गैरआवासीय नेपाली संघको आह्वानमा विश्वभर छरिएर रहेका एनआरएनहरुले संकलन गरेको २३ लाख ८६ हजार ५ सय ६२ रुपैयाँ बाँके जिल्ला दैवीप्रकोप समितिलाई हस्तान्तरण गरिएको हो। 'लायन्स क्लव अफ काठमाडौं इन्टिलिजेन्स'को सहकार्यमा गैरआवासीय नेपाली संघले सो रकम हस्तान्तरण गरेको हो।
सोमबार नेपालगञ्जमा आयोजित एक कार्यक्रममा संघका प्रतिनिधि सोम सापकोटा र लायन्स क्लवका अध्यक्ष सन्तोष खतिवडाले सो रकम बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी गुञ्जबहादुर एमसीलाई हस्तान्तरण गरे।
हस्तान्तरण गरिएको रकम बाँके, बर्दिया र सुर्खेतका बाढी पीडितसम्म पुग्ने गरी वितरण गरिने प्रमुख जिल्ला अधिकारी एमसीले बताए। पीडित नेपाली दाजुभाईको दुःखमा साथ दिएकोमा सम्पूर्ण गैरआवासीय नेपालीहरुप्रति उनले अभार प्रकट गरे।
सो अवसरमा बाँके क्षेत्र नं. १ र २ का सभासद देवराज भार, दिनेश चन्द्र यादव तथा जिल्ला दैविप्रकोप उद्दार समिति अन्तरगतका विभिन्न कलष्टर प्रमुखहरुको पनि उपस्थिति थियो ।
गैरआवासीय नेपाली संघका प्रतिनिधि सापकोटाले तीनै जिल्लामा दामासहीका अधारमा पुग्ने गरी रकम बितरण गरिदिन प्रमुख जिल्ला अधिकारी र राहत समितिलाई आग्रह गरे।
क्लव अध्यक्ष सन्तोष खतिवडाले लायन्स क्लव अफ काठमाडौं इन्टिलिजेन्सले मध्यपश्चिमका बाढीपिडीतलाई राहत पुर्याउन निरन्तर खटिइरहेको जानकारी दिँदै आगामी दिनमा पनि लायन्स क्लव सहयोगका लागि तत्पर रहेको बताए।
गैरआवासीय नेपाली संघले हरेक बर्ष बाढीपिडीत नेपालीहरुको सहयोगका लागि राहत संकलन गरी बितरण गर्दै आएको छ । यो बर्ष सुनकोसी र पश्चिम नेपालका बाढीपिडीतका लागि संकलन गरिएको झण्डै ६० लाख रुपैयाँ पिडीतसमक्ष पुग्नेगरी वितरण गरिएको छ ।
प्रकाशित: २२ आश्विन २०७१ ०६:५४ बुधबार





