८ माघ २०८२ बिहीबार
image/svg+xml
प्रवास

बेपत्ता यात्रुका परिवार आक्रोशित

बेइजिङ, (एजेन्सी)– बेपत्ता मलेसियाली जहाजका चिनियाँ यात्रुका परिवारले सही जानकारी माग्दै मंगलबार बेइजिङस्थित मलेसियाली दूतावाससामु प्रदर्शन गर्दा प्रहरीसँग झडप भएको छ।मलेसियाले जहाजबारे गलत जानकारी दिएर अन्धकारमा राखेको भन्दै आक्रोशित परिवारले राजधानी बेइजिङस्थित मलेसियाली दूतावाससामु प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको हो। मलेसियाका प्रधानमन्त्री नजिब रजाकले सोमबार जानकारी दिँदै बेपत्ता जहाज हिन्द महासागरको सुदूर दक्षिणी जल क्षेत्रमा दुर्घटनाग्रस्त भएको बताएपछि यात्रुका परिवार आक्रोशित भएका हुन्। प्रधानमन्त्री रजाकले सबै भूउपग्रह र राडारबाट प्राप्त तथ्यांकका आधारमा हिन्द महासागरको सुदूर दक्षिणी जल क्षेत्रमा बेपत्ता जहाजले आफ्नो यात्रा टुंग्याएको संकेत गरेको जानकारी क्वालालम्पुरमा दिएका थिए। 
चीन बेपत्ता जहाजको यात्रा सुदूर जल क्षेत्रमा टुंगिएको वा भूउपग्रहका तस्बिरमा देखिएका वस्तु जहाजका अवशेष नै हुन् भन्ने निश्चित गर्न नसकिएकाले रजाकको भनाइसँग असन्तुष्ट छ। चीनले जहाजबारे मलेसियाली प्रधानमन्त्रीको निकर्यौल आधारित सबै तथ्यांक मागेको छ। 
बेपत्ता जहाजका सम्भावित अवशेष देखिएको क्षेत्रमा खराब मौसमका कारण खोजी कार्य स्थगन गरिएको छ। अस्ट्रेलियाली जल सेनाको नेतृत्वमा पर्थबाट करिब २५ सय किलोमिटर दक्षिण पश्चिम जल क्षेत्रमा सम्भावित अवशेषको खोजी भइरहेको छ। 
बेपत्ता जहाजका १५३ जना यात्रुका परिवारले बेइजिङमा विज्ञप्ति जारि गर्दै मलेरियामाथि खोजीमा ढिलाइ, जानकारी तोडमरोड र सत्यतथ्य लुकाएको आरोप लगाएका छन्। बेपत्ता यात्रुका क्रुद्ध परिवारजनले मलेसियाली राजदूतसँग भेट्ने माग गर्दै दूतावासभित्र पस्ने प्रयास गरेका थिए। सुरक्षाकर्मीले प्रदर्शनकारीलाई रोकेपछि उनीहरूले पानीका बोतल दूतावासमा फ्याँकेका थिए। 
हिन्द महासागरको दक्षिण पश्चिमी जल क्षेत्रमा सम्भावित अवशेषका धेरै वस्तु देखिए पनि ती बेपत्ता जहाजका अवशेष भएको निश्चित भएको छैन। अस्ट्रेलियाको जल सेनाले खराब मौसमका कारण बेपत्ता जहाजको सम्भावित अवशेष खोजी कार्य जोखिमपूर्ण बनेको भन्दै खोजी स्थगन गरेको मंगलबार जनाएको छ। अवशेष खोजीमा चीनले ६ वटा पानी जहाज पठाएको छ।

प्रकाशित: ११ चैत्र २०७० २०:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App