संकलन र उद्योगको आवश्यकता अनुरूप तालिम सञ्चालन गर्ने संस्थाहरू बीच पुलको भूमिका निर्वाह गर्नेछ। यस्तै समयानुकुल पाठ्यक्रम परिमार्जनका सम्बन्धमा नीतिगत सुझावहरू सम्बन्धित निकायमा दिनेछ।

त्यसैगरी निजी क्षेत्र, तालिम प्रदायक संस्थाहरू एवम् नेपाल सरकारका सरोकारवाला निकायहरू बीच निरन्तर सहजीकरण गरी जनशक्ति उत्पादनका सन्दर्भमा समन्वयकारी भूमिका निर्वाह गर्ने सम्झौतामा उल्लेख गरिएको छ। दीगो रूपमा औद्योगिक दक्ष जनशक्ति उत्पादनका लागि समन्वय गरी प्रदेश नं.१ कै प्राविधिक जनशक्ति उत्पादन केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको छ।

प्रकाशित: १६ मंसिर २०७९ ०१:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App