पर्थ– पश्चिम अस्ट्रेलियाको पर्थमा नेपाली अवैतानिक वाणिज्यदूतको कार्यालय स्थापना भएको छ। ५ मे सोमबार अष्ट्रेलियाका लागि नेपाली राजदूत रुद्रकुमार नेपालले अवैतनिक वाणिज्यदूत कार्यालयको एक समारोहबीच उद्घाटन गरेका थिए।
पर्थ सहरको स्टिरिलिङ स्ट्रिटमा रहेको अस्ट्रेलिया एसियन एसोसिएसन भवनमा सो वाणिज्यदूत कार्यालय छ। पर्थबाट पत्रकार दिक्पालदेव पंगेनीले जनाएअनुसार पश्चिम अस्ट्रेलिया सरकारका प्रतिनिधि, स्थानीय राजनीतिक पार्टीका प्रतिनिधिलगायत सहभागी कार्यक्रममा राजदूत नेपालले वाणिज्यदूत फ्रेड ब्रराउनलाई बधाइ दिए। वाणिज्यदूत कार्यालय स्थापनाले पश्चिम अस्ट्रेलियामा नेपाललाई चिनाउने र यहाँको नेपाली समुदायलाई सहयोग हुने विश्वास उनको थियो।
त्यसअघि नवनियुक्त वाणिज्यदूत ब्राउनले नेपाल र नेपालीको हितमा निरन्तर काम गर्ने बताए।
राजदूत नेपालले पर्थमै आयोजित अर्को कार्यक्रममा नेपाली समुदायका प्रतिनिधिहरूसँग अन्तर्त्रि्कया गरेका छन्। नेपाली एसोसिएसन अफ वेस्टर्न अस्ट्रेलिया (नावा) र एनआरएन पश्चिम अस्ट्रेलियाले आयोजना गरेको कार्यक्रममा राजदूत नेपालले दूतावासले प्रदान गर्दै आएको सेवाबारे प्रस्ट पार्दै भौगोलिक हिसाबले टाढा रहे पनि अन्य राज्यलाई जस्तै पश्चिम अष्ट्रेलियाको नेपाली समुदायलाई पनि प्राथमिकतासाथ सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए।
राहदानी नवीकरण र वितरण, एनआरएन परिचय पत्र, नेपालको कुटनीतिक सेवा र विकासमा दूतावासलगायत विषयमा सहभागीले उठाएको प्रश्नको जवाफ राजदूतले दिएका थिए।
प्रकाशित: २४ वैशाख २०७१ ०४:५६ बुधबार





