पूर्वी चीनको सान्दोङ प्रान्तस्थित जिनान अदालतमा आइतबार बिहान न्यायाधीशले सत्ताको दुरुपयोग गर्दै दुई करोड युयान घुस लिएर राष्ट्र र जनताको हितमा क्षति पुर्याकएको भन्दै बोकै उपस्थितिमा उनलाई जन्मकैदको सजाय सुनाएको राष्ट्रिय टेलिभिजनमा देखाइएको थियो। आफ्नो बचाउमा बोले प्रस्तुत गरेका सम्पूर्ण दावीहरू खारेज गर्दै अदालतले उनलाई घुसखोरीको अभियोगमा आजीवन कारावास, आर्थिक अनियमितताको अभियोगमा १५ वर्ष र शक्तिको दुरुपयोग गरेको अभियोगमा सात वर्षको जेल सजाय सुनाएको छ।
गत महिना पाँच दिनसम्म चलेको सुनुवाइमा बोले 'परिस्थितिजन्य कारणले आफूलाई फसाइएको' दाबी गरेका थिए। सुनुवाइको क्रममा बो राजनीतिक खिचातानीको सिकार भएको दाबी गर्दै अदालत बाहिर उनका समर्थकले माओको तस्बिर बोकेर प्रदर्शन गरेका थिए। आफूमाथि लगाइएका अभियोगको शसक्तरुपमा खण्डन गरेकाले बोलाई कम सजाय हुने अनुमान गरिएको थियो तर उनी मृत्युदण्डबाट मात्र उम्किन सफल भए। बोले दश दिनभित्र पुनरावेदन गर्न पाउने छन् तर राजनीतिकरुपमा निकै संवेदनशील मुद्दा भएकाले फैसला उल्टिने सम्भावना अत्यान्तै न्यून छ।
प्रतिक्रान्ति निम्त्याउने प्रयास गरेको अभियोगमा १९८० मा माओकी कान्छी श्रीमती च्याङ चीङसहितलाई दिइएको निलम्बित मृत्यु दण्डपछि ठूलो सजाय पाउने चिनियाँ कम्युनिष्ट नेता बो नै भएका छन्। बेइजिङ नगरका पूर्व मेयर चेन सिटोङलाई १९९८ मा भ्रष्टाचारको अभियोगमा १७ वर्ष र २००८ मा सांघाइका पार्टी सचिव चेन लियन्जुलाई शक्ति दुरुपयोग र घुस लिएको आरोपमा १८ वर्ष जेल पठाइएको थियो।
दालियान प्रान्तको मेयरबाट केन्द्रीय राजनीतिमा उदाएका बो चीनको वाणिज्यमन्त्री हुँदै २००७ देखि कम्युनिष्ट पार्टीको २५ सदस्यीय पोलिटब्यूरो सदस्य र तीन करोड जनसंख्या भएको दक्षिण पश्चिम चीनको छोङछिङ नगरमापार्टी प्रमुख भए। माओको सांस्कृतिक क्रान्ति ब्युँताउने प्रयाससहित 'छोङछिङ विकास मोडल' ल्याएर चमत्कारिक र विवादास्पद छबि बनाएका बोलाइ पार्टीको अहिलेको शक्तिशाली सात सदस्यीय स्थाइ समितिमा शसक्त दाबेदार मानिएको थियो।
तर फेब्रुअरी २०१२ मा छोङछिङ नगरका प्रहरी प्रमुख वाङ लीजुनले चेङ्दुस्थित अमेरिकी वाणिज्य दूताबासमा शरण लिएसँगै बोको राजनीतिक पतनको शृङ्खला आरम्भ भएको थियो। सम्पत्तिको पुनर्वितरण र सामाजिक न्याय सहितको बोको विवादास्पद छोङछिङ मोडललाई देङ सियाओपिङको 'सुधार र खुलापन' नीति पछ्याएको मुख्य नेतृत्वले चुनौतीका रुपमा लिएको मानिन्थ्यो। तत्कालीन प्रधानमन्त्री वेन जियावाओले बोको कार्यशैलीले चीनलाई माओकालीन 'सांस्कृतिक क्रान्तिमा फर्काउन खोजेको' चेतावनी मार्च २०१२ मा दिएलगत्तै उनलाई छोङछिङ पार्टी प्रमुखबाट बर्खास्त गरियो।
श्रीमती गु काइलाई बेलायती ब्यापारी नील हेवुडको हत्याकाण्डमा मुछिएपछि अप्रिल २०१२ मा बोलाई २५ सदस्यीय पोलिटब्यूरोबाट हटाइएर बेइजिङमा नजरबन्दमा राखियो। त्यसयताका १५ महिनामा चीनको नेतृत्वमा ठूलो परिवर्तन भएको छ। बो नजरबन्दमा छँदै भएको पार्टीको अठारौं कंग्रेसबाट नयाँ नेता बनेका सी जिनपिङले भ्रष्टाचार नियन्त्रणलाई मुख्य मुद्दा बनाएका छन्। बोले सजाय पाउने कुरामा कुनै शंका थिएन तर चीनको नयाँ नेतृत्वले यसलाई साढे आठ करोड पार्टी सदस्यका लागि भ्रष्टाचारविरुद्ध कडा सन्देश दिने अवसरसमेत बनाएको छ। राष्ट्रपति सीले भ्रष्टाचारविरुद्ध आगामी दिनमा चाल्ने कदमले मात्र यसको राजनीतिक निश्पक्षतामाथि उठेका प्रश्नहरूको जवाफ दिनेछ।
चिनियाँ कम्युनिष्ट पार्टीको इतिहासमा आइतबारको फैसला भ्रष्टाचारविरुद्धको एउटा विशेष कदम हो, जसले आर्थिक उन्नतीसँगै चीनमा मौलाएको शक्ति दुरुपयोगको प्रथालाई विस्थापित गर्ने आश पलाएको छ। राजनीतिकरुपमा संवेदनशील यो मुद्दाको सुनुवाइ खुला रुपमा अयोजना गरी चीनले आफ्नो अदालत कम्युनिष्ट पार्टीको नियन्त्रणबाट स्वतन्त्र हुँदै गएको सन्देश अन्तर्राष्ट्रिय समुदायमा दिन खोजेको छ। भलै चीनका राष्ट्रिय टिभी र ब्लगले सुनुवाई र फैसलाको प्रत्यक्ष प्रसारण गर्न पाए पनि विदेशी पत्रकारलाई अदलातभित्र प्रवेश दिइएन।
६४ वर्षीय बोको बाँकी जीवन उच्च सुरक्षा घेरामा बेइजिङको क्वीनचेन जेलको निजी ट्वाइलेटसहितको २० स्क्वायर मिटरको कोठामा बित्ने्छ, जहाँ 'क्रन्तिकारी हिरो' को उपाधि पाएका उनका बाबु बो यीबो ले 'सांस्कृतिक क्रान्ति' ताका जेल जीवन बिताएका थिए। उक्त जेलमा बसेर रिहा भएका चीनका उच्च अधिकारीहरूले त्यहाँका बन्दीलाई पाँच तारे होटलको जस्तो सुविधा दिइने प्रतिक्रिया दिएका छन्।
निलम्बित मृत्यु दण्डको सजाय भोगिरहेका पूर्व रेलमन्त्री लीउ झिजुन र गत सेप्टेम्बरमा १५ वर्षको जेल सजाय पाएका छोङछिङ नगरका पूर्व प्रहरी प्रमुख वाङलाई पनि यही जेलमा राखिएको छ। नील हेवुडको हत्या अभियोगमा गत अगस्तमा निलम्बित मृत्यु दण्डको सजाय पाएकी बोकी श्रीमती गु काइलाइ भनेहेवेइ प्रान्तको यानचेङ जेलमा राखिएको छ।
बो को पतनले तीस वर्षपछि चीनको कम्युनिष्ट सत्तामा उथलपुथल नै ल्याएको छ। यो भ्रष्टाचार काण्डमा पार्टी स्थायी समितिका पूर्व सदस्य झोउ योङकाङ र अन्य वरिष्ठ अधिकारी समेततानिने सम्भावना बढ्दै गएको छ।
प्रकाशित: ६ आश्विन २०७० ०५:०९ आइतबार





