नयाँ दिल्ली– भारतको सर्वाेच्च अदालतले पूर्वप्रधानमन्त्री राजीव गान्धीका हत्यारालाई मृत्युदण्डको सजाय बदलेको छ। अदालतले सजाय कम गरी आजन्म काराबास तोकेको सञ्चारमाध्यमहरूले जनाएका छन्।
भारतका प्रधानन्यायाधीश पि सथासिभमले मंगलबार यो फैसला सुनाएका हुन्। पूर्व प्रधानमन्त्री गान्धीका तीन हत्यारालाई तल्लो अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो। त्यसपछि उनीहरूले भारतीय राष्ट्रपतिसमक्ष सजायको मिनाहाका लागि अपिल गरेका थिए।
तर अपिलमा निर्णय आउने निकै ढिला भएपछि उनीहरूका वकिलले मृत्युदण्डको सजायमा मिनाहा गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सोही रिटमा मंगलबार फैसला गर्दै उनीहरूलाई मृत्युदण्ड नभई आजन्म काराबास मात्रको निर्णय सुनाएको हो।
उनीहरूको अपिलप्रति भारतीय सरकारले तीव्र विरोध गर्दै त्यसको सुनुवाइ नहुने बताएको थियो। सन् १९९१ मा भएको राजीव गान्धीको हत्याका लागि सन् १९९८ मा उनीहरूलाई दोषी ठहर्याइएको थियो। उनीहरू त्यतिबेलैदेखि थुनामा छन्। उनीहरूले आत्मघाती बम विस्फोट गराएर गान्धीको हत्या गरेको ठहर अदालतले गरेको थियो।
प्रकाशित: ६ फाल्गुन २०७० ०६:४४ मंगलबार





