इस्लामावाद- पाकिस्तानका पूर्व राष्ट्रपति एवं सैनिक प्रमुख परवेज मुसर्रफविरुद्ध देशद्रोहको मुद्दामा सुनुवाइ सुरु भएको छ। पाकिस्तानको एक विशेष अदालत समक्ष पेश भएको यो सङ्गिन अभियोग प्रमाणित भए कुनै बेलाका शक्तिशाली सेना प्रमुख मुसर्रफलाइ मृत्युदण्डको सजाय हुनसक्छ।
पाकिस्तानमा सैन्य प्रमुखविरुद्ध देशद्रोहको आरोप लगाएको यो पहिलो पटक हो। मुसर्रफविरुद्ध २००७ मा गैरकानुनी रुपमा संविधान निलम्बन गरी संकटकाल लगाएको आरोप लगाइएको छ। मुसर्रफले भने यो आरोपको सधैँ आलोचना गर्दै आएका छन्। उनले आफूविरुद्धको अभियोग राजनीतिक रुपमा प्रेरित रहेको उल्लेख गरे।बाक्लो सुरक्षाबीच अदालत उपस्थित भएका मुसर्रफले उपस्थित जनसमुदायतर्फ हात हल्लाउँदै भने- देशद्रोहको शब्द गलत रुपमा प्रयोग गरिएको छ। राष्ट्रपति तथा सेना प्रमुखका रुपमा मैले पूर्ण रुपमा देशको सेवा गरेको हुँ।' ४५ वर्ष सेनामा रही देशको सेवा गरेको उल्लेख गर्दै उनले दुई युद्ध समेत लडेको स्मरण गरे।मुद्दाको सुनुवाइ गर्दै न्यायाधीश ताहिरा सफदले पाँच अभियोगहरु पढेर सुनाएका थिए। ती सबै आरोप मुसर्रफले अस्वीकार गरे।
सोमबार मुसर्रफका वकिल फरोग नसीमले अदालतमा भने- 'उनकी आमा बिरामी भएका कारण देश बाहिर जाने सुविधा दिनुपर्छ।'
मुसर्र सन् २००१ देखि २००८ सम्म पाकिस्तानको राष्ट्रपति रहेका थिए। उनी पाकिस्तानमा सबैभन्दा लामो समयसम्म शासन गर्नेहरु मध्ये एक हुन्। राष्ट्रपति पद त्याग गर्नासाथ उनी सन् २००८ मा स्वनिर्वासनमा गएका थिए। २०१३ मा स्वेदश पाकिस्तान फर्केपछि अदालतमा उनीविरुद्ध कैयौ मुद्दा दायर भएका छन्।
निर्वासनबाट फर्केपछि पनि उनले राजनीतिमै रहने रुचि देखाएका थिए। चुनावमा सहभागी हुन उनले आफ्नो दल पनि खडा गरेका थिए तर उनको दललाइ चुनाव लड्न अयोग्य ठहराइएको थियो।
प्रकाशित: १७ चैत्र २०७० ०२:४३ सोमबार





