८ माघ २०८२ बिहीबार
image/svg+xml
प्रवास

केजरीवालले खाएको झापडको मोल ८५ लाख

नयाँ दिल्ली, (एजेन्सी)– नयाँ दिल्लीका पूर्वमुख्यमन्त्री अरबिन्द केजरीवालले खाएको झापडको मूल्य ८५ लाख भारतीय रुपैयाँ भन्दा अनौठो लाग्न सक्छ।पत्याउनुस् नपत्याउनुस्, भारतीय सञ्चारमाध्यमले यस्तै भएको जनाएका छन्। केजरीवालमाथि हुने आक्रमण उनको दल आपका लागि भने फाइदाको व्यापार भएको छ। हरेक पल्ट केजरीवालमाथि भएका आक्रमणपछि पार्टीले पाउने चन्दा रकम ह्वात्तै बढ्ने गरेको छ। मंगलबार पनि यस्तै भयो। राजधानीमा आफ्नै पार्टीकी उम्मेदवार राखी बिडलानको चुनाव प्रचार गर्न रोड सोमा सहभागी भएका केजरीवाललाई एक जना अटोरिक्सा चालकले झापड हाने। केजरीवालले झापड खाएपछि त्यस दिन पार्टीले ८५ लाख रुपैयाँ चन्दा पायो। पार्टीको चन्दा संकलनको अर्थमा केजरीवालले खाएको झापडको मुल्य ८५ लाख रुपैयाँ भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
तर चन्दा संकलनमा आएको बढोत्तरीपछि पनि आपले चन्दा संकलनको लक्ष्य पुरा गर्न सकेको छैन। पार्टीले सन् २०१२ डिसेम्बरपछि अहिलेसम्म १ सय ११ देशबाट ८६ हजार ६ सय ४९ जनाबाट जम्मा २४.५३ करोड रुपैयाँ मात्र चन्दा पाएको छ। पार्टीले अहिले भइरहेको लोकसभा चुनावमा सय करोड रुपैयाँ चन्दा संकलनको लक्ष्य राखेको थियो।
दुई महिनायता चुनाव प्रचारका क्रममा केजरीवालमाथि भारतभर मसी, अन्डा, मुक्का र झापड प्रहार भएको छ। हरियाणाको रोहतकमा उनको गर्दनमा प्रहार भएको दिन पार्टीले ४२ लाख चन्दा पाएको थियो। दक्षिण दिल्लीको दक्षिणपुरीमा एक साताअघि केजरीवाललाई मुक्का र झापड हानेको दिन पार्टीले अनलाइन नै १.३५ करोड रुपैयाँ चन्दा पायो।
यस्तै मार्च २५ मा बनारसको चुनावी सभामा केजरीवालमाथि अन्डा र मसी हानेको दिन आपले ४८ लाख रुपैयाँ चन्दा पाएको थियो। आप नेताले समेत केजरीवालमाथि मंगलबार भएको आक्रमणपछि पार्टीको वेबसाइटमा ट्राफिक अत्यधिक बढेको बताएका छन्। अहमदाबादमा केजरीवालमाथि आक्रमण भएको दिन भने पार्टीले जम्मा १३ लाख रुपैयाँ मात्र चन्दा पाएको थियो।
पार्टीले थोरै चन्दा पाएका कारण नेताहरू चिन्तित भएको सञ्चारमाध्यमले जनाएका छन्। दिल्ली विधानसभा चुनावताका भने २० करोड रुपैयाँ चन्दा पाएपछि पार्टीले नै चन्दा नदिन सर्वसाधारणसँग आग्रह गरेको थियो।

प्रकाशित: २७ चैत्र २०७० २२:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App