७ माघ २०८२ बुधबार
image/svg+xml
प्रवास

एनआरएन अस्ट्रेलियाले सुरु गर्‍यो हेल्प डेक्स

सिड्नी– अस्ट्रेलियामा बसोबास गर्ने नेपालीलाई तत्काल सेवा पुर्‍याउने उद्देश्यले गैरआवासीय नेपाली संघ अस्ट्रेलियाले हेल्प डेक्स सञ्चालनमा ल्याएको छ।
सिड्नीको कोग्रामा आइतबार भएको एक भेलामा एनआरएन संरक्षक इन्द्रा वन, न्यु साउथ वेल्सका लागि नेपाली महावाणिज्यदूत दिपक खड्का र समुदायका अगुवा नारायण प्रधानले टोल फ्रीमा कुरा गरेर हेल्प डेक्सको उद्घाटन गरे। १३००६१७९२२ र helpdesk@nrn.org.au मा इमेल गरेर अस्ट्रेलियाको कुनै पनि राज्य र सहरमा बसोवास गर्ने नेपालीले हेल्प डेक्समा सम्पर्क राख्न सक्नेछन्। एनआरएन अस्ट्रेलिया अध्यक्ष महेन्द्र ओलीका अनुसार हेल्प डेक्समा आएका जिज्ञासा र अनुरोध सम्बोधन गर्न आन्तरिक रूपमा संयन्त्र तयार गरिएको छ।
हेल्प डेक्समा आएका फोन वा इमेलमाथि कार्यसमितिका तीन जिम्मेवार सदस्यको पहुँच रहने र समस्याको प्रकृति हेरेर तत्काल कारबाही प्रक्रिया अगाडि बढाइने अध्यक्ष ओलीले बताए।
अस्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थी, भर्खरै नेपालबाट अस्ट्रेलिया अएका नवआप्रवासी र वर्षौंदेखि यहाँ बसेका नेपाली परिवारलाई आवश्यक कुनै पनि प्रकारको सेवाको प्रारम्भिक सोधपुछ केन्द्रका रूपमा डेक्स रहने एनआरएन अस्ट्रेलियाका महासचिव भरत पोखरेल जनाए। नेपाली दूतावास, महावाणिज्यदूतको कार्यालय र सामुदायिक संस्थाहरूबीच सहकार्य गर्दै उपयुक्त सेवा र परामर्श उपलब्ध गराउन डेक्स उपयोगी हुने विश्वास कार्यक्रममा सहभागीहरूले व्यक्त गरे।
एनआरएन अस्ट्रेलियाका प्रवक्ता दिनेश पोखरेल संयोजक रहेको कार्यदलले हेल्प डेक्ससम्बन्धी कार्यविधि र निर्देशिका तयार गरिरहेको छ। यो कार्यसमितिमा मेलवर्नबाट सुधीर शाक्य उपसंयोजक, कृष्ण गिरी सचिव, विष्णु हमाल, भरत देवकोटा, अशोक ओली र मेघराज पौडेल सदस्य छन्।

प्रकाशित: ३ चैत्र २०७० ०४:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App