जापानको राजधानी टोकियोमा व्यवसाय सञ्चालन गर्ने एनअरएनका वर्तमान उपाधक्ष्य भवन भट्ट पु:न उपाधक्ष्य पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन्। विगतमा सुरु गरिएका काम वैशाख १२ को भुकम्पको कारण सम्पन्न गर्न नसकिएको भन्दै त्यसको पूर्णता र भूकम्पपछिको पुनर्निमाणलाई अघि बढाउने प्रतिवद्धता सहित पुन: एक कार्यकालको लागि उपाधक्ष्य पदमा उम्मेद्वारी दिएको उनले उनी बताउँछन्।
'देश विपदमा परेको अवस्था छ यो बेला मेरो उम्मेद्वारी अघिल्लो कार्यकालमा अधुरै रहेका काम पूरा गर्न र भूकम्पपछि हामीले थालेको पुननिर्माण कार्य पूरा गर्नलाइ हो', उनी भन्छन्।
भट्ट अघिल्लो कार्यकालमा एनआरएन कोषाध्यक्ष थिए। १८ वर्षदेखि जापान बस्दै आएका उनकाे मुख्य व्यवसाय रेस्टुराँ हो। उनले जापानभरि आफ्ना रेष्टुराँका चेन फैलाएका छन्। एनआरएनको भविष्यका अध्यक्षको रूपमा हेरिएका उनी जापानबासी नेपाली समुदायमा निकै लोकप्रिय छन्।
एनआरएन कोषाधक्ष्य पदमा जापानका अर्का पुराना ब्यवसायी चिरञ्जिवी थापाको उम्मेदवारी परेको छ। एनआरएन कोषलाई थप मझबुत र पारदर्शी बनाउने प्रतिवद्धता सहित उनी चुनावी मैदानमा उत्रिएका छन्। जापानको नेपाली समुदायमा मिलनसार र सहयोगी ब्यक्तिका रूपमा परिचित उनी एनआरएन जापानको सदस्य, उपाधक्ष्य हुँदै सल्लाहकार सम्मको जिम्मेवारी सम्हालिसकेका छन्। अध्यक्ष हुने उनको प्रायस भने पटक पटक फेल खाएको छ। १५ वर्ष अगाडिदेखी जापानमा बसोबास गर्दै आएका उनी आइटी र रेस्टुरेन्ट व्यवसायी हुन्।
एनआरएन अभियानमा लामो समयदेखि लागि पर्दै आएका अर्का एक स्थापित ब्यवसायी किरण विक्रम थापाले पनि एनआरएन प्यासिफिक क्षेत्रको संयोजकमा उम्मेद्वारी घोषणा गरेका छन्।
एसिया प्यासिफिक क्षेत्रमा एनआरएन गतिविधिलाई गतिशील र प्रभावकारी बनाउने प्रतिवद्धता उनले जाहेर गरेका छन्। उनी जापानमा नेपालालाइ चिनाउने हस्तकलाका सामग्री हरुको ब्यापार गर्छन्।
जापानबाट व्यवसायी रोबिन्द प्रसाद श्रेस्ठले एनआरएन प्यासिफिक क्षेत्रीय उप संयोजकमा उम्मेद्वारी घोषणा गरेका छन्। उनी लामो समयदेखि जापनमा रहेको नेपाली समुदायका गतिविधिमा संलग्न रहँदै आएका छन्।
जापानबाट उम्मेद्वार बनेकाहरू सबैमा एउटा समानता छ- चारै उम्मेद्वार व्यवसायी हुन्।
२ वर्षमा एकपटक नेपाल गएर देशको मुहार फेर्ने गफ चुटेको आरोप खेप्दै आएका एनआरएनहरूले गत वैशाखमा गएको विनाशकारी भूकम्पपछि उद्धार, राहत र पुननिर्माणमा देखाएको सक्रिताको भने सर्वत्र प्रशंसा पाएको थियो।
प्रकाशित: २१ आश्विन २०७२ २२:१९ बिहीबार





