सरकारले बैदेशिक रोजगारीका लागि खुल्ला गरेको १ सय ९ मुलुकमा बाहैं योजना अवधिमा ११ लाख ९२ हजार ९ सय २४ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा पुगेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । विदेशिने कामदारमध्ये ६१ हजार८७ जना महिला रहेका छन् । सरकारले ११ वटा गन्तव्य मुलुकहरुमध्यै साउदी अरव, दक्षिण कोरिया, युएइ, कतार र कुवेतमा श्रम सहचारीको दरबन्दीमा पदपूर्ति भएको र दक्षिण कोरियाबाहेक ४ मुलुकमा सुरक्षित गृह स्थापना भएको सरकारले जनाएको छ ।
त्यस्तै चालु आर्थिक बर्षको फागुन मसान्तसम्म ५ लाख ८५ हजार ६ सय ६२ जनालाई वैदेशिक रोजगारीका लागि पूर्व स्वीकृति दिइएको छ । वैदेशिक रोजगारीमा गई फर्किएका कामदारहरु पुन श्रम स्वीकृति नविकरण गरी १ लाख ९ हजार ४ सय २७ जना सोही देशमा वैदेशिक रोजगारमा गएको सर्वेक्षणमा उल्लेख छ ।
त्यस्तै चालु आर्थिक वर्षको ८ महिनामा बैदेशिक रोजगार प्रबद्र्धन बोर्डले विदेशमा मृत्यु भएका ६ सय ३८ परिवार र अंगभंग भएका ६९ जना कामदारलाई आर्थिक सहायता दिएको छ । त्यस्तै विदेशमा अलपत्र परेका २१ शव स्वदेश ल्याउन र ३ सय शव जिल्लासम्म पुर्याउन बोर्डले सहयोग गरेको छ । त्यस्तै ८ महिनामा वैदेशिक रोजगारीसम्बन्धी ७३ थान मुद्दाहरु फछ्यौट भएको र २ सय ७७ थान मुद्दाहरु फछ्यौट हुन बाँकी रहेको छ ।
चालु आर्थिक वर्षको ८ महिनामा विभिन्न मुलुकबाट ३ खर्ब ५६ अर्ब ७० करोड रेमिट्यान्स स्वदेश भित्रिएको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।
प्रकाशित: २६ असार २०७१ ०७:४२ बिहीबार





