नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक फेसबुक पेजमा पोस्ट गरिएको माघे सङ्क्रान्तिको शुभकामना सन्देशमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको पक्षमा नारा लगाउँदै कमेन्टको बाढी आएको छ।
बिहिबार बिहान अध्यक्ष ओलीले माघे सङ्क्रान्तिको अवसरमा आफ्नो तस्बिरसहितको शुभकामना कार्ड पोस्ट गरेका थिए। तर, उक्त पोस्टको कमेन्ट बक्समा शुभकामना आदानप्रदानभन्दा बढी ‘नो ओली, वन्ली बालेन’ लेखिएका प्रतिक्रियाहरू भरिएका छन्।
सयौं सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले एकै किसिमको ‘ह्यासट्याग’ र ‘स्लोगन’ प्रयोग गर्दै ओलीको आलोचना र बालेनको समर्थन गरिरहेका छन्।
पछिल्लो समय बालेन शाह झापा-५ बाट चुनाव लड्ने चर्चा छ। झापा क्षेत्र नम्बर-५ एमाले अध्यक्ष ओलीको गृहजिल्ला र सुरक्षित निर्वाचन क्षेत्र हो।
बालेनका समर्थकहरूले शीर्ष नेताहरूलाई चुनौती दिन बालेनले ओलीकै क्षेत्र रोज्न आंकलनसहित सामाजिक सञ्जाल तताएका छन्।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ‘नो ओली’ अभियान नै चलाएका छन्। ओलीको मात्र होइन, जोकोहीको पोस्टमा पनि यहि कमेन्ट देखिन थालेको छ।
उनीहरुले पुराना पुस्ताका शीर्ष नेताहरूलाई विश्राम लिन र नयाँ पुस्तालाई अघि बढ्न दबाब दिएका छन् ।
यसैगरि सामाजिक सञ्जालमा निकै सक्रिय धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङका पछिल्ला पोस्टहरूमा पनि यस्तै प्रकृति देखिन थालेको छ।
साम्पाङका फेसबुक स्टाटसहरूमा पनि प्रयोगकर्ताहरूले ‘नो हर्क, वन्ली बालेन’ लेख्दै कमेन्ट गर्न थालेका छन्। विगतमा बालेन र हर्कबीच सुमधुर सम्बन्ध देखिए पनि पछिल्लो समय सामाजिक सञ्जालमा यी दुई स्वतन्त्र मेयरका समर्थकहरू बिच कित्ताकाट पनि चलेको छ।
प्रकाशित: १ माघ २०८२ १७:४५ बिहीबार





