६ माघ २०८२ मंगलबार
image/svg+xml
प्रवास

अदालतमै बम विस्फोट, न्यायाधीशसहित ११ को मृत्यु

इस्लामावाद– पाकिस्तानको राजधानी इस्लामावादको एक अदालतमा सोमबार आत्मघाती बम आक्रमण भएको छ। आक्रमणमा न्यायाधीश नै मारिएका छन्। कम्तीमा ११ जनाको ज्यान गएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
पाकिस्तानमा अदालतमै बम हमला अत्यन्त दुर्लभ घटना हो। कडा सुरक्षा व्यवस्थाका बाबजुद यस्तो घटना हुनुलाई खतरनाक अवस्थाको रूपमा विश्लेषण गरिएको छ।
पाकिस्तान सन् २००७ देखि नै त्यहींका तालिवान आतंकवादीको हिंसाको चपेटामा पर्दै आएको छ। इस्लामावादमा भएको यो हमलामा पाकिस्तानका तालिवानले भने आफ्नो संलग्नता नरहेको बताएका छन्।
‘सोमबार बिहान ९ बजेतिर सो हमला भएको थियो र आत्मघाती आक्रमणका अतिरिक्त अरु पनि केही बन्दुकधारीले गोली चलाएका थिए,' इस्लामावाद प्रहरीका प्रमुख सिकन्दर हायातले भने, ‘सो हमलामा परी एक न्यायाधीशसहित ११ को ज्यान गएको छ। त्यसमा करिब २४ व्यक्ति घाइते छन्।'
पाकिस्तानका तालिवानहरूले दुई दिनअघिमात्र एकतर्फी युद्धविराम घोषणा गरेका थिए। उनीहरूले पाकिस्तान सरकारसँगको वार्ताका लागि युद्धविराम गरेको बताएका थिए। तर युद्धविरामको दुई दिनपछि मात्र यस्तो हमला भएको छ। यसलाई पाकिस्तानी प्रहरीले तालिवानकै काम भनेको छ भने तालिवानहरूले यसमा आफ्नो कुनै हात नरहेको बताएका छन्।

प्रकाशित: १९ फाल्गुन २०७० ०८:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App