२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

ओलीको कटाक्ष: बालेनको घर अगाडिको बाटो मैले बनाइदिएको हुँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूसँग चुनावी प्रतिस्पर्धा गर्न झापा क्षेत्र नं-५ मा आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहमाथि कटाक्ष गरेका छन्।

बुधबार झापामा राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बालेनको पुर्ख्यौली घर महोत्तरी र त्यहाँको विकास निर्माणलाई लिएर व्यंग्य गरेका हुन्।

उनले बालेनको घर अगाडिको विकास समेत आफैले गरिदिएको दाबी गरे।

आगामी निर्वाचनमा आफूविरुद्ध उम्मेदवारी दिएका बालेनप्रति लक्षित गर्दै ओलीले भने, ‘उहाँले यहाँ के गर्नुभयो र भोट हाल्ने ? महोत्तरी-३ मटियारीबाट जनकपुर जाने बाटोमा मैले पुल हालिदिएको छु, बाटो बनाइदिएको छु। उहाँको घर अगाडिको बाटो मैले बनाइदिएको हुँ।’

ओलीले आफूले तराई-मधेसको विकासमा कसैले नसोचेको काम गरेको दाबी गर्दै आफ्नै विकासको जगमा हिँडेर आफूलाई नै गाली गरिएको गुनासो गरे।

काठमाडौं महानगरको मेयरबाट राजीनामा दिई रास्वपा प्रवेश गरेर झापा-५ मा उम्मेदवारी दिएका बालेनको हार निश्चित रहेको ओलीको दाबी छ।

बालेनको विगतको कार्यशैलीको आलोचना गर्दै ओलीले सुकुम्बासी बस्ती भत्काउने र गरिबलाई लखेट्नेले देशको नेतृत्व गर्न नसक्ने बताए।

‘खोला छेउमा बस्ती बनाएर बसेको देख्नै हुँदैन रे ! देख्यो कि सबै भत्काउँछन् रे,’ ओलीले भने, ’कवाडीहरूले पनि गरिखान पाउँदैनन् रे। गरिबले गरिखान नपाउने कस्तो सहर, कस्तो देश बनाउन खोजिएको हो ?’

ओलीले रास्वपा र बालेनप्रति संकेत गर्दै नयाँ भनिएकाहरू नुन नहालेको साग जस्तै अलिनो र अमिलो रहेको टिप्पणी समेत गरे।

प्रकाशित: ७ माघ २०८२ १७:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App