युरोपका सबैभन्दा ठूलामध्ये केही जर्मन औद्योगिक प्रतिष्ठान पनि पर्छन्। जर्मन जासुसी निकाय बिएफभी प्रमुख हान्स जर्ज मास्सेनले मर्केल र उनको प्रतिनिधिमण्डलमा सामेल औद्योगिक प्रतिष्ठानका गोप्य व्यापारिक जानकारी र सूचना चिनियाँ ह्याकरको निसानामा पर्नसक्ने जनाउ दिएका हुन्।
मास्सेनले जर्मनीका साना र मझौला औद्योगिक कम्पनीहरू चिनियाँ ह्याकरका सजिला निसाना बन्नसक्ने आइतबार जनाएका छन्। मास्सेनका अनुसार यस्ता साना र मझौला कम्पनी नै जर्मन अर्थतन्त्रका मेरुदण्ड हुन्। मास्सेनले 'वेल्ट एम सोन्टाग' अखबारसँगको कुराकानीमा यस्ता कम्पनीले आफ्ना महत्वपूण जानकारी र सूचना के हुन् तथा अर्को पक्ष के चाहन्छ थाहै नपाउने बताएका छन्।
मास्सेनले चिनियाँ औद्योगिक कम्पनी साधन स्रोतसम्पन्न भएकाले उनीहरू सजिलै जर्मन कम्पनीका जानकारी सूचना ह्याक गर्न सक्छन्। त्यसमाथि पनि चीनमा सरकारी तवरबाटै ह्याकिङ गरिने हुँदा मर्केल र उनको व्यापारिक प्रतिनिधिमण्डलका सबै जानकारी र सूचना लिएर चीन व्यापारिक वार्तामा फाइदाजनक स्थितिमा हुनसक्छ। मास्सेनले प्राविधिक रुपमा दक्ष र कम्तिमा पनि एक लाख ह्याकरलाई चीनले ह्याकिङमा लगाएको बताएका छन्।
अमेरिकाले आफ्ना गोप्य सामरिक जानकारीसमेत ह्याकिङ गरेको आरोप चीनमाथि बेलाबेला लगाउँदै आएको छ। चीनले अमेरिकी अत्याधुनिक सामरिक प्रविधि ह्याक गरी चिनियाँ सेनालाई आधुनिकीकरणमा उपयोग गरेको अमेरिकाको आरोप छ।
अमेरिकी जासुसी निकाय एनएसएका पूर्वकर्मचारी एडवार्ड स्नोडनले अमेरिकाद्वारा गरिएको टेलिफोन र इमेलको व्यापक जासुसीबारे गरेको खुलासापछि विश्वभर नै निकै हल्लिखल्ली मच्चिएको थियो। स्नोडनले सार्वजनिक गरेका दस्तावेजबाट एनएसएले चीनको सरकारी सञ्चार कम्पनी हुवावेई टेक्नोलजीजस्ता व्यापारिक प्रतिस्ष्ठानको समेत जासुसी गरेको खुलासा भएको थियो।
मर्केल आइतबार दक्षिण पूर्वी प्रान्त सेंचुआको राजधानी तथा औद्योगिक सहर चेंगदू पुगेकी छन्। चेंगदूमा १ सय ५० भन्दा बढी जर्मन कम्पनी कार्यरत छन्। जर्मनीमा युरोपको सबैभन्दा ठूलो अर्थतन्त्रकी सरकार प्रमुख मर्केल निकै ठूलो व्यापारिक प्रतिनिधिमण्डलसहित चीन पुगेकी हुन्। तीन वर्षयता जर्मनी–चीन द्विपक्षीय व्यापार वार्षिक १ सय ४० अर्ब युरो छ। यस वर्ष भने पहिलो त्रैमासिकमा जर्मनको चीन निर्यात ९.८ प्रतिशत वृद्धि भएको छ। युरोपबाहिर अमेरिकापछि जर्मन उत्पादनका सबैभन्दा ठूलो आयातकर्ता चीन नै हो।
मर्केलको चीन भ्रमण खास गरी द्विपक्षीय व्यापारमै केन्द्रीत हुने अनुमान छ। उनको भ्रमणताका जर्मन वायुसेवा लुफ्थ्यान्सा र एयर चीनबीच साझेदारीबारे सम्झौता हुने अनुमान छ। मर्केलले सोमबार चिनियाँ राष्ट्रपति सि चिनफिङ र प्रधानमन्त्री लि खछियाङसँग भेटवार्ता गर्नेछिन्।
मर्केलले चीनस्थित विभिन्न मानव अधिकार समूहसँग पनि भेट गर्नेछिन्। उनले चीनमा मानवअधिकारको खस्कँदो स्थितिबारे पनि कुरा उठाउन सक्ने सञ्चारमाध्यमले जनाएका छन्।
चीनले देशमा बढ्दो मध्यम वर्गको आवश्यकता पूर्तिका लागि जर्मनीबाट मेसिन, कार र स्टिल आयात गर्छ। जर्मनीले गएको वर्ष चीनमा ६७ अर्ब युरो बराबरका उत्पादन बेचेको थियो भने चीनले जर्मनीलाई ७३ अर्ब युरो बराबरको उत्पादन निर्यात गरेको थियो।
प्रकाशित: २२ असार २०७१ २२:०२ आइतबार





