शुक्रबार ढिलो घर फर्किएकी बोन्टी छोटुलाई उनका पतिले पहिले कुटपिट गरेको र पछि मट्टीतेल छर्केर आगो लगाइदिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
बोन्टीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो। पत्नीलाई आगो झोसेर आफूलाई समेत सल्काएका पतिको उपचार भइरहेको समाचारमा जनाइएको छ।
बुधबार जोरहटका आदिवासीमाझ पुगेका राहुल गान्धीलाई चुम्बन गरेको निहुँमा ती महिलाको घरमा कचिंगल बढेको थियो। विवाद बढ्दै जाँदा पतिले सुरुमा कुटेको र पछि आगो लगाइदिएको स्थानीयको भनाइ सञ्चारमाध्यमले उद्धृत गरेका छन्।
प्रहरीले भने उनको हत्याको कारणसँग चुम्बन प्रकरण जोड्न चाहेको छैन। आसाम प्रहरीका अनुसार दम्पतीबीच पहिल्यैदेखि मनमुटाव थियो र बुधबार र शुक्रबारका दुई घटनाबीच तादात्म्य छैन।
जोरहट आदिवासी बाहुल्य क्षेत्र हो जहाँ रुढिवादी संस्कार व्याप्त छ। त्यसैले हत्यालाई चुम्बन प्रकरणसँग जोडेर समाचार बनाइएको छ।
प्रहरीले मारिने महिला गान्धीलाई चुम्बन गर्ने नभएर उनको र्यालीमा सहभागी महिलाको हत्या भएको दाबी गरेको छ। ‘यसबारे छानबिन भइरहेको छ,' प्रहरी निरीक्षक अमनजित कौरले भने, ‘हत्या आरोपमा मुद्दा दर्ता भएको छ।' उनका अनुसार पीडित बोन्टी छुटियाको जलेर मृत्यु भएको छ। उनका पति पनि ३५ प्रतिशत जलेका छन्।
प्रकाशित: १७ फाल्गुन २०७० २०:१६ शनिबार





