सुन्धारामा तयारी कपडाको व्यापार गर्दै आइरहेका पवन इन्टरप्राइजेजका सञ्चालक सन्जय गुप्ता दिनभरिमा एउटा ज्याकेट बिक्री गरेर ग्राहक कुरेर बस्नु परेको बताउँछन् ।
सुन्धारा नजिक तयारी कपडाको व्यापार गर्ने गुप्तालाई व्यापार कस्तो छ भनेर सोधिएको थियो । ‘कहाँ व्यापार हुनु पहिलेको जस्तो छैन । गत वर्ष यसबेला राम्रै व्यापार भएको थियो । अहिले त कहिलेकाहिँ बोहनी नै नगरी बन्द गर्नुपर्ने दिन पनि आएको छ’, गुप्ताले भने ।
व्यापार भएको दिन सात/आठ हजार रुपैयाँसम्म भएको छ तर कुनै–कुनै दिन बोहनीसमेत हुँदैन, गुप्ताले भने ।
‘बोहनी नभएको दिन सटर भाडा कसरी तिर्ने भन्ने चिन्ता हुन्छ । यो ठण्डी सिजनमा त ज्याकेट बिक्री हुनुपर्ने हो तर एउटा बेच्नसमेत दिनभरि कुर्नुपर्दा दिक्क लागेको छ ।’
गत वर्षको जस्तो यस वर्ष जाडो नभएकाले गर्दा व्यापार व्यवसाय नभएको व्यापारीहरू बताउँछन् ।
‘दिनभरि पसल कुरेर बस्ने काम भएको छ । न पसले आए, न ग्राहक,’ हेलसेल व्यवसायी बैकुन्ठ दाहाल भन्छन्, ‘बजारको यस्तो अवस्थाले त सटर भाडा पनि तिर्न सकिँदैन ।’
दिनमा दुई/तीन हजारको व्यापार गरेर बस्नुपरेको दाहाल सुनाउँछन् । व्यवसायी दाहालले भन्छन्, ‘यो व्यापार भनेको जसोतसो टिक्ने मेलो मात्र हो । घरभाडा, कर्मचारी खर्च र बैंकको ब्याजसमेत थपिँदा कसरी टिक्ने भनेझैं भएको छ ।’ उनका अनुसार यसअघि वर्षमा तीन पटक सामान किन्न आउने ग्राहक यसपल्ट एक पटक मात्र आएका छन् ।
खुद्रा व्यापारी प्रमोद गुप्ता भन्छन्, ‘टोपी, मोजा र मास्क सामानको व्यापार घटेकोमा व्यापारी चिन्तित छन् । ज्याकेट बिक्री त परको कुरो मोजा, टोपी, मासक र पन्जासमेत बिक्री भइरहेको छैन ।’
‘दिनभरी पसल कुर्यो साँझसम्ममा हजार बाह्रसय रुपैयाँको बिक्री हुन्छ । साँझ अलि बढी बिक्री होला कि भनेर फुटपाथतिर पसल राख्दा पनि उही हजार/बाह्रसय भन्दा बढीको बिक्री हुँदैन’, व्यापारी गुप्ताले सुनाए ।

सुन्धाराका अर्का कपडा व्यापारी चन्दकुमार नायक व्यापारमा कमी आएको बताउँछन् । मान्छेहरू पहिलाभन्दा घटेकाले गर्दा पनि व्यापारमा कमी आएको हुनसक्ने उनले बताए ।
जाडोमा लगाइने कपडामा हाइनेक, ज्याकेट, टोपी, ट्राउजरको बिक्री बढ्न सकेको छैन ।
व्यवसायी नायकले भने, ‘धेरै मानिस वैदेशिक रोजगारीमा गइरहेका छन्, यहाँ मान्छे कम हुँदै गएका छन् । प्रत्येक वर्ष ग्राहक घटेको महसुस भएको छ ।’
एकता व्यापार संघ नेपालका अध्यक्ष एवं होलसेल व्यापारी तेजप्रसाद आचार्यका अनुसार लामो समयसम्म केरुङ नाका बन्द भएकाले चीनबाट आयात गरिएका कपडा आयात हुन नपाउँदा नयाँ डिजाइनका सामान उपलब्ध गराउन सकिएन त्यसैले पनि गतवर्षको जस्तो व्यापार व्यवसाय भएको छैन ।
अध्यक्ष आचार्यले भने, ‘नाका बन्द हुँदा कतिपय कपडा त कोराला नाकाबाट पनि आए जति कपडा आउनुपर्ने थियो त्यति आएन त्यसले गर्दा यस वर्ष व्यापार खासै छैन ।’
अहिले होलसेलमा दैनिक १०/२० हजार रुपैयाँ जतिको कारोबार भइरहेको अध्यक्ष आचार्यको भनाइ छ । गत बिहीबारबाट केरुङ नाका सञ्चालनमा आएकाले अब चीनबाट कपडा आयात बढ्ने र व्यापार व्यवसाय पनि बढ्दै जानेमा व्यापारीहरू आशावादी छन् ।
सिजनमा कपडा मात्रै होइन जुत्ताको समेत व्यापार घटेको व्यापारीहरूले बताएका छन् । न्युम्याक्स कलेक्सनका सञ्चालक निरज पौडेलका अनुसार जेनजी आन्दोलनपछि व्यापार व्यवसायमा ह्रास आएको छ ।
गत वर्षको जस्तो जाडो यस वर्ष नभएकाले गर्दा व्यापार व्यवसाय घटेको उनको भनाइ छ ।
व्यवसायी पौडेलले भने, ‘गत वर्ष त यो सिजनमा दैनिक १०/१२ जोर जुत्ता बिक्री हुन्थ्यो यस वर्ष त छ/सात जोर जुत्ता पनि बिक्री भइरहेको छैन ।’
प्रकाशित: १९ पुस २०८२ २१:०५ शनिबार





