८ माघ २०८२ बिहीबार
image/svg+xml
प्रवास

बमलाई बचाउन कूटनीतिक पहल सुरु

काठमाडौं-दुबईको जेलमा मृत्युदण्ड सुनाइएका अमरबहादुर बमलाई बचाउन नेपालले कूटनीतिक पहल अघि बढाएको छ।
परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालयबाट कूटनीतिक पहल सुरु भएको जानकारी अमर बचाउन अभियानका अध्यक्ष मानबहादुर थापाले दिए।बमका पिता कर्णबहादुर र अभियानका अध्यक्ष थापाले मंगलबार प्रधानमन्त्री सुशील कोइराला तथा परराष्ट्रमन्त्री महेन्द्र पाण्डेसँग छुट्टाछुट्टै भेटेका थिए।
‘परराष्ट्र मन्त्रालयले कूटनीतिक पहलको निम्ति पत्र तयार गरेको छ, छिट्टै पठाउन लागेको बताएका छन्,' प्रधानमन्त्री कोइराला र मन्त्री पाण्डेसँगको भेटबारे जानकारी दिँदै थापाले नागरिकसँग भने।
बमका पिता कर्णबहादुरले प्रधानमन्त्रीले छोरा बचाउन सक्दो प्रयास गर्ने आश्वासन दिएको बताए। ‘प्रधानमन्त्रीले पहल गरिदिउँला भन्नुभएको छ, म आशावादी छु,' उनले भने।
छोरा बचाउने पहल गर्न कर्णबहादुर पाँच दिनदेखि राजधानीमा छन्। बमलाई मृत्युदण्डबाट बचाउन दुबईमै रहेका नेपाली, नेपाल सरकार तथा अमर बचाउन अभियानले विभिन्न पहल गरिसकेको छ। मृतकका आफन्तले भने नगद पैसा लिन मानिरहेको छैन। यही क्रममा सरकारले दुबई सरकारसँग कूटनीतिक पहल गर्न लागेको हो।
नौ वर्षदेखि दुबई जेलमा बन्दी जीवन बताउँदै आएका बमलाई सन् २००३ मा अदालतले भारतका शरद शेट्टी हत्यामा संलग्न रहेको भन्दै जेल हालिएको थियो। गत वर्ष नेपाली दूतावासले खोजी गर्ने क्रममा उनको अवस्था पत्ता लागेको थियो। उनलाई त्यही वर्ष मृत्युदण्ड सुनाइएको हो। मृत्युदण्डको मिति निश्चित नगरिए पनि त्यहाँको कानुनअनुसार कुनै पनि बेला दिइने अवस्था रहेको अध्यक्ष थापाले बताए।
सेट्टीलाई भारतीय नागरिक मनोज मुदाना, करन सिहं राजपुत र स्मद कुलत बनवारीले हत्या गरेका थिए। बमलाई भने उनीहरूको सवारी साधन चलाएको आरोपमा जेल चलान गरिएको थियो।
बम बचाउ अभियानअन्तर्गत हालसम्म ४ लाख रुपैयाँ संकलन भएको छ। उनलाई जेलबाट छुटाउन निम्ति आवश्यक खर्चका लागि यो रकम प्रयोग गरिएको पिता बमले बताए। गत वर्ष गठित अमर बचाउन अभियान निस्त्रि्कय भएपछि सोमबार आप्रवासी कामदार संगठनको नेतृत्वमा नयाँ समिति गठन भएको हो। 
नयाँ कार्य समितिमा अध्यक्ष मानबहादुर थापा, अधिवक्ता कमलबहादुर खत्री, हिमालय टेलिभिजनका पत्रकार सोमबहादुर थापा, पत्रकार राजेन्द्र कुँवर, पिता कर्णबहादुर बम, दुबईस्थित कृष्णबहादुर ढकाल, प्रवासी नेपाली समन्वय समितिका कुलप्रसाद कार्की र सल्लाहकारमा हिमालय टेलिभिजनका निर्देशक नारायण पुरी र नेपाली कांग्रेसका प्रवक्ता दिलेन्द्र बडु छन्।

प्रकाशित: ९ वैशाख २०७१ १९:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App