टाेकियाे(जापान)– नेपालको गोरखा जिल्लामा अवस्थित मनास्लु हिमाल आरोहणको ६० औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ जापानको टोकियोमा मनाइएकाे छ। 
जापानी पर्वतारोहण टोलीले ९ मे १९५६ को दिन प्रथम पटक सो हिमालको सफलतापूर्व आरोहरण गरेको ६० वर्ष पुगेकाे अवसरमा ३ देखि ८ मेसम्म वार्षिकाेत्सव मनाइएकाे हाे। नेपाल-जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औं वार्षिकोत्सवको कार्यक्रमको रुपमा मनाइएको साताव्यापी उक्त कार्यक्रममा मनास्लु डे, हिमाल आरोहण सम्बन्धी फिल्म प्रदर्शनी, नेपाल फ्रेण्डसिप डे, जिम्वोचो नेपाल फेस्टिवल तथा भूकम्पपछिको पूनर्निर्माणसम्बन्धी फोटो प्रदर्शनीलगायतका कार्यक्रम अायाेजना गरिएकाे थियाे। जापानी युवराज नारूहिताेको उपस्थिति रहेकाे उक्त कर्यक्रममा मनास्लु हिमाल आरोहणसम्बन्धी चलचित्रलगायत अन्य कार्यक्रम समेत अायाेजना गरिएकाे थियाे। कार्यक्रममा जापानी युवराजले १९८७ मा नेपालको भ्रमण गर्दाको आफ्ना तस्वीरहरू ल्याई नेपाल भ्रमणताकाको रमणीय सम्झनाहरुलाई स्मरण गरेका थिए।
यसै सिलसिलामा ८ मेमा नेपाली दूतावास र द मेनिचि न्युजपेपर कम्पनी लिमिटेडद्वारा संयुक्त रुपमा आयोजना गरिएकाे नेपाल अर्थक्वयक रिकन्स्ट्रक्शन इभेन्टः नेपाल फ्रेण्डशीप डे नामक विशेष कार्यक्रममा कार्यवाहक राजदूत गेहेन्द्र राजभण्डारी, नेपालका लागि जापानका राजदूत मासाही अाेगावा, विश्वको सर्वोच्च शिखर आरोहण गर्ने प्रथम महिला जुनकाे तावेइ, पर्वतारोही केन नाेगुचीलगायत ३ सय ५० भन्दाबढी विभन्न क्षेत्रका व्यक्तिहरूकाे उपस्थिती थियाे।
कार्यक्रममा बाेल्दै कार्यवाहक राजदूत गेहेन्द्र राजभण्डारीले नेपाल-जापान द्विपक्षीय सम्बन्धका विभिन्न आयामहरुवारे प्रकाश पारे। नेपालका लागि जापानी राजदूत मासाहि ओगावाले विभिन्न तहमा रहेको नेपाल-जापान सम्बन्ध र नेपालको सामाजिक तथा आर्थिक विकासमा जापनले प्रदान गर्दै आएको सहयोग सम्बन्धमा चर्चा गरेका थिए। सगरमाथा आरोही प्रथम महिला जुन्को ताबेइले विभिन्न समयमा आफूले गरेका नेपाल भ्रमण सम्बन्धी अनुभव व्यक्त गर्नुका साथै ग्लाेबल वार्मिङले हिमालय क्षेत्रमा पारेका नकारात्मक प्रभावहरु एवं नेपालको हिमाली क्षेत्रमा सफल तथा जापानमा प्रख्यात एप्पल प्राेजेक्टका सम्बन्धमा जानकारी गराएकी थिइन्।
उनले जापानीहरुलाई पहाड/हिमाल चढ्न र नेपाल गई नेपाललाई सहयोग गर्न अनुरोध गरिन्। जापानी पर्वतारोही केन नोगूचि ले माउण्टेन क्लिनअप प्राेजेक्टलगायत सगरमाथा सफाई अभियान सम्बन्धमा प्रकाश पारेका थिए। ५१ पटक नेपाल भ्रमण गरेका नोगूचिले कार्यक्रममा नेपाल तथा आफ्नो नेपाल भ्रमण सम्बन्धमा प्रस्तुती दिएका थिए। यसैगरी टोकियोको जिम्बोच्योमा सम्पन्न जिम्वाक्चाे नेपाल फेस्टिवलमा नेपाली पन्चेबाजा, साँस्कृतिक नृत्य, नेपाली खाना, उत्पादनहरु तथा हिमाल आरोहणसम्बन्धी फोटो प्रदर्शनी गरिएको थियो।
प्रकाशित: २८ वैशाख २०७३ ०४:३४ मंगलबार





