२० पुस २०८२ आइतबार
image/svg+xml
प्रवास

बेलायती निर्वाचनमा नेपाली उम्मेदवार

पोखरा-बेलायतमा एक नेपाली युवाले मुख्य राजनीतिक दल लेबर पार्टीका तर्फबाट काउन्सिलरको उम्मेदवार बन्ने मौका पाएका छन्। तनहुँ घाँसीकुवामा जन्मिएका बच्चुकैलाश कैनीले २०१५ मे ७ मा हुने निर्वाचनमा त्यहाँको डाटफोर्ड क्षेत्रबाट चुनाव लड्ने अवसर पाएका हुन्।कैनी नौ वर्षदेखि बेलायतमा बस्दै आएका छन्। काउन्सिलरमा विजय भए त्यस क्षेत्रको मेयरसम्म चुनिन सक्ने उनले बताए। ‘नेपालबाट बेलायत पुगेर राजनीति गरेकाले चुनाव जित्न मैले धेरै मेहनत गर्नुपर्छ,' कैनीले नागरिकसँग फोनमा भने, ‘नेपाली नागरिक बेलायतको मुख्य राजनीतिक दलको उम्मेदवार बन्न पाउनु निकै नै ठूलो कुरा हो।' 
कैनीको प्रतिस्पर्धा कन्जरभेटिभ पार्टीका उम्मेदवारसँग हुन्छ। उनी उम्मेदवार भएको क्षेत्रको जनसंख्या १ लाख छ। काउन्सिलरको कार्यावधि चार वर्षको हुन्छ। ‘चुनाव जित्न म र मेरो पार्टीलाई चुनौती छ,' उनले भने। 
बेलायतमा एकै दिन संसदीय र स्थानीय निकायको निर्वाचन हुँदैछ। त्यहाँ निर्वाचनको मितिभन्दा एक वर्षअघि नै उम्मेदवार छान्ने चलन छ।
कैनी सन् २००९ देखि लेबर पार्टीसम्बद्ध टे्रड युनियनको संयोजकका रूपमा काम गर्दै आएका छन्। टे्रड युनियनमा आबद्ध रहेर काम गरेकाले पनि निर्वाचनमा विजयी हुनेमा आशावादी रहेको उनले बताए। ‘चुनाव प्रचारका लागि एक वर्षसम्म घरदैलो गर्दै मतदाता भेटघाट गर्ने तयारी गरेको छु,' उनले भने। 
बेलायतको राजनीतिमा माथिल्लो तह पुग्नका लागि यो चुनाव पहिलो खुड्किलो भएको उनले बताए। ‘दक्षता र क्षमताका आधारमा पार्टीले मलाई उम्मेदवार बनाएको छ। यहाँ विजयी हुनु भनेको नेपाली नागरिकको नाम राख्नु पनि हो,' उनले भने, ‘विजयी हुँदै गए बेलायतको संसदमा पुग्न सकिन्छ र भविष्यमा प्रधानमन्त्रीसम्म बन्न सकिन्छ।'
कैनीले २०४३ सालमा दमौलीको निर्मल उच्चमाविबाट एसएलसी पास गरेका हुन्। घरको आर्थिक अवस्था कमजोर भएपछि उनले निर्मलमै पढाउँदै प्राइभेट परीक्षा दिएर आइए पास गरेका थिए। त्यसपछि उनी बिकम पढ्न काठमाडौं गए। दमौलीमा छँदै उनी नेविसंघको राजनीतिमा लागेका थिए। 
आइए पासपछि उनी नेपाली सेनामा सेकेन्ड लेफ्टिनेन्ट पनि भएका थिए। तर, प्रजातान्त्रिक पद्धतिलाई स्वीकार गरेको आरोपमा उनलाई तालिम सुरु हुनासाथ बर्खास्त गरिएको थियो। ‘बुबा प्रजातान्त्रिक व्यक्ति भएको र मैले पनि त्यसैलाई पछ्याएको आरोपमा मलाई सेनाबाट हटाइएको थियो,' उनले सुनाए।
सेनाबाट निकालिएपछि उनले काठमाडौंमा दिउँसो स्कुल पढाउँदै बेलुकी क्याम्पस पढ्दै स्नातक पास गरे। स्नातकपछि उनले नेपाल हृदयरोग प्रतिष्ठानमा जागिर खाए। पछि गंगालाल मुटुरोग अस्पताल खुलेपछि उनी त्यसमा जागिर खान थाले। उनी त्यहाँका पहिलो जागिरे थिए। गंगालालमै कार्यरत रहँदै उनले नेपालबाट एमबिए, बिएड र बिएल गरिसकेका थिए। त्यहीबेला सरकारी छात्रवृत्तिमा भारतको जयपुरबाट अस्पताल व्यवस्थापनमा डिग्री गर्ने मौका पाए। 
२००४ मा बेलायतले उच्च क्षमता भएका व्यक्तिका लागि स्थायी बसोबास दिलाउने भन्दै दरखास्त आह्वान गरेपछि उनले निवेदन दिए र छानिए। ‘उच्च क्षमता भएको व्यक्ति लिने बेलायतको नीतिअनुरूप मलाई यहाँ आउने बाटो खुलेको हो,' उनले भने।
बेलायत पुगेलगत्तै उनले त्यहाँको सरकारी अस्पतालमा जागिर पाए। कैनीले २००९ मा मात्र स्थायी बसोबासको अनुमति पाए। 
नेपालमा सानैदेखि राजनीति गरेकाले उनलाई त्यहाँको राजनीतिले पनि तान्यो, लेबर पार्टीमा आबद्ध भए। अघिल्लो वर्षमात्र सक्रिय सदस्यका रूपमा उनी लेबरमा प्रवेश गरेका थिए। ‘यहाँ उच्च क्षमताका आधारमा उम्मेदवार तय गरिन्छ। पार्टीले पनि मलाई त्यही रूपमा उम्मेदवार बनाएको हो,' उनले भने, ‘त्यसैले पनि मैले जित्नैपर्छ।' 
हाल क्विन एलिजावेथ अस्पतालमा वरिष्ठ व्यवस्थापकका रूपमा कार्यरत उनी ग्रिनविच विश्वविद्यालयबाट अस्पताल व्यवस्थापन विषयमा विद्यावारिधि गर्दैछन्।

प्रकाशित: २७ वैशाख २०७१ १९:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App