विस्फोट हुँदा घटनास्थल रक्तमुछेल हुनुका साथै कतिपय मृतकको शरीरका क्षतविक्षत अंग छरपस्ट भएका थिए।
प्रहरीका अनुसार अम्बाको एउटा बक्समा बम राखिएको थियो। विस्फोटपछि प्रहरीले लापरवाहीपूर्वक फलफूलका बाँकी बक्समा मेटल डिटेक्टरले जाँच गरेको थियो। फलफूल पसले गोहर खानले आफूले १५ वटाजति शव देखेको बताए। पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सका उपकुलपति डा जावेद अक्रम काजीले अस्पतालमा १८ शव आएको बताए। उनले आफूलाई प्रहरीबाट अझ पाँच शव आउने जानकारी दिइएको पनि बताए।
स्थानीय समयअनुसार बिहान करिब ८:३० बजे बम विस्फोट भएको फलफूल बजार पिर बघाई राजधानी इस्लामाबादसँगै जोडिएको अर्को सहर रावलपिन्डीमा पर्छ। पाकिस्तानी सेनाको प्रधान कार्यालय रावलपिन्डीमा छ। तर बुधबारको विस्फोट भने सेनाको प्रधान कार्यालयबाट निकै पर भएको थियो।
विस्फोटको जिम्मेवारी दिउसोसम्म कसैले पनि लिएको थिएन। विस्फोटको उद्धेश्य थाहा हुन नसकेको प्रहरीले जनाएको छ। सरकारले तालिबान लडाकुसँग शान्तिवार्ता गरिरहेका बेला लगातारजस्तै विस्फोट र आक्रमण भएका छन्। तालिबानले भने युद्धविराम अवधि शुक्रबारसम्म बढाएको थियो। तर पाकिस्तानमा केही वर्षयता तालिबानमात्र नभएर दर्जनौं लडाकु समूह छन्।
तालिबानले भने शान्तिवार्ताको पूर्वसर्तका रुपमा सयौं संदिग्ध लडाकुको रिहाइ र अफगानिस्तानसँग सीमा जोडिएको आदिवासी क्षेत्रबाट सेना फिर्ता हुनुपर्ने माग राखेको छ। तालिबान पाकिस्तानमा प्रजातान्त्रिक सरकार अपदस्थ गरी कडा इस्लामिक कानुन लागू गर्न चाहन्छ।
गएको मार्च पहिलो साता पनि उक्त बजारछेउ भएका दुई आत्मघाती विस्फोटमा ११ जना मारिनुका साथै २५ जना घाइते भएका थिए। पाक तालिबान लडाकु तहरिक–ए–तालिबानका प्रवक्ताले सरकारसँग वार्ताबारे असन्तोष प्रकट गरेको एक दिनपछि नै विस्फोट भएको छ।
प्रकाशित: २६ चैत्र २०७० २०:५० बुधबार





