सरकारले लोपेजमाथि दक्षिणपन्थी शक्तिको आडमा सत्ता उल्टाउने षडयन्त्रअन्तर्गत देशमा हिंसा भड्काउन खोजेको आरोप लगाएको छ। राष्ट्रपति मदुरोले भेनेजुएलमा सरकार अपदस्थ गर्नका लागि हिंसा भड्काउने कार्यमा अमेरिकाको हात रहेको आरोप लगाउँदै आएका छन्। उनले शुक्रबार पत्रकार सम्मेलन गर्दै अमेरिकी राष्ट्रपति बाराक ओबामालाई यसबारे वार्ता गर्न चुनौती दिएका थिए। उनले भनेका थिए, …म अमेरिकासँग वार्तामा बस्न चुनौती दिन्छु। उच्चस्तरीय वार्ता गरिनेछ र सत्यतथ्य छर्लंग पारिनेछ।'
भेनेजुएलामा दुई सातायता सरकारविरोधी प्रदर्शन भइरहेको छ। राष्ट्रपति मदुरोले आफ्नो सरकार अपदस्थ गर्न अमेरिका र सञ्चारमाध्यमको मिलेमतोमा षडयन्त्र भइरहेको आरोप शुक्रबार लगाएका थिए। उनले दक्षिण अमेरिकी राष्ट्रहरूको स्वतन्त्रता अमेरिकाले नस्विकारुन्जेल वार्ता गर्न कठिन भएको पनि उल्लेख गरे।
एक दिनअगाडि भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले अकस्मात अमेरिकासँग वार्ता गर्ने प्रस्ताव राखेपछि पनि बामपन्थी सरकारका विरोधीहरूले शनिबार काराकसमा आमभेलाको तयारी गरिरहेका छन्।
यस मुलुकमा हाल शान्तिपूर्ण सडक प्रदर्शन देखा परेका छन् र केही सातादेखि चलेको यस प्रदर्शनमा हालसम्म नौ व्यक्तिको मृत्यु भएको छ भने १०४ व्यक्ति घाइते भएका छन्। प्रहरीले १३७ व्यक्तिलाई पक्राउ गरेको छ।
भेनेजुयलनमा फेब्रुअरी २ मा पश्चिमी नगर सान क्रिस्टोबलमा विद्यार्थीहरूले बढ्दो अपराधको विरोधमा प्रदर्शन गरेपछि शृङ्खलावद्ध प्रदर्शन आरम्भ भएको हो। यो प्रदर्शन छिटै काराकस तथा मुलुकका अन्य भागमा फैलिएको छ। गत दुई सातामा यस्ता प्रदर्शन अझै बढेको छ।
प्रकाशित: १० फाल्गुन २०७० २२:२६ शनिबार





