coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
प्रवास

प्रचण्डसँग राजदुत सुवेदीको गुनासो: दुतावासका कर्मचारीलाई पानी खाने फुर्सद समेत छैन

जापानका लागि नवनियुक्त राजदुत दुर्गाबहादुर सुवेदीले टोक्योस्थित नेपाली दुतावासमा पासपोर्टका कागजपत्र थुप्रिएर खुट्टा टेक्ने ठाउँ समेत नभएको भन्दै गुनासो गरेका छन्।

आइतबार जापानको टोकियोमा नेपाली जनप्रगतिशील मञ्चले आयाेजना गरेको 'समृद्ध नेपालको आधार, आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार' विषयक अन्तर्क्रिया कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डसँग यस्तो गुनासो पोखेका हुन्। 'जापानमा १५ हजार नेपाली हुँदा जति कर्मचारी थिए अहिले लाख बढी हुँदा पनि त्यती नै छौं' उनले भने, 'दुतावासका कर्मचारीहरूलाई पानी खाने फुर्सद समेत छैन।'

'सरकारले फराकिलो र काम गर्न सहज हुने आफ्नै दुतावासको व्यवस्था गरिदेओस् जापानबासी नेपालीबाट गुनासो नआउने गरी काम गर्छु।' उनले भने। जापान आएकै दिन 'आजको काम आजै नो टुमरो पोलिसी' घोषणा गरेका राजदुत  सुवेदीले जापानका विभिन्न शहरमा बसोबास गर्ने नेपालीहरुका लागि राहदानी र भिसाका सुविधालाई घुम्ती सेवामार्फत घरघरमा सेवा पुर्‍याउने दुतावासको लक्ष्य रहेको बताए।

आफ्नो कार्यकालमा ४  विषयमा फोकस भई काम गर्ने उद्देश्य रहेको बताउँदै उनले आफ्नो नेतृत्वको दुतावासले एक पैसा भ्रष्टाचार नगर्ने र जापानबासी नेपालीहरूलाई विभेदपूर्ण व्यवहार हुन नदिने बाचा समेत गरे।

सामाजिक,सांस्कृतिक र धार्मिक रूपमा नेपाल र जापानको सम्बन्धलाई अझ उचाइमा पुर्‍याउने,नेपालको आर्थिक, सामाजिक, शैक्षिक र प्राविधिक क्षेत्रको विकासको निरन्तरता र अभिवृद्धि गर्ने, जापानी र नेपाली नागरिक बिचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाई जापानमा बसोबास गर्ने १ लाख बढी नेपाली नागरिकको हक हित र कल्याणको पक्षमा काम गर्दै दुतावासले प्रदान गर्ने राहदानी,भिसा लगायत कन्सुलरका सेवालाई सरल,सहज र चुस्त बनाइने उनको भनाइ थियो।

लामो कुटनीतिक सम्बन्ध भएको र प्रमुख दातृ राष्ट्र भएर पनि दुतावासको आफ्नै भवन नहुनु र कर्मचारीको पर्याप्त  व्यवस्था नहुँदा समग्र नेपालकै छविमा असर पुग्ने गरेको जनगुनासो जापानमा रहेको छ।

प्रकाशित: २२ श्रावण २०७९ १७:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App