उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले उद्योग र पर्यटनलाई एकिकृत रुपमा विकास नगरी दिगो आर्थिक विकास नहुने बताएका छन् । शनिबार विराटनगरमा आयोजित विराट एक्स्पोको समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री सिन्हाले यस्तो बताएका हुन् ।
मन्त्री सिन्हाले कोशी प्रदेश आर्थिक संभावना बोकेको क्षेत्र भएको र देशको कुल औद्योगिक उत्पादनमा कोशीको योगदान २५ प्रतिशत रहेकाले यस क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए । उनले आर्थिक तथा पर्यटकीय संभावना वोकेको कोशी प्रदेश, कृषि र विद्युत उत्पादनका लागि पनि महत्वपूर्ण रहेको धारणा राखे ।
ढुवानी लागत र परिवहनको चुनौति कायमैरहेको सन्दर्भमा हाले भारतको कलकत्ता र विशाखापटनम बन्दर्गाहबाट जोगवनीसम्म सिधै कार्गो रेल ल्याउन सक्ने सम्झौता भएको उनले जानकारी दिए । मन्त्री सिन्हाले भने‘ हालै भारतको विशाखापटनम र कलकत्ता बन्दर्गाहबाट जोगवनीसम्म सबै किसिमका सामान कार्गो रेलबाट ढुवानी गर्न सकिने सम्झौता दुई देशकावीचमा भएको छ ।’
ढुवानीका विषयमा अझै पनि केहि समस्या भए ती समस्या समाधानका लागि सरकारले आबश्यक पहल गर्ने उनले बताए । सरकार निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको भन्दै सिन्हाले भ्रष्टाचार मुक्त राष्ट्र निर्माण र युवाका लागि समुन्नतिको जग स्थापना गर्न सरकार प्रयत्नशिल रहेको बताए । स्वदेशी कच्चापदार्थमा आधारित उद्योगलाई कर सहुलीयत र निर्यातमा प्रोत्सहन गर्ने नीति सरकारले लिने मन्त्री सिन्हाको भनाई छ ।
विराटनगरमा आयोजना गरिएको १० दिने एक्स्पोले बजारको नविनतम प्रबिधि र प्लेटफर्म विस्तार गर्न सहयोगी हुने उनले विश्वास व्यक्त गरे । उनले नेपालको औद्योगिक इतिहाँसमा विराटनगरको योगदान महत्वपूर्ण रहेको स्मरणसमेत गरे ।
प्रकाशित: १९ पुस २०८२ २१:०९ शनिबार





