यी दुई क्षेत्रले जनमत सङ्ग्रहपछि रसियामा समावेश हुने विश्वास पश्चिमी मुलुकले गरेका छन्। शीतयुद्धपछि मस्को र पश्चिमी मुलुकबीचको सम्बन्ध सबैभन्दा तनावपूर्ण बनेको छ र मतदानपछि यो अवस्था अझै नराम्रो हुने अनुमान गरिएको छ।
रेडक्रसको अन्तर्राष्ट्रिय समितिले जेनेभामा दोनेत्स्कका चार, किभका चार र स्विजरल्यान्डका एक गरी आफ्ना नौ कर्मचारीलाई केही घण्टासम्म नियन्त्रण गरिएको र उनीहरूलाई कुनै क्षति नपुर्याइ मुक्त गरिएको जानकारी दिएको छ।
युक्रेनको कुल जनसङ्ख्या चार करोड ६० लाख रहेको छ र यी दुई क्षत्रको जनसङ्ख्या ७३ लाख रहेको छ। रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले यस जनमत सङ्ग्रह रोक्न तथा सङ्कट मत्थर हुन दिन गर्नुभएको आग्रहलाई विद्रोहीहरूले अस्वीकार गरेका छन्।
आइतबारको जनमत सङ्ग्रहमा मतदातालाई उनीहरू स्वतन्त्र जनगणतन्त्र स्थापनाको पक्षमा छन् वा छैनन् भन्ने प्रश्न गरिनेछ। यसलाई धेरैले रसियासँग मिलान हुने पूर्व कार्यको रूपमा लिएका छन्। क्राइमियामा पनि यस्तै घटना भएका थिए। दोनेत्स्कको पृथकतावादी प्रमुख डेनिस पुसिलिनले यी दुई क्षेत्रका ९० प्रतिशत भागमा जनमत सङ्ग्रह गरिने र ६० प्रतिशत मतदाता उपस्थित हुने बताएका छन्।
प्रकाशित: २७ वैशाख २०७१ २०:१४ शनिबार





