२१ पुस २०८२ सोमबार
image/svg+xml
प्रवास

नेपाली साँझमा झुमे टाेकियाेका नेपाली

टाेकियाे— नेपाली साँझ २०१६ जापानको टोकियोमा भव्य रूपमा सम्पन्न भएको छ। १ हजार २ सय भन्दा बढी उपस्थिति दर्शकहरुले नेपालका चर्चित कलाकारहरुको प्रस्तुतिमा भरपुर मनाेरञ्जन लिए।

सिद्धार्थ बैंक तथा सिद्धार्थ रेमिटले अाैपचारिक सेवा सुरू गरेकाे अवसरमा साे कार्यक्रम अायाेजना गरिएकाे हाे। कार्यक्रममा चर्चित पप गायक निमा रुम्वा, हाँस्य कलाकार मनोज गजुरेल, कलाकारद्धय कुमार कट्टेल जिग्री, अर्जुन घिमिरे पाँडे बुढोका साथमा नायिका ऋचा शर्मा र चर्चित लोक गायिका काजल गुरुङले दर्शककाे मन जितेका थिए।

जापानका लागि नेपाली कार्यवाहक राजदूत गेहेन्द्र राजभण्डारी, गैरआवासीय नेपाली संघ एनआरएनए उपाध्यक्ष भवन भट्ट, एसिया प्यासिफिक संयोजक किरण विक्रम थापा, सिद्धार्थ बैकका प्रमुख कार्यकारी अधिकृत सरेन्द्र भण्डारी, सिद्धार्थ रेमिट जापानका संचालकत्रय बावुराम भण्डारी, मेघराज नेपाल, सुदन थापा, क्विनवी क्यापिटलका निर्देशक मारिको बाबा, क्विनवी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सिन्वो हुवाङ लगायत ९ जनाले संयुक्त रुपमा रिवन काटेर सिद्धार्थ बैंक तथा रेमिटको उदघाटन गरेपछि मनोज गजुरेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भेष धारण गरी भारतको अघोषित नाकाबन्दीमाथि व्यंग्य प्रहार गरेका थिए। नायिका ऋचा शर्माले पत्रकारको अभिनय गरी उनलाइ साथ दिइन्। प्रश्नोत्तर कार्यक्रममा नेपाल नाकाबन्दीका नाईके तथा धेरै जिव्रो भएका नेता भनेर नायिका ऋचा शर्माले स्टेजमा बोलाएपछि मनोज गजुरेल दर्शक माझबाट स्टेजसम्म पुग्दा दर्शक निकै उत्साही भएका थिए। दुरुस्तै मोदी झैं देखिएका उनले दर्शकदीर्घाबाट मोदी मुर्दाबाद नाराको सामना समेत गर्नुपर्यो।
Japan
यस्तै उनको समसामयिक व्यङग र विदेशीएका नेपालीलाई मातृभूमिमा लगानी र माया गर्न गरेको अनुरोधलाई दर्शकले ताली बजाएर स्वागत गरेका थिए।

हास्य व्यङग कार्यक्रम भद्रगोलका कलाकार जिग्री र पाँडे बुढाको प्रस्तुतिमा दर्शकहरू पेटमिचिमिचि हासेका थिएँ। अस्थिर राजनीतिक परिवेशमाथि कडा प्रहार गर्दै खाडी मुलूकको विकास गर्न सक्ने नेपाली कर्मठ हातहरूले नेपालको पनि विकास गर्न सक्छन्। त्यस्को लागि युवाहरूलाई स्वदेश मै अवसरको सृजना गरिनुपर्छ भन्ने प्रहसनलाई दर्शकले निकै मन पराएका थिए।

नायिका ऋचा शर्मा र सञ्चारकर्मी शिक्षा वाईवाको उत्कृष्ट उदघोषणमा संचालन भएको कार्यक्रममा लोक गायिका काजल गुरुङले बुझे मैलेनी, नाकमा झिल्के बुलाकी, ठिक छैन जमाना, फुलफुलेर पहेलै भयो लगायतको गीत गाएर दर्शकलाई मनोरंजन प्रदान गरिन्।
japan1
कार्यक्रमको आकर्षणका रुपमा रहेका चर्चित पप गायक निमा रुम्वाले साँझमा पनि, प्रेयसी ओ प्रेयसी, भनौकी म, आउआउ न, मिस क्याट वाक लगायतका चर्चित गीत पस्केर दर्शको मन जितेका थिए। उनको साँझमा पनि गीत लाई दर्शक ले वान्स मोर भन्दै अनुरोध गरेका थिए। उनको प्रस्तुतिले माहोललाई निकै तताएको थियो।

दिव्या नेपालको रोमान्चक नृत्यबाट सुरु भएको कार्यक्रममा नायिका ऋचा शर्माले पनि म कालीकाली र पातलो कम्मर भाचन लगायतका चर्चित गीतमा रोमान्चक नृत्य पस्किएकी थिइन्।

जापानबाट नेपालको क वर्गको सिद्धार्थ बैक लिमिटेडसँग सिधै कारोवार गर्न सकिने तथा रेमिट सेवा सुरु भएको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा एनआरएनएका उपाध्यक्ष भवन भट्ट, कार्यवाहक राजदूत गेहेन्द्र राजभण्डारी लगायतले व्यवसायिक कारोवार सफलताको शुभकामना व्यक्त गरेका थिए। सोही अवसरमा सम्वोधन गर्दै सिद्धार्थ बैकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले जापानवासी नेपालीहरुमा नयाँ सेवा सुरु गरेको जानकारी दिए। सहायक कार्यकारी अधिकृत सुन्दर कँडेलले जापानबाट अब सिधै नेपालको बैंकमा रकम जम्मा गर्न, कारोवार गर्न, ऋण प्रवाह गर्न लगायतका विभिन्न क्षेत्रमा लगानी गर्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।
japan2
सिद्धार्थ बैकका सञ्चालन सुदन थापा, बावुराम भण्डारी र मेघराज नेपालले जापानबासी नेपालीहरुलाई नयाँ सेवा सहज रुपम दिन तयार रहेको सो अवसरमा जानकारी दिए। अन्य कम्पनीसँग प्रतिस्पर्धा गर्न नभई उत्कृष्ट सेवा दिन कम्पनी तयार रहेको दावी कार्यक्रममा संचालक हरूले गरे। समारोहमा क्विवी क्यापिटलका तर्फबाट मारिको बाबा, सिन्वो हुवाङले जापानवासी नेपालीहरुमा उत्कृष्ट सेवा दिने जानकारी दिएका थिए ।

निशुल्क प्रवेश राखिएको कार्यक्रममा जापानवासी नेपालीहरुको खचाखच सहभागिता रहेको थियो। स्वयमंसेवकहरूलाई दर्शक ब्यावस्थापन गर्न निकै गाह्रो परेकाे थियो। कतिपय दर्शकहरू त हल भित्र प्रवेश गर्न नसकेपछि फ़र्किएका थिए।

प्रकाशित: २१ वैशाख २०७३ ०२:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App